बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘भानुभक्तको जन्मस्थललाई ऐतिहासिक सांस्कृतिक स्थलको रूपमा विकास गर्न सकेमा सच्चा सम्मान’

आइतबार, २९ असार २०८२, ०५ : ४९
आइतबार, २९ असार २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्तको योगदानबारे चर्चा गर्दै भाषिक एकताको महत्त्वबारे प्रकाश पारे।
  • भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरे।
  • राष्ट्रपति पौडेलले भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थलको रूपमा विकास गर्नुपर्ने धारणा राखे।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबिच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताएका छन् । 

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीको अवसरमा उनलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका हुन्। 

“भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्‍याउन र यसलाई अझ समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वद्र्धनका निम्ति अतुलनीय योगदान पुर्‍याएको पाइन्छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ, “नेपाली कविताका आदिकवि र भाषाका प्रवर्द्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ ।” 

भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

भानुभक्तीय रामायण नेपाली भाषा लिपीको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्‍याउने रचना भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । 

भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक सांस्कृतिक स्थलको रूपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले उल्लेख गरे । उनले भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवम् संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । 

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप