शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एमालेमा कुनै बम बारुद पड्किँदैन, यो सपना नदेखे हुन्छ : अध्यक्ष ओली

शनिबार, १४ असार २०८२, १६ : २५
शनिबार, १४ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ध्वस्त हुन्छ भन्ने सपना नदेख्न चेतावनी दिए।
  • ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा एमाले विरोधीहरूले अफवाह फैलाएको आरोप लगाए।
  • ओलीले मदन भण्डारी महासचिव बन्ने विषयमा आम रूपमा सहमति बनेको बताए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुन्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार मदन जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले मदन भण्डारीको जन्म जयन्तीका अवसरमा एमालेमा के के हुन्छ ? भनेर लेखिएका समाचारहरूप्रति असन्तुष्टि जनाउँदै एमाले विरोधीहरूले एमालेप्रति अफवाह फैलाएको बताए ।  ‘म आउने कार्यक्रम कसरी भाँडिन्छ, विद्या भण्डारी आउने कार्यक्रम कसरी भाँडिन्छ ? के भएका हुन् ? यो मदन भण्डारीको ७४ औँ जन्म जयन्तीलाई उनीहरूले विभिन्न आस गरेका छन्’, ओलीले भने, ‘अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीले बम पड्काउनुहुन्छ । ड्याङ ड्याङ डुङ्ग, यहिँबाट एमाले ध्वस्त हुन थाल्छ । यो सपना देखेर बसेका छन् ।’ उनले एमालेमा कुनै बम बारुद नपड्किने भन्दै नेकपा एमाले एक रहेको र एक रहने बताए । 

कार्यक्रममा मदनको चर्चा गर्दै प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले म आफू बन्छु भनेर नभनेको र उहाँलाई आफूहरूले छलफल र विश्लेषणसहित पार्टीको महासचिव बनाएको बताए । ‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन, हामीले नै बनाएका थियौँ । छलफल विश्लेषण गरेर निष्कर्ष निकालेर हामीले बनाएका थियौँ ।’

ओलीले मदन महासचिव बन्ने विषयमा आम रूपमा पनि सहमति बनेको बताए । ‘कुरामा आम रूपमा भन्ने हो भने सहमतिको वातावरण नै बनेको थियो र उहाँ महासचिव बन्नुभएको थियो,’ ओलीले भने, ‘जबजका तीन दशक आजको छलफलको प्रारम्भ भएको छ । जबजका तीन दशकलाई गणना गर्दा पाँचौँ महाधिवेशनबाट गर्न हुँदैन । त्यतिबेलासम्म त जबजले काम देखाइसकेको थियो, नाम नराखिएको मात्रै हो ।’ 

जबजका साढे ३ दशकभन्दा लामो अवधि भइसकेको प्रधानमन्त्री ओलीको भनाई थियो ।  ‘०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । तीन दशक त जननेता मदन भण्डारीका आवाजका दशक रहे । उहाँ बितिसक्नु भएपछि ०५० साल जेठ ३ गतेदेखिका तीन दशक हुन् । यी तीन दशक अत्यन्तै चुनौतीका दशक रहे’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप