शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

विप्लवले पाएको त्यो ‘दिव्य ज्ञान’, जसले पार्टीलाई आत्मनिर्भर बनायो

सोमबार, १६ असार २०८२, ०६ : ४२
सोमबार, १६ असार २०८२

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चालु आर्थिक वर्षमा दुई लाख किलो अर्थात् दुई सय मेट्रिक टन आलु बिक्री गरेको छ । बिउ छुट्ट्याएर ग्रेडिङ गरेको दुई सय मेट्रिक टन आलु सीजी ग्रुपलाई बिक्री गरेको ‘सी व्यापार केन्द्रका आर्थिक व्यवस्थापन प्रमुख विमर्श आचार्यले जानकारी दिए । आचार्यका अनुसार आलु प्रतिकेजी ४५ रुपैयाँको दरले यस वर्ष व्यापार भएको छ ।

‘सी व्यापार केन्द्रबाट नभएर सहकारी, स्थानीय पार्टी समिति लगायत च्यानलबाट आलु बिक्री भएको छ । आलुबाहेक विभिन्न जिल्लामा उत्पादन भएका मसिनो/मोटो चामल, धान, गहुँ, दाल, फापर, तोरीको दाना, तेल, लसुन, बेसार, सिमी, मह लगायत हर्पिक, फिनेलजस्ता वस्तुहरूको हिसाबकिताब राख्ने गरेका छौँ । यो हिसाबकिताब सी व्यापार केन्द्र खुलेपछिको मात्र हो’, रातोपाटीसँग आचार्यले भने ।

गत वर्ष माघ १४ गते नेकपाले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा आफ्नै लगानीमा ‘सी व्यापार केन्द्र’ खोलेको थियो । देशका ७७ जिल्लामा पार्टीको नाममा रहेको र लिजमा गरी १२० बिघा जग्गामा नेकपाले कृषि उत्पादन गरेको थियो । सी व्यापार केन्द्रबाट मात्रै पाँच महिनाको अवधिमा करिब १६ लाख ५० हजार रुपैयाँको व्यापार भएको छ । व्यापार केन्द्रले ३१ वटा वस्तुको मूल्य सूचीकृत गरेको छ ।

यी बाहेक विद्यार्थी संगठनले काठमाडौँमा खोलेको टाला उद्योग, पार्टीले कपिलवस्तुमा खोलेको सी गार्मेन्ट उद्योग, कालीकोटको रुप्सामा खोलेको कपडा उद्योग, ललितपुरमा रहेको हर्पिक तथा फिनेल उद्योगको कारोबार विवरण आउन बाँकी रहेको जनाइएको छ । नेपालको उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यले अल्लो, सिस्नु, भाङ, उलनबाट बनेको कोट–पाइन्ट उत्पादन नेकपाले गत वर्षबाट सुरु गरेको थियो । यसैगरी पशुपालन व्यवसायबाट उत्पादन भएको प्रतिफलसमेत जोडिएको छैन ।

  • यस्तो छ मूल्यसूचीको विवरण 

Rate C Trade Centre

 देशभर उत्पादनमा भएको लगानी र आम्दानीको विवरण साउन १० गते प्राप्त हुने भएकाले वास्तविक विवरण थाहा नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।

‘सी व्यापार केन्द्रको हिसाबकिताब बेग्लै हुन्छ । पार्टी र जबस/मोर्चाले सञ्चालन गरेका उद्योगबाट उत्पादनबाट भएका वस्तुको आम्दानी, लगानी, मुनाफा लगायत सबैको विवरण साउन १० गतेमात्र प्राप्त हुनेछ’, बुढाथोकीले भने, ‘हाम्रो उत्पादन देशका ७७ वटै जिल्ला, ७५३ वटा पालिकामा भएको छ । लगभग तीन हजार वडामा मात्र उत्पादन छैन होला । यो महिनाको अन्त्यसम्म सबै जिल्लाको विवरण प्राप्त हुनेछ ।’

सी व्यापार केन्द्रमा कपिलवस्तु, कालिकोट, चितवन, रोल्पा, जुम्ला, काठमाडौँ, ललितपुर, हुम्ला, दाङ, नवलपुर, पोखरा, तनहुँ लगायत जिल्लाबाट उत्पादित बस्तु आउने गरेको प्रमुख आचार्यले जानकारी दिए ।

  • कुन जिल्लामा कति भए उत्पादन ?

1

 नेकपाका महासचिव विप्लवले यो वर्ष ५० प्रतिशतले उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । देशभर १२० बिघा जमिनमा उत्पादन भइरहेकोमा बढेर यो वर्ष १४०–१५० बिघा पुग्ने उनले अनुमान गरे ।

‘न्यूनतम पनि ५० प्रतिशतले उत्पादन बढ्छ । पोहोर साल हाम्रो १७ सय क्वीन्टल फलेको हो । यसमा अहिले ५० प्रतिशत वृद्धि भएर २५ सय वरिपरि पुग्ला भन्ने छ किनकि जमिनहरूको मात्रा पनि देशैभरि पोहोर १२० बिघा थियो । अहिले त्यो बढेर मोटामोटी १४०–१५० बिघा पुग्ला भन्ने अनुमान गरिएको छ’, उनले भने ।

विप्लवले उत्पादन बाँडफाँट सामूहिक स्वामित्वअन्तर्गत तीन भागमा वर्गीकरण गरिएको बताए । केन्द्रमा संस्थागत उत्पादनको ६० प्रतिशत आउने, बाँकी ४० प्रतिशत सहकारी संस्था तथा स्थानीय समितिमा जाने उनले जानकारी दिए ।

‘सामूहिक स्वामित्वअन्तर्गत उत्पादनको सबै केन्द्रमा मात्रै आउँदैन । एउटा भाग केन्द्रमा, पार्टीमा आउँछ । एउटा भाग सहकारीहरूमा या उत्पादन केन्द्रहरूमा । एउटा भागचाहिँ उत्पादन गर्ने श्रम शक्ति या हामी उत्पादक आफैँले पाउँछौँ । यसरी तीन खण्डमा जान्छ’, उनले भने, ‘केन्द्रमा सामान्यतया संस्थागत उत्पादनको ६० प्रतिशत आउँछ । ४० प्रतिशत सहकारी संस्था र लोकल कमिटीहरूमा रहन्छ । अनि त्यसबाहेक निजीले जति लगानी गरेको हुन्छ, त्यस अनुसार मुनाफा अथवा उत्पादन पाउँछ ।’

केन्द्रीय समितिको नियमित बैठक स्थगित गरेर विप्लव यतिवेला कपिलवस्तुमा धान रोपाइँमा व्यस्त छन् । विप्लवले जेठ १८–२० गते केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यसबिचमा यातायात व्यवसायी महासङ्घले गरेको अनिश्चितकालीन आन्दोलन लगायतका कारणले देशभरिबाट नेताहरू कपिलवस्तु आउन असुविधा हुने भएकाले बैठक स्थगित गरिएको थियो ।

समाजवादी मोर्चाको बैठक, व्यवस्थाविरुद्ध काठमाडौँमा गरेको राजावादीहरूको प्रदर्शन लगायत विषयमा शीर्ष नेताहरूसँग भेटघाट गरी केही साताअघि विप्लव कपिलवस्तु फर्किएका थिए । नेकपाले असार १० देखि साउन १० गतेसम्म उत्पादनसम्बन्धी अभियान चलाएको छ । यस अभियानमा महासचिव विप्लवदेखि सम्पूर्ण कार्यकर्ता अनिवार्य रूपमा उत्पादनमा जोडिने पार्टीले निर्णय गरेको छ ।

  • कसरी आयो ज्ञान ?

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र सङ्घर्षमा मूल नेतृत्व प्रचण्ड, किरण, बाबुराम, बादल लगायतलाई आदर्श मानेर विप्लव पनि क्रान्तिमा होमिएका थिए । तर शान्ति प्रक्रियामा आएपछि नेतृत्वमा विचलन आएको भन्दै २०६९ साल असारमा किरणसँगै विप्लव पनि अलग भए । किरणबाट पनि क्रान्ति नहुने देखिएपछि उनले २०७३ साल मङ्सिर ८ गते नेकपा–माओवादीबाट अलग भई आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गरेर एकीकृत जनक्रान्तिको अभियान चलाएका थिए ।

२०७५ साल फागुनमा सरकारले दलमाथि प्रतिबन्ध लगाएपछि सिङ्गो पार्टी भूमिगत भयो । तर सोचे अनुसार जनसमर्थन प्राप्त नभएपछि अप्ठ्यारोमा परेको नेकपा २०७७ साल फागुनमा सरकारसँग तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आयो । यी सबैबाट पाठ सिकेर क्रान्ति र उत्पादनलाई सँगै लैजाने नीति अवल्मबन गरेको विप्लवले स्मरण गरे ।

क्रान्ति र उत्पादनलाई अनिवार्य जोड्नुपर्छ भन्ने ज्ञान कसरी आयो र सही साबित भयो भन्ने विषय पनि निकै रोचक रहेको विप्लव बताउँछन् ।

‘हामी साम्यवादीहरूलाई राम्रो जानकारी छ कि ज्ञान व्यवहारबाट आउँछ । त्यो पनि श्रम, सङ्घर्ष र अनुसन्धानका क्रममा आउँछ । क्रान्ति र उत्पादनलाई जोड्ने हाम्रो ज्ञान पनि यसरी नै प्राप्त भएको हो’, उनले भने ।

त्यति वेलाको प्रसङ्ग कोट्याउँदै विप्लवले भने, ‘साँचो कुरा हो कि जनयुद्धलाई विसर्जन गरेपछि हामीले नयाँ तरिकाले क्रान्ति गर्नुपर्छ भनेर एकीकृत जनक्रान्तिको संश्लेषण गर्‍यौँ । जनक्रान्तिका लागि मुख्य पाँच आधार आवश्यक छ भन्यौँ । त्यसमा आर्थिक आधार पनि थियो । क्रान्तिका लागि आर्थिक एक महत्त्वपूर्ण आधार त हो, तर कसरी तयार गर्ने भन्ने विषयमा भने मेसो खुलिसकेको थिएन ।’

बहस गर्दागर्दै दलाल पुँजीवादी सत्तासँग सङ्घर्ष चर्कियो र आफूहरूमाथि प्रतिबन्ध थोपरिएको विप्लवले बताए । ‘हामीले प्रतिरोधको मार्ग अख्तियार गर्‍यौँ, जनक्रान्ति अगाडि बढ्यो । क्रान्तिमा आर्थिक आवश्यकता निकै बढेर गयो,’ उनले भने, ‘कसरी समाधान गर्ने ? हाम्रा छलफल भए । हामीले अध्ययनलाई एकदमै व्यावहारिक र जीवन्त प्रकारले अगाडि बढायौँ ।’

समस्याहरूको अध्ययन गर्दै र काम गर्दै जाँदा क्रान्तिसँग उत्पादनलाई जोड्ने निष्कर्षमा पुगेको उनले स्मरण गरे । ‘पार्टीमा व्यापक छलफल गरेर औपचारिक निष्कर्ष निकाल्यौँ, निष्कर्ष अनुरूप जब जनतासँग मिलेर, आफ्नै जमिन लिएर उत्पादन गर्न थाल्यौँ, जनता खुसी मात्र भएनन्, सहयोगी पनि भए’, विप्लवले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप