बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘जनताले अनुभूति गर्ने गरी मुलुकको विकास गर्नुपर्छ’

शनिबार, २१ असार २०८२, २१ : २३
शनिबार, २१ असार २०८२

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको समग्र विकासका लागि दलहरूले काम गर्नुपर्ने बताए।
  • उनले राप्रपाको नेतृत्वमा मात्रै जनताले अनुभूति गर्ने विकास सम्भव रहेको दाबी गरे।
  • अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने पार्टीको लक्ष्य रहेको बताए।

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले जनताले अनुभूति गर्ने गरी मुलुकको समग्र पक्षको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उनले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास सम्भव रहेको धारणा राखे ।

जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेन्डालाई कार्यान्वयन गरिने उनले प्रस्ट पारे । उनले पार्टीको सङ्गठन सहरदेखि गाउँसम्म निर्माण गरी जनताको समस्या समाधानतर्फ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

अध्यक्ष लिङ्देनले राप्रपा मुलुकको एक मात्र प्रजातान्त्रिक पार्टी भएकाले गाउँको एउटा ठिटो केन्द्रीय अध्यक्ष बन्न सफल भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने मार्ग पार्टी रहेको बताए ।

पार्टीका महामन्त्री प्रल्हादप्रसाद साहले मध्यावधि निर्वाचन जहिले पनि हुनसक्ने भएको कार्यकर्ताहरूलाई जनताको घरदैलोमा जान आग्रह गरे । पार्टीका प्रदेश अध्यक्ष राम थापा, जिल्ला अध्यक्ष गोपाल कटुवाल र मनोज बस्नेत लगायतले जनतालाई सर्वोपरि मानी कार्य गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले पत्रकार अशोक पौडेलद्वारा लिखित ‘पत्रकारितामा जीवनको तीन दशक भाग–१’ सार्वजनिक गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप