प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पनि गृहमा ७ सहसचिव र १८ उपसचिव जगेडामा
सारांश
- प्रधानमन्त्री कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै गृह मन्त्रालयले उच्च तहका कर्मचारीलाई फेरि जगेडामा राखेको छ।
- मन्त्रालयका अनुसार हाल ७ सहसचिव र १८ उपसचिव जगेडामा छन्, जसमा विभिन्न कारणले तानिएका कर्मचारीहरू समावेश छन्।
- जगेडामा रहेका कर्मचारीहरूलाई आकर्षक जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउन दबाब परेको कुरा स्रोतले जनाएको छ।
काठमाडौँ । उच्च तहका कर्मचारीलाई अतिरिक्त समूह (जगेडा)मा नराख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन गृह मन्त्रालयले फेरि लत्त्याएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिव गोविन्दबहादुर कार्कीले जेठ २१ गते दरबन्दी भन्दा बढी कर्मचारी कुनै निकायमा नराख्न र अतिरिक्त समूहमा कर्मचारी नराख्न निर्देशन दिएका थिए ।
त्यसपछि गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले पटक पटक गरी दरबन्दीभन्दा धेरै रहेका कर्मचारीलाई तानेका थिए भने मन्त्रालयमा रहेको जगेडाको थैली रित्याएका थिए ।
तर, फेरि अहिले जगेडाको थैली भरिन लागेको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार अहिले ७ सहसचिव र १८ उपसचिव जगेडामा छन् ।
कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांकअनुसार सहसचिवहरू लालबाबु कवारी, वेद प्रसाद खरेल, कल्पना श्रेष्ठ, नर बहादुर थापा, बुद्ध बहादुर गुरुङ, लिला शर्मा र तीर्थराज भट्टराई जगेडामा छन् ।
सहसचिव भट्टराई भिजिट भिसामा सेटिङ गरेको आरोप लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतबाट जेठ ६ गते तानिएका हुन् । कवारीलाई जिल्लावासी भएको र एकपक्षका मात्रै कुरा सुनेको स्थानीयले गृहमन्त्री लेखक र गृहसचिव दुवाडीलाई ‘कम्प्लेन’ गरेपछि वैशाख २१ गते महोत्तरीको प्रमुख जिल्ला अधिकारीबाट तानिएको थियो ।
खरेललाई पनि अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीबाट तानिएको थियो ।
त्यस्तै १८ उपसचिव पनि गृह मन्त्रालयको जगेडामा छन् । कर्मचारी प्रशासन शाखाका अनुसार उपसचिवहरू खेमराज ओझा, दिनेश प्रसाद थानी, फणीन्द्र दाहाल, जितेन्द्र कुमार यादव, माधवप्रसाद ढुंगाना, सिता परियार, विजया कुमारी प्रसाई, सूर्यप्रसाद उपाध्याय र तारानाथ पनेरु मन्त्रालयको जगेडामा छन् ।
त्यस्तै नवराज जैसी, रमा आचार्य सुवेदी, सत्यराज जोशी, नरेश कुमार यादव, पर्शुराम पोखरेल, शेखर पौडेल, अच्युत श्रेष्ठ, दीर्घराज उपाध्याय र मोहनराज जोशी पनि जगेडामा रहेको शाखाको रेकर्डमा उल्लेख छ ।
जगेडामा रहेकाहरूमध्य जैशी, उपाध्याय र जोशीलाई सहसचिवको दरबन्दीमा उपसचिवले प्रमुख जिल्ला अधिकारी भएर काम गरेपछि चर्को ‘कम्प्लेन’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन अनुसार कर्मचारीहरू खटाउने भन्ने पत्रपछि गृहमन्त्री लेखकले तानेका हुन् । उनीहरूलाई तानेको स्थानमा अहिले भने सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
उपसचिव परियार मन्त्रालय वा विभागमा सरुवा गर्न लाग्दा प्रमुख जिल्ला अधिकारी नभई जान्न भनेपछि रोकिएको मन्त्रालय स्रोत बताउँछ ।
उनी नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियारकी श्रीमती हुन् । गृहमन्त्री लेखक पनि कांग्रेसकै नेता भएकाले मन्त्रालयमा परियारलाई आकर्षक जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाउन दबाब परिरहेको कर्मचारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण