बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब सन्दर्भ मूल्य होइन, कारोबार मूल्यमा भन्सार लाग्छ : अर्थमन्त्री पौडेल

प्रविधि प्रयोग गरेर चुहावट नियन्त्रणमा कडाइ गरिने
बुधबार, ११ असार २०८२, १५ : ५३
बुधबार, ११ असार २०८२

सारांश

  • उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार मूल्याङ्कनमा सन्दर्भ मूल्य हटाएर कारोबार मूल्यलाई आधार बनाउने बताए। यसले राजस्व छली रोक्न मद्दत गर्नेछ।
  • भन्सार प्रणालीलाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन विधेयक ल्याइएको छ। प्रविधिको प्रयोगमार्फत छली नियन्त्रण गरिनेछ।
  • नयाँ विधेयकले 'क्योटो महासन्धि'का प्रावधान कार्यान्वयन गर्नेछ र स्वदेशी उद्योगको संरक्षण, निकासी प्रवर्द्धन तथा अवैध व्यापार नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अब भन्सार मूल्याङ्कनका लागि ‘सन्दर्भ मूल्य’ को व्यवस्था हटाएर वास्तविक ‘कारोबार मूल्य’ लाई आधार बनाउने बताएका छन् । 

बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा भन्सार विधेयकमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन । 

अर्थमन्त्री पौडेलले कारोबार मूल्यको आधारमा भन्सार शुल्क लिइने बताए । अर्थमन्त्री पौडेलले भने, ‘ हामी अब कारोबार मूल्यमा भन्सार लिन्छौँ। सन्दर्भ मूल्यको व्यवस्थाबाट बाहिर निस्किन्छौँ । कम मूल्यको बीजक बनाएर हुने राजस्व छली (अन्डर इन्भोइसिङ) जस्ता समस्या समाधान गर्न यो नीतिगत परिवर्तन आवश्यक छ।’

अर्थमन्त्री पौडेलले भन्सार प्रणालीलाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन विधेयक ल्याइएको स्पष्ट पारे । उनले प्रविधिको अधिकतम प्रयोगमार्फत भन्सार छली र चुहावट नियन्त्रणमा सरकारले कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री पौडेलले नेपाल ‘क्योटो महासन्धि’को पक्ष राष्ट्र भएकाले त्यसका प्रावधानहरू कार्यान्वयन गर्न पनि नयाँ कानुन अनिवार्य भएको बताए । उनले भने,‘विद्यमान ऐनलाई पटक–पटक संशोधन गर्नुभन्दा एकीकृत र सुदृढ कानुन बनाउनु आवश्यक देखियो। यो विधेयकले भन्सार कानुनलाई संशोधन र एकीकरण दुवै गर्छ।’

सरकारले प्रस्तुत गरेको भन्सार विधेयकले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सरल र सुरक्षित बनाउनुका साथै भन्सार प्रशासनलाई पारदर्शी र उत्तरदायी बनाउने उनको भनाई थियो । उनले नेपालले अनुमोदन गरेको ‘संशोधित क्योटो महासन्धि’ लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र भन्सार प्रक्रियालाई आधुनिकीकरण गर्न नयाँ विधेयक आवश्यक परेको स्पष्ट पारे ।

विधेयकले स्वदेशी उद्योगको संरक्षण, निकासी प्रवर्द्धन, वैध व्यापारको सहजीकरण र अवैध व्यापारको प्रभावकारी नियन्त्रण गर्ने लक्ष्य राखेको मन्त्री पौडेलको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप