आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
भ्यू टावरमा भ्रष्टाचार

दमक ‘भ्यू टावर’मा सङ्गठित रूपमा भ्रष्टाचार भएको छ : मेयाङ्ग्वो

बिहीबार, २६ असार २०८२, १४ : ३२
बिहीबार, २६ असार २०८२

काठमाडौँ । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् ।

स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् । 

तत्कालीन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रूपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे ।

दमक नगरपालिका वडा नम्बर ३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब ४ बिघा १८ कठ्ठा, ७ धुर जग्गा दमक नगरपालिकाले उपलब्ध गराएको थियो । स्थानीय विकास र पर्यटन प्रवर्द्धनकाे अपेक्षा गरेर सार्वजनिक प्रयोजनको लागि कम्पनीलाई दिइएको थियो ।

तर, अहिले कम्पनीले भ्यू टावर निर्माण गरिएको २ बिघा जग्गा सापटीस्वरुप फिर्ता र २५ कठ्ठा जग्गा बापतको मौद्रिक क्षतिपूर्ति माग गरेर पुनः स्वामित्व दाबी गरेपछि नयाँ विवाद सिर्जना भएको छ । जनप्रतिनिधि नभएको बेला नगरपालिकाले कसरी उक्त कम्पनीलाई सो जग्गा दियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।  

सोही विषयलाई लिएर पत्रकार मेयाङ्ग्वोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् । 

उनले नगरपालिका र कम्पनीबिच सम्झौता नभेटिएको तर कम्पनीले मौद्रिक मूल्य फिर्ता माग गर्नुले गोप्य रुपमा सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभमा प्रयोग भएको देखिएकोले छानबिनको आफूले माग गरेको जानकारी समेत दिए ।

भ्यू टावर निर्माणको विषयलाई पारदर्शी बनाउन आफूले लामो समयदेखि माग गर्दै आएको तर नगरपालिकाले कुनै कागजात देखाउन नसकेको मेयाङ्ग्वोले बताए । उनले कम्पनीले माग दाबी गरेअनुसारको जग्गा र मौद्रिक क्षतिपूर्ति दिन नहुने समेत बताए ।

भ्यू टावर नबन्नुअघि प्रति कठ्ठा अधिकतम ३ लाखसम्म पर्ने सो जग्गा कम्पनीले अहिले ५० लाखको हिसाबले क्षतिपूर्ति माग गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा उक्त भ्यू टावर निर्माणमा भएको र सार्वजनिक सम्पत्ति अपारदर्शी रुपमा व्यक्तिले लाभ लिने खेल भएको दाबी मेयाङ्ग्वोले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप