बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाली चलचित्र

‘फिल्मको उद्देश्य पैसा होइन, भाषा र संस्कृति हो’

शनिबार, २८ असार २०८२

काठमाडौँ । मित्र प्रधान (नर) ‘यो मन त मेरो नेपाली हो’ का निर्देशक हुन् । यो उनको निर्देशकीय डेब्यु फिल्म हो । भुटानमा जन्मिए पनि नेपालको भुटानी शरणार्थी शिविरमा हुर्किएका उनी पछिल्लो समय अमेरिकामा रहँदै आएका छन् ।

कोभिडको समयमा उनी ‘द हिमालयन’ पुस्तक लेखेर चर्चामा थिए । भुटानी शरणार्थीका रूपमा नेपाल हुँदै अमेरिका पुग्दाको व्यक्तिगत यात्रा र भोगाइ पुस्तकमा समेटेका थिए । 

नेपाली भाषा, संस्कृति र पहिचानका लागि मरिमेट्ने उनी यो सन्देश विश्वभरि छरिएर रहेका नेपाली समुदायमाझ पुर्‍याउन चाहन्छन् । त्यसका लागि उनले फिल्म ‘यो मन त मेरो नेपाली हो’ बनाएका हुन् । 

फिल्म नेपालमा आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारीलगायत कलाकारको अभिनय छ । नेपालीभाषी रहेका सबै मुलुकमा फिल्म पुर्‍याउने लक्ष्य राखेका निर्देशक प्रधानसँग फिल्ममा केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानीको केही अंश:

mitra pradhan (2)

  • ‘द हिमालयन’ पुस्तकपछि अर्को लेख्ने योजना थियो । फिल्मतिर कसरी मोडिनुभयो ?

– ‘द हिमालयन’को चर्चापछि धेरैले मलाई अर्को पुस्तक लेख्न सुझाएका थिए । अमेरिका आउने विभिन्न देशका आप्रवासीहरूको जीवन र उनीहरूको संघर्षमाथि अनुसन्धान गरेर पुस्तक लेख्ने तयारीमै थिएँ । त्यसैबिच भाषा, संस्कार र संस्कृतिलाई जोगाउनुपर्छ भन्ने विषयमा फिल्म बनाउने २०१४ देखिकै मेरो सोच थियो । पुस्तकभन्दा पहिले फिल्म बनाउनुपर्छ भनेर यता हात हालेको हुँ । अहिलेको डिजिटल युग हो । पुस्तकभन्दा फिल्मको माध्यमबाट सन्देश छिटो र प्रभावकारी रूपमा दिन सकिन्छ भन्ने लाग्यो । त्यसैले मैले पुस्तकको योजनालाई थाती राखेर ‘यो मन त मेरो नेपाली हो’ बनाउने निर्णय गरेँ ।

  • पुस्तक थाती राखेर फिल्म नै बनाउनुपर्छ भन्ने प्रेरणाचाहिँ केले दियो ?

– मुख्य प्रेरणा मेरो बाल्यकालको अनुभव हो । मैले सात वर्षको उमेरमा भुटानमा ‘सम्झना’ फिल्म हेरेको थिएँ, त्यो आज पनि झलझली याद आउँछ । भेटेर वा भनेर सिकाउनुभन्दा फिल्मको माध्यमबाट दिइने शिक्षा निकै प्रभावकारी र दिगो हुँदो रहेछ । आफ्नो भाषा र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न फिल्म सबैभन्दा उत्तम माध्यम हो भन्ने मैले ठानेँ ।

  • तपाईँको फिल्म ‘यो मन त मेरो नेपाली हो’ रिलिज हुँदैछ । तयारी के–के भयो ?

– फिल्म रिलिज भएर नउत्रिएसम्म काम सकिँदैन । रिलिजअगाडि गर्नुपर्ने प्रचारप्रसारदेखि सबै काम लगभग सकियो । फिल्मको बुधबार प्रिमियर पनि हुँदैछ । जसमा फिल्मकर्मी, रंगपत्रकारदेखि नेतासम्मको सहभागिता रहनेछ ।

mitra pradhan (5)

  • फिल्मको विषयवस्तु के हो ?

– फिल्मको सन्देश भनेको नेपाली भाषा, संस्कार, संस्कृतिलाई जोगाउनुपर्छ भन्ने हो । मलाई पहिलेदेखि नै यो विषयमा चेत छ । विदेशमा बस्नेहरूका लागि यस्ता विषय मुखले, ‘ए नानी यस्तो, ए छोरा यस्तो’ भनेर बुझाउन सकिँदैन । यो कसरी बुझाउन सकिन्छ भनेर खोज्ने क्रममा फिल्म उपयुक्त लाग्यो । फिल्म एकैपटक सबैतिर जान्छ । यसको प्रभावकारिता पनि बढी हुन्छ भन्ने मेरो बुझाइ हो । किनभने सात वर्षको उमेरमा मैले हेरेको ‘सम्झना’ फिल्म अहिले पनि झलझली याद छ । अर्को कुरा, नेपाल नेपाली भाषीहरूको उत्पत्ति भूमि हो । हिजो नेपालबाट बर्मा गए, भुटान गए, इन्डिया गए । त्यहाँ उहाँहरूले आफ्नो संस्कार, संस्कृति र भाषा बचाई राखेको देखिन्छ । अहिले तीबाहेक विभिन्न मुलुकमा नेपाली पुगेका छन्, तर आफ्नो कला, संस्कार र संस्कृति भुल्दै गएको अवस्था छ । हिजोका दिनमा हाम्रा पुर्खाहरूले बचाएर हामीसम्म ल्याएको यो विषयवस्तु हामीले अहिले र आगामी पुस्ताका लागि दिनुपर्छ भन्ने सोचले यो फिल्म बनेको हो ।

  • फिल्म रिलिज हुँदै गर्दा कत्तिको उत्साहित हुनुहुन्छ ?

– एकदमै उत्साहित छु । करिब ४ वर्षदेखिको मिहिनेत रहेको फिल्म रिलिजमा आउँदैछ । फिल्म रिलिजपछि दर्शकले दिने प्रतिक्रियाका लागि आतुर छु ।

  • नेपाली भुटानी शरणार्थीका विषयमा यसअघि पनि फिल्महरू बनेका थिए । तीभन्दा यो फिल्म कुन अर्थमा फरक छ ?

– मैले भुटानीहरूको विषयमा बनेका प्रायः फिल्म हेरेको छु । केही अगाडि रिलिज भएको हरिवंश आचार्य दाइ अभिनीत फिल्म ‘महापुरुष’ भने विभिन्न कारणले हेर्न पाइनँ । यो फिल्म भुटानी नेपालीका लागि मात्र होइन, संसारभर छरिएर रहेका नेपाली भाषीहरूका लागि हो । यसले सम्पूर्ण नेपालीलाई एउटै परिधिभित्र ल्याएको छ । यो फिल्म अन्यभन्दा पृथक् छ ।

  • तपाईँहरू भुटान छाड्नुपरेको कथा पनि छ कि ?

– रिसर्च गर्दा जुन कुरा देखियो, त्यो छ । राजनीतिक रूपमा के भयो, त्यो म जान्दिनँ तर अनुसन्धान गर्दा आधिकारिक व्यक्तिहरूबाट जे भेटियो, त्यो कुरा दर्साइएको छ । सन् १९९० यताका घटनाक्रमलाई लगभग समेटेको छ ।

mitra pradhan (6)

  • अमेरिकाबाट नेपाली फिल्म बनाउँदा कस्ता चुनौतीहरू सामना गर्नुभयो ?

– यो फिल्म निर्माणको यात्रा निकै चुनौतीपूर्ण रह्यो । धेरै दुःख भयो, बहुत गाह्रो भयो । पहिलोपटक निर्देशन गर्दाका आफ्नै चुनौतीहरू थिए, जसका लागि मैले अनलाइन कक्षाहरू लिएर तयारी गरेको थिएँ । अमेरिका र नेपालको दूरीका कारण सञ्चार र समन्वयमा धेरै कठिनाइ भयो । यहाँ ३ घण्टामा हुने कामलाई महिनौँ लाग्ने अवस्था पनि आयो । अहिले रिलिजको दौडधुपबाट थाहा हुँदैछ, नेपालमा फिल्म बनाउनुभन्दा रिलिज गर्न अझ गाह्रो रहेछ । फिल्म मैले पैसा कमाउन बनाएको पनि होइन, सन्देशका लागि बनाएको हो । त्यसका लागि रिलिज अनिवार्य छ । त्यसैले जति दुःख भए पनि हिम्मत हारिनँ ।

  • फिल्मबाट कस्तो व्यावसायिक अपेक्षा राख्नुभएको छ ?

– केही छैन, अपेक्षा गर्थेँ भने म कमर्सियल फिल्म बनाउँथेँ । यो फिल्म मेरोभन्दा पनि हामी नेपालीको हो । यो एउटा पहिचानको कथा हो ।

  • उद्देश्य पैसा कमाउनु होइन भने के त ?

– फिल्मबाट मलाई एक पैसा नहोस्, तर यसले दिन खोजेको सन्देश महत्त्वपूर्ण छ । मेरो मुख्य उद्देश्य भनेको विदेशमा बस्ने नेपाली अभिभावकले आफ्ना छोराछोरीलाई यो फिल्म देखाएर ‘हाम्रो संस्कृति यो हो, हाम्रो भाषा यो हो, यसलाई जोगाउनुपर्छ’ भन्न सक्नुहोस् भन्ने हो । यदि त्यति मात्र भयो भने मेरो उद्देश्य पूरा हुन्छ । यो फिल्म सबैले आफ्ना बालबच्चालाई चाहिँ देखाउनुपर्छ भन्ने मेरो सोच हो ।

  • फिल्ममा चलेका कलाकारसँग काम गर्नुभएको छ । अनुभव कस्तो रह्यो ?

– पहिलो फिल्ममा चलेका कलाकारसँग काम गर्दा निकै सिक्ने मौका मिल्यो । म त डेब्यु निर्देशक । कलाकार खारिएका हुनाले छलफल गर्दै काम गर्न पाएँ । फिल्मको विषय संवेदनशील भएकाले कति परिधिमा बसेर के काम गर्ने, के निकाल्ने भन्ने कुराबारे मैले जानेको सिकाएँ र उहाँहरूबाट सिकेँ ।

mitra pradhan (4)

  • फिल्म निर्देशन बाल्यकालदेखिकै सोच थियो त ?

– बाल्यकालमा शरणार्थी शिविरमा बस्दा फिल्म हेर्नु हाम्रो लागि ठुलो कुरा थियो । हामी साथीहरूसँग मिलेर रासनमा पाएको दाल–चिनी बेचेर जम्मा गरेको २० रुपैयाँले दुइटा फिल्म हेर्न जान्थ्यौँ । ‘सम्झना’, ‘दिदी’ जस्ता फिल्मले मेरो मनमा गहिरो प्रभाव पारेको थियो । शनिबारको दिन स्कुल छुट्टीमा दिनभर हिँडेर फिल्म हेर्न जाँदाको त्यो त्याग र अनुभवले नै मलाई कतै न कतै यो क्षेत्रमा डोर्‍याएको हो ।

फिल्म यात्रालाई अब निरन्तरता दिनुहुन्छ, कि यहीँ टुङ्गिन्छ ?

– अब पहिले केही समय परिवारलाई दिन चाहन्छु, किनभने यो प्रोजेक्टका कारण पछिल्लो ४–५ वर्ष मैले परिवारलाई समय दिन सकेको छैन । त्यसपछि फिल्म यात्रालाई निरन्तरता दिनेछु । म व्यावसायिक फिल्म निर्माण गर्नेछु । त्यसका लागि धेरै अनुसन्धान गर्नेछु । म कुनै पनि काम तब मात्र गर्छु, जब त्यो कामले मेरो मन छुन्छ र भित्रैबाट ‘तैँले गर’ भन्ने आवाज आउँछ । त्यस्तो विषय पनि खोज्नेछु ।

  • अमेरिकामा चाहिँ नेपाली फिल्मको बजार कस्तो पाउनुभएको छ ?

– अमेरिकामा नेपाली चलचित्रको बजार बढिरहेको छ । विशेष गरी भुटानी–नेपाली समुदायले नेपाली कला–संस्कृतिलाई निकै सम्मान गर्ने गरेका छन् । नेपालमा अलिकति स्तरीय र मिहिनेत गरेर फिल्म बनाउने हो भने अन्तर्राष्ट्रिय बजार फराकिलो बन्दै गएको छ । भविष्य राम्रो देख्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया