आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री कँडेलद्वारा ‘सगरमाथा वृक्षारोपण महाअभियान’को शुभारम्भ

शनिबार, १४ असार २०८२, १३ : ४६
शनिबार, १४ असार २०८२

सारांश

  • कर्णाली प्रदेशको राजधानी सुर्खेतमा 'सगरमाथा वृक्षारोपण महाअभियान' सुरु भएको छ।
  • मुख्यमन्त्री यमलाल कँडेलले अभियानको सुरुवात गर्दै विभिन्न प्रजातिका बिरुवा रोपे।
  • अभियान अन्तर्गत सुर्खेतमा ५१ हजारभन्दा बढी बिरुवा रोपिने लक्ष्य छ, जसले हरियाली बढाउनेछ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबारदेखि ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को शुभारम्भ गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले मुख्यमन्त्री निवास नजिकै निर्माणाधीन सिएम पार्कमा कपुरको बिरुवा रोपेर अभियानको सुरुवात गरे ।

डिभिजन वन कार्यालय, सुर्खेतको आयोजनामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री कँडेलसँगै प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय सरकारका प्रमुखहरू, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

सहभागीहरूले सिएम पार्कमा कपुर, गोल्डमोहर, वीरेन्द्र फुल, कल्की फुल, पारिजात, निम, बेल, स्वामी र धुपी जस्ता धार्मिक तथा सौन्दर्यमूलक प्रजातिका बिरुवाहरू रोपेका थिए ।

यो महाअभियान एक महिनासम्म चल्नेछ । जिल्ला वन अधिकृत वसन्तबाबु श्रेष्ठका अनुसार, साउन १५ गतेसम्म चल्ने यस अभियानमा सुर्खेत जिल्लाभरि कुल ५१ हजार १११ वटा बहुवर्षाीय र सदाबहार बिरुवाहरू रोपिनेछन् ।

श्रेष्ठका अनुसार, अभियान अन्तर्गत दुई वटा मुख्य योजनाहरू छन् । पहिलो प्रदेश राजधानी हरियाली कार्यक्रम रहेको छ । वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउन नगर क्षेत्रका सडक किनारा, डिभाइडर, सार्वजनिक स्थल, मठमन्दिर र विद्यालयहरूमा एक हजार १११ वटा सौन्दर्यमूलक बिरुवा रोपिने उनले बताए ।

यस्तै सामुदायिक वन संरक्षण अभियान रहेको छ । यस अन्तर्गत सामुदायिक वनका खाली क्षेत्रहरूमा काष्ठ, जडीबुटी र डाले घाँस प्रजातिका ५० हजार बिरुवाहरू रोपिनेछन् । रोपिएका बिरुवाहरूको संरक्षणको सुनिश्चितता समेत गरिने उनको भनाइ छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले असार ८ गते राष्ट्रियस्तरमा ‘सगरमाथा वृक्षारोपण महाअभियान’ घोषणा गरेसँगै सुर्खेतमा यसलाई कार्यान्वयन गर्न लागिएको हो । 

यो अभियानले सुर्खेतलाई थप हरियाली र सुन्दर बनाउनुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप