मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

रसुवाका सीडीओ भन्छन्– १२–१३ ठाउँका मुख्य सडक ड्यामेज छन् (अन्तर्वार्ता)

बुधबार, २५ असार २०८२, १६ : १५
बुधबार, २५ असार २०८२

सारांश

  • भोटेकोसी नदीमा आएको बाढीपछि रसुवामा उद्धार कार्य जारी छ।
  • बाढीपहिरोबाट २० जनाको मृत्यु भएको पुष्टि भएको छ, र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।
  • उद्धार कार्यमा सुरक्षाकर्मीले १३६ जनाको उद्धार गरेका छन्, र एकजना सशस्त्र प्रहरी घाइते भएका छन्।

रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीपछि अहिले उद्धारको काम भइरहेको छ । उद्धार अभियानमा केन्द्रित रहेर रातोपाटीले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसँग रातोपाटीले लिएको अन्तरवार्तालाई यहाँ प्रस्तुत गरेका छौँ । 

बाढी–पहिरोबाट भएको क्षतिको विवरणहरू सङ्कलन भयो होला है ?

प्रजिअ - विवरणहरू सङ्कलन भइरहेको तर अब ठ्याक्कै यति नै रकमको क्षति भयो भनेर खुलाएर भन्न सकिने अवस्था छैन । म हिजोदेखि त्यहीँ (घटनास्थल थिएँ, भर्खर डिजास्टर एरियाबाट सदरमुकाम आएको छ । विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको छ ।  

मानवीय क्षतिको अवस्था के छ ?

प्रजिअ - मानवीय क्षति २० जना पत्ता लागेको थियो, त्यसमा पछि थप भएको छैन, त्यति नै हो । अरू जिल्लामा भेटिएको शवबारे तपाईंहरूले उतैबाट डाटा लिनुभएको होला, हाम्रो जिल्लामा एउटा ’बडी पार्ट’ मात्रै भेटिएको हो।

भौतिक क्षतिको अवस्था कस्तो छ ? खासगरी सडक र अन्य संरचनामा ?

प्रजिअ -  स्याफ्रुदेखि रसुवागढी खण्डमा बाटो करिब १२ ठाउँमा १२–१३ सय मिटर जति नै ’मेजर ड्यामेज’ छ । त्यो बाटो जति सक्दो चाँडै चलाउन सकियो, त्यति नै त्यहाँको जीवन सहज हुने अवस्था छ ।  हामीले त्यही अनुसार केन्द्रसँग समन्वय गरिरहेका छौँ । उता पट्टि मितेरी पुल त लगभग ध्वस्त नै छ, केही बाँकी छैन। यता भन्सार यार्डमा करिब २०–२५ वटा गाडीहरू फसिरहेको अवस्था छ।

ती फसेका गाडी र सामान निकाल्ने काम के हुँदैछ ?

प्रजिअ - त्यसलाई निकाल्नका लागि पनि हामीसँग भएको हेभी इक्विपमेन्ट सबै डुबानमा परेको छ। अहिले समन्वय गरेर बाटो खुलाएपछि ती गाडी र सामानहरूलाई निकाल्नुपर्ने छ। गाडीमा भएका सामानहरूलाई गाडी खोलेर निकाल्न हामीले समन्वय गरेका छौँ, मान्छेहरूले आफ्नो सामान निकालेर सुरक्षित ठाउँमा राख्ने काम गरिरहनुभएको छ ।

क्षतिको अनुमानित रकम आकलन गर्ने अवस्था छैन ?

प्रजिअ - अहिले रकममा यति नै भयो भनेर भन्न सकिने अवस्था छैन । प्राविधिकहरूले हेरेपछि मात्र यकिन हुन्छ । बाटोको क्षति नै धेरै ठुलो छ । अर्को महत्त्वपूर्ण कुरा, रसुवागढी हाइड्रोपावरको हेडवर्क्समा समेत ठुलो क्षति छ। १११ मेगावाटको रसुवागढी र यता पट्टि चिलिमे हाइड्रोपावरमा पनि क्षति पुगेको भन्ने कुरा आएको छ । यी सबै कुराको मूल्याङ्कन हुन बाँकी छ।

उद्धारको काम के–के भयो ?

प्रजिअ - हिजो हामीले करिब ३४ वटा फ्लाइटबाट १३६ जना मानिसहरूलाई उद्धार गर्‍यौँ, जसमा अधिकांश विदेशीहरू हुनुहुन्थ्यो। उहाँहरूलाई टिमुरे एरियाबाट काठमाडौँ पठायौँ। आज बिहान पनि तीनवटै सुरक्षा निकायको संयोजनमा त्यहाँ फसेका करिब १५० भन्दा बढी मानिसहरूलाई सुरक्षाकर्मीले बाटो बनाउँदै ’स्कटिङ’ गरेर उद्धार गरेका छौँ।

‘स्कटिङ’ गर्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक हवलदार भीरबाट खसेर घाइते हुनुभएको छ। विशाल थापा भन्ने हुनुहुन्छ  अहिले हेलिकप्टरबाट उद्धार गर्ने प्रक्रियामा छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप