शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
करमा छल

बियानी पक्राउ प्रकरणः करोडौं भ्याट छलीको पर्दाफास, ठुलो गिरोह संलग्न

मङ्गलबार, १७ असार २०८२, १७ : ५३
मङ्गलबार, १७ असार २०८२

विराटनगर । राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय विराटनगरले विराटनगर महानगरपालिका-३ का हार्डवेयर व्यवसायी सौरभकुमार बियानी पक्राउ गरेको छ । उनलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) अनुसार सीधै कारागार चलान गरिएको छ । यी दुई निकायले तीन महिनादेखि मूल्य अभिवृद्धि कर (भ्याट) छलीको अनुसन्धान गरिरहेको थियो । 

बियानीमाथि एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ । विराटनगर-३ मा सञ्चालित ‘न्यू सौरभ ट्रेडिङ र बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का सञ्चालक बियानी विराटनगर–१० का स्थायी बासिन्दा हुन् भने विराटनगर-७ हाटखोलामा बस्दै आएका थिए । 

उनले कर छली गरेको अनुसन्धानबाट खुलेपछि विभाग र कार्यालय विराटनगर पक्राउ गर्ने निष्कर्षमा पुगेको हो । सोही निकर्षका आधारमा कार्यालयले सोमबार बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो । राजस्व छली गरेको रकम र हुन आउने बिगो रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि उनलाई विभागकै सहमतिमा थुनामा राख्न कारागार पठाइएको हो । 

यो कारबाही आन्तरिक राजस्व कार्यालय विराटनगरको इतिहासमै पहिलो भएको प्रमुख कर अधिकृत भुपालमान शाक्यले बताए । यसअघि करछलीका घटनामा कारबाही भएको भए पनि सीधै कारागार चलान गरिएको घटना भने थिएन । शाक्यका अनुसार सामान्यतया यस्ता प्रकरणमा धरौटीमा छुट्ने गरे पनि यो प्रकरणको गम्भीरता र ठुलो रकमका कारण मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ)  बमोजिम थुनामा पठाइएको हो । उक्त ऐनले धरौटी नराखेमा वा जेथा जमानी नदिएमा ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने अधिकार दिएको छ । 

कसरी भयो कर छली ?

आन्तरिक राजस्व कार्यालय प्रमुख शाक्यका अनुसार बियानीले वस्तु तथा सेवाको कारोबार नै नगरी नक्कली भ्याट बिल मात्र जारी गरी राजस्व छली गरेका थिए । ‘यो एक योजनाबद्ध र संगठित अपराध हो,’ उनले भने, ‘फेक कारोबार खडा गर्ने, नक्कली बिल काटेर क्रेडिट दाबी गर्ने र कारोबार ठूलो देखाएर बैंकबाट ऋण लिने जस्ता बहुआयामिक अपराध यसमा जोडिएको देखिन्छ ।’

अनुसन्धानका क्रममा तीन आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/०८२ को चैतसम्मको अवधिमा उक्त रकम बराबरको छली गरेको पाइएको हो । बियानीले वस्तु नै बिक्री नगरी जारी गरिएको नक्कली बिजकका मूल्यमा करिब ८६ करोड रुपैयाँको छली भएको छ । यस्तै झुटा तथा नक्कली कर बिजक प्रयोग गरी २२ करोडभन्दा बढीको क्रेडिट दाबी गरिएको छ । यी दुवै छलीको बिगो र त्यसमा लाग्ने शतप्रतिशत् जरिवाना जोडेर कुल १ अर्ब ३१ करोड ४६ लाख ९४ हजार ८६७ रुपैयाँ असुलउपर गर्न माग दाबी गरिएको हो । 

यो प्रकरणमा एउटा व्यक्ति मात्र नभई ठुलै गिरोह संलग्न भएको राजस्वको आशंका छ । ‘यो घटनाले एउटा ठुलो सञ्जालको पर्दाफास गरेको छ,’ प्रमुख शाक्यले भने, ‘अनुसन्धानको दायरा फराकिलो बनाइएको छ र यसमा संलग्न अन्य व्यक्ति तथा फर्महरू पनि चाँडै कानुनको कठघरामा आउनेछन् ।’

यो कारबाहीले विराटनगरलगायत देशैभरि नक्कली भ्याट बिलमार्फत कर छली गरिरहेका व्यवसायीहरू माझ ठुलो हलचल पैदा गरेको छ । विभाग र कार्यालयको यो सक्रियताले राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने र अवैध कारोबार निरुत्साहित हुने अपेक्षा गरिएको छ । 

अनुसन्धानकै क्रममा रहेको कारण थप केही बताउन नसकिने शाक्यले बताए । ‘धेरै भित्री पाटोहरू अहिले बताउन मिल्दैन । यो विषयको थप अनुसन्धान पनि विभागबाटै भइरहेको छ,’ शाक्यले थपे । यस विषयमा छानबिनको अन्तिम प्रतिवेदन आएपछि मात्रै थप बताउन सकिने उनको भनाइ थियो ।

बियानीले कर छली गरेको केही समय अगाडिदेखि नै कार्यालय जानकार थियो । तर, त्यहीवेलादेखि अनुसन्धानको घेरामा परेका उनले पछिल्लो समय भने अचाक्ली गरिरहेका बताइन्छ । बियानीको फर्मसँग जोडिएर कारोबार गर्नेको विषयमा पनि खोजी र अनुसन्धान भइरहेको राजस्व कार्यालयले जनाएको छ ।

‘योसँग जोडेर अरू आउलान् । मिलेमतो त छ । ठुलै लहर छ । उसले कसलाई बिक्री गर्‍यो, कसलाई खरिद गर्‍यो यी पाटोहरू छन् । अनुसन्धानको क्रममा आउँछ,’ शाक्यले भने, ‘योचाहिँ योजनाबद्ध करछली हो । यसमा समूह नै छ ।’

कर छलीका विषयमा अन्य व्यवसायीहरूको पनि अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप