बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

ट्रम्प महोदय ! तिम्रो अमेरिका तिमी नै राख, हामी अफ्रिकामै खुसी छौँ

बुधबार, २५ असार २०८२, ११ : ३६
बुधबार, २५ असार २०८२

सारांश

  • ट्रम्पले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका छन्, जसमा धेरै अफ्रिकी देशहरू छन्।
  • लेखक अमेरिका जान चाहँदैनन् किनभने उनलाई अमेरिकी प्रहरीको निर्मम दमनको डर छ।
  • अफ्रिकामा आत्मनिर्भरता र विकासको लागि लेखकको जोड छ, र पश्चिमा सहायतामा निर्भरता घटाउनुपर्ने कुरा गर्छन्।

गत जुन १६ तारिखमा द न्यूयोर्क टाइम्सले खुलासा गरे अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप ३६ वटा मुलुकबाट अमेरिकामा आउन खोज्नेलाई लक्षित गर्दै यात्रा प्रतिबन्ध लगाउनेबारे सोच्दैछन्, जसमा धेरैजसो अफ्रिकी मुलुक पर्छन् । मेरो देश जिम्बावे पनि यसमा पर्छ ।

त्यसको १२ दिन अघि ट्रम्पले १२ वटा मुलुकबाट अमेरिका आउन रोक लगाउने घोषणा लागु गराएका थिए, जसमा चाड, कंगो गणतन्त्र, इक्विटोरियल गिनी, इरिट्रिया, लिबिया, सोमालिया तथा सुडानजस्ता अफ्रिकी देश पर्छन् ।

बुरुन्डी, क्युवा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान तथा भेनेजुएलाजस्ता मुलुकबाट आउने मानिसलाई आंशिक प्रतिबन्ध लगाइएको छ । यी मुलुकबाट आउने नागरिकलाई अमेरिकामा स्थायी रूपमा रहन वा पर्यटक तथा विद्यार्थी भिसा लिन रोक लगाइएको छ ।

आफ्नो निर्वाचन अभियानताका बाचा गरेजस्तै ट्रम्प अहिले आप्रवासीलाई निसाना बनाएर खानतलासी गरिरहेका छन् । मेरो जीवनमा पहिलो पटक अहिले अमेरिका भ्रमणमा रोक लाग्ने सम्भावना देखिरहेको छु । अमेरिकालाई मेरो परिवारका धेरै सदस्य तथा साथीले आफ्नो घर ठान्छन् ।

ट्रम्प प्रशासनले राजनीतीकरण गर्दै जति नै खलनायकीकरण गरेता पनि अन्य दशौँ लाख कानुनी वा दस्ताबेज तय हुन बाँकी आप्रवासीहरू अन्ना र स्पेन्सर जस्तै मेहनती तथा कानुन मानेर अमेरिकी समाजमा बसेका मानिस हुन् ।

उदाहरणका लागि मेरो काकाको छोरा डा. अन्ना म्हकाले मेडिकल अध्ययन तथा अभ्यास दुवै अमेरिकामा गरेको हो । मेरो सहपाठी स्पेन्सर मतारे गत २ दशकदेखि अमेरिकाको इन्डियानापोलिसमा बस्छन् । उनी अमेरिकी नागरिक नै भइसकेका छन् ।

ट्रम्प प्रशासनले राजनीतीकरण गर्दै जति नै खलनायकीकरण गरेता पनि अन्य दशौँ लाख कानुनी वा दस्ताबेज तय हुन बाँकी आप्रवासीहरू अन्ना र स्पेन्सर जस्तै मेहनती तथा कानुन मानेर अमेरिकी समाजमा बसेका मानिस हुन् । मैले अफ्रिकाबाट उनीहरूको पदचाप पछ्याउँदै अमेरिका जान चाहने धेरै जना देखेको छु । उनीहरू ट्रम्पले खडा गर्दै गरेको अवरोधबारे चनाखो भएर हेरिरहेका छन् ।

तर मचाहिँ त्यो सूचीमा छैन । सन् १९९७ मा केप टाउन विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरेसँगै अमेरिका जाने रहर नै गरिनँ । मलाई त्यहाँ बस्न जानै मन लागेन । मलाई थाहा छ, झट्ट सुन्दा यो कुरा अनौठो लाग्न सक्छ ।

campus-top

म हुर्केको ठाउँमा पश्चिमा समाजलाई आदर्शका रूपमा प्रस्तुत गर्ने गरिएको छ । हाम्रो हुर्काइको क्रममै पश्चिमा र अङ्ग्रेजबारे रोमाञ्चक दृष्टि दिइएको छ । पश्चिमा मुलुक जाने रहर हाम्रो वरपर व्याप्त छ– मेरो समुदायमा मात्रै नभएर पूरै अफ्रिकी महाद्वीपमा ।

अझै कायम रहेको फ्रान्सेली, पोर्चुगाली, स्पेनी तथा बेलायती विरासतले यसमा ठुलो भूमिका खेलेको छ, तर मलाई भने यसले धेरै प्रभाव पार्न सकेन । सन् २०२४ को डिसेम्बर १८ अर्थात् विश्व आप्रवासी दिवसमा अफ्रोब्यारोमिटरले एउटा प्रतिवेदन सार्वजनिक गर्‍यो । २४ वटा अफ्रिकी मुलुकको तथ्याङ्कमा आधारित उक्त प्रतिवेदन अनुसार ४९ प्रतिशत अफ्रिकीहरू युरोप वा उत्तर अमेरिका जान चाहन्छन् । उल्लेख्य सङ्ख्यामा मानिस अफ्रिकाभित्रै स्थानान्तरण हुन चाहन्छन् भन्ने देखाएको थियो ।

मुतोम्बोले आफ्नो जीवनकालमा करिब १ करोड ५० लाख डलर बराबर त किन्शामा अस्पताल बनाउन खर्च गरेका थिए ।

करिब ४९ प्रतिशतले कामको अवसरको खोजलाई आप्रवासनको मुख्य कारणका रूपमा औँल्याएका थिए । २९ प्रतिशतले भने गरिबी र आर्थिक कठिनाइलाई कारण बताएका थिए । धेरै अफ्रिकी आज पनि ‘अमेरिकी सपना’ वा यस्तै स्तरका युरोपेली सपनामा विश्वास गर्छन् ।

म उनीहरूको त्यस्तो आकाङ्क्षामा आपत्ति जनाउँदिनँ । अमेरिकामा धेरै अफ्रिकीले व्यापार, अध्ययन–अध्यापन वा खेलकुदको क्षेत्रमा ठुलो सफलता हासिल गरेका छन् । कंगो गणतन्त्रबाट गएका चर्चित बास्केटबल खेलाडी तथा ‘एनबीए स्टार’ स्वर्गीय डिकेम्बे मुतोम्बो यसको राम्रो उदाहरण हुन् ।

मुतोम्बोले आफ्नो जीवनकालमा करिब १ करोड ५० लाख डलर बराबर त किन्शामा अस्पताल बनाउन खर्च गरेका थिए । सन् १९९७ मा बेलैमा उपचार नपाएर मृत्युवरण गरेकी आफ्नी आमाको सम्झनामा २ करोड ९० लाख डलरको स्वास्थ्य अनुसन्धान संस्था स्थापना गरेका थिए ।

उनको दर्दनाक कथाले अफ्रिकी समाजमा गहिरो रूपमा रहेको सामाजिक–आर्थिक चुनौती देखाउँछ, जसले मानिसहरूलाई आप्रवासनका लागि धकेल्ने गर्छ । यसमा कमजोर स्वास्थ्य प्रणाली, जरा गाडेर बसेको भ्रष्टाचार, बेरोजगारी, गरिबीजस्ता समस्या पर्छन् । यसको ठिक उल्टो अमेरिका भने आकर्षक गन्तव्यजस्तै देखिन्छ ।

सन् २०२२ को जनवरीमा प्रसिद्ध अनुसन्धान संस्था ‘पीउ रिसर्च सेन्टर’ ले प्रकाशन गरेको प्रतिवेदन अनुसार अमेरिकामा गएका अधिकांश अफ्रिकी–श्यामवर्णका आप्रवासी सन् २००० पछि गएको पाइएको थियो, जसमा ४३ प्रतिशत त सन् २०१० देखि सन् २०१९को बिचमा अमेरिका गएको पाइएको थियो ।

अमेरिका जानेहरूमा क्यारेबियाली सबैभन्दा धेरै हुन्छन् । साथै अफ्रिकीहरूको सङ्ख्या पनि पछिल्लो समय बढिरहेको छ । सन् २००० देखि २०१९ सम्म अफ्रिकीहरूको अमेरिका जाने क्रम २४६ प्रतिशतले बढेको छ । ६ लाखबाट बढेर उनीहरूको सङ्ख्या २० लाख पुगेको छ । आज अफ्रिकी मूलका व्यक्तिले अमेरिकामा जन्मेका अश्वेत जनसङ्ख्याको करिब ४२ प्रतिशत ओगट्छन्, जुन सन् २००० मा केवल २३ प्रतिशत थियो ।

जब मैले पहिलो पटक ट्रम्पले प्रस्ताव गरेको भिसा प्रतिबन्धबारे सुनेँ, मलाई असाध्यै घिन लागेर आयो । सन् २०१८को जनवरी ११ मा उनले बकवास देशहरू अर्थात् ‘शिट होल कन्ट्रिज’ भनेर गरेको टिप्पणी सम्झना लायक पनि थिएन । यो उनको अफ्रिकी राष्ट्रहरूलाई लक्षित अर्को नश्लीय अभिव्यक्ति थियो ।

तर, सोच्दै जाँदा मैले ट्रम्पको विभाजनकारी तथा आत्मकेन्द्रित नीतिहरूमा नितान्त फरक कुरा फेला पारेँ । गत जनवरी २० तारिखमा उनले अफ्रिकाको लागि अमेरिकी सहयोग रोकिदिए । अहिले उनी बुर्किना फासोदेखि क्यामरुन हुँदै आइभरी कोष्टसम्मका अफ्रिकीहरूलाई भिसा रोक्दैछन् ।

अन्जानमै ट्रम्प अफ्रिकीलाई आत्मनिर्भरताको बाटोमा धकेल्दैछन् । हाम्रा अधैर्य जनताले प्राप्त गर्न नसकेको लक्षतर्फ बढ्न प्रेरित गर्दैछन् । हामीलाई आफ्नै भूमिमा वास्तविकताको सामना गर्न लगाउँदैछन् । यसरी अफ्रिका विरोधी राजनीति गर्ने उनी एक्लो भने पक्कै होइनन् ।

मलाई अमेरिका घुम्न जानु पनि छैन वा त्यहाँ गएर स्थायीवासी हुने रहर पनि छैन । कथित ‘उन्मुक्तहरूको जमिन’ अमेरिकामा खुट्टा राख्नसमेत मन नलाग्नुको पछाडि मभित्र गढेर बसेको त्रासले काम गरेको छ ।

आप्रवासी विरोधी भाष्य अमेरिकाको राजनीतिमा अझै कठोर बन्दै गएको छ । अफ्रिकीहरूका लागि विद्यार्थी भिसा पाउन पनि मुस्किल हुँदै गएको छ । सन् २०२३ मा सब–सहारा क्षेत्रका मुलुक सबैभन्दा धेरै अमेरिकी भिसा अस्वीकृत भएका मुलुकमा पर्थे । करिब ५७ प्रतिशतको भिसा अस्वीकृत भएको थियो । १९ प्रतिशत अस्वीकृति दर रहेको दक्षिण अफ्रिकालाई छोड्ने हो भने अफ्रिकाको भिसा अस्वीकृति दर अहिले ६१ प्रतिशत पुगेको छ ।

यस्तो घट्दो स्वीकृति दरले मलाई भने असर गर्दैन । मलाई अमेरिका घुम्न जानु पनि छैन वा त्यहाँ गएर स्थायीवासी हुने रहर पनि छैन । कथित ‘उन्मुक्तहरूको जमिन’ अमेरिकामा खुट्टा राख्नसमेत मन नलाग्नुको पछाडि मभित्र गढेर बसेको त्रासले काम गरेको छ ।

त्यो हो अमेरिकी प्रहरीको निर्मम दमनको अर्को सिकार हुनुपर्ने त्रास । सिङ्गो विश्वले सन् २०२०को मे २५ मा अमेरिकाको मिनेपोलिसमा जर्ज फ्लोयडको घाँटी थिचेर भएको हत्या देखेको छ । मलाई राम्रोसँग थाहा छ, त्यहाँ अफ्रिकीहरूलाई सजिलै नश्लवादको सिकार बनाइन्छ । उनीहरूको आप्रवासी कानुनी अवस्था जेसुकै भए पनि हिंसा तथा विभेदको सिकार बनाइन्छ ।

केवल नश्लीय चेतले ग्रस्त प्रहरी बर्बरताले मात्रै पनि मलाई अमेरिका जान रोकेको होइन । एउटा अफ्रिकीले अमेरिकामा कहिल्यै बस्न नचाहनुमा अन्य धेरै कारण छन् । धेरै अमेरिकीहरू अफ्रिकीले भोगेजस्तै गहन समस्याको सामना गरिरहेका छन् । करिब २ करोड ९० लाख अमेरिकी वयस्क सहज स्वास्थ्य सेवाबाट वञ्चित रहेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् ।

किन्हासामा रहेको समस्या जस्तै समस्या अमेरिकाभर छन् । सन् २०२३को अमेरिकी जनगणनाले करिब ३६ दशमलव ८ प्रतिशत अमेरिकीहरू गरिबीमा बाँचिरहेको देखाएको छ । हलिउडका चलचित्रले देखाएको भ्रामक सुन्दर तस्बिरका बाबजुद अमेरिका कुनै स्वर्ग होइन ।

भलै अन्ना र स्पेन्सरले अमेरिकामा सफलता हात पारेका छन्, तर धेरै अफ्रिकीका लागि भने ‘अमेरिकी सपना’ हासिल गर्ने कुनै बाटो छैन । उनीहरूले आफ्नै मुलुकमा वा अफ्रिकाकै अर्को मुलुकमा आफ्नो भविष्य खोज्नुपर्ने हुन्छ । अब ठुलो रूपान्तरणको खाँचो छ । चीनले केवल ४० वर्षमा असाधारण आर्थिक सुधार गर्न सफल भएको छ ।

अफ्रिकाको व्यापक खनिज सम्पदा तथा शिक्षित युवाहरूको बाहुल्यता कारण अब अफ्रिकामा पनि त्यस्तो रूपान्तरण सम्भव छ । मुलुकभित्रै कच्चा पदार्थको प्रशोधनमा जोड दिनाले औद्योगिक वृद्धि, रोजगारी सिर्जना तथा उच्च कुल गार्हस्थ्य उत्पादनलाई बढवा दिन्छ ।

यसका लागि शान्ति र असल शासनको खाँचो छ । हाम्रो लगानीको प्राथमिकता फेरिनु आवश्यक छ । सुरक्षा तथा प्रतिरक्षाको क्षेत्रमा पैसा खन्याउनुको सट्टा हामीले कृत्रिम बौद्धिकता, स्वास्थ्य सेवा तथा वैज्ञानिक अनुसन्धानमा लगानी केन्द्रित गर्नुपर्छ ।

अफ्रिकीको रूपमा हामीले अब वैधानिकता तथा सुझावका लागि पश्चिमाको मुख ताक्न छोड्नुपर्छ । पश्चिमा सहायताको आधारमा आफूलाई चिनाउन छोड्नुपर्छ । जस्तोसुकै अवस्था आओस्, म आफ्नै मातृभूमि अफ्रिकामा बस्छु भन्न सक्नु पर्छ ।

भन्न सक्नु पर्छ– ट्रम्प महोदय, तिम्रो अमेरिका तिमी नै राख, हामी हाम्रो अफ्रिकामै खुसी छौँ ।

(अलजजिराबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ताफी म्हका
ताफी म्हका
लेखकबाट थप