बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मौद्रिक नीति वित्तीय सहजीकरण उन्मुख र सकारात्मक : नेपाल चेम्बर

आइतबार, २९ असार २०८२, १७ : ५९
आइतबार, २९ असार २०८२

सारांश

  • नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई सकारात्मक भनेको छ, जसले वित्तीय क्षेत्र चलायमान बनाउने विश्वास लिएको छ।
  • चेम्बरले ब्याजदर घटाउने, घरजग्गा कर्जा बढाउने र साना कर्जालाई प्रोत्साहन गर्ने व्यवस्थालाई स्वागत गरेको छ।
  • चेम्बरले चेक अनादरसम्बन्धी कानुनी व्यवस्थामा सहजीकरण र विदेश भ्रमणमा सटही सुविधा बढाउने कुराको स्वागत गरेको छ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुनर्उत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । 

आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न सकिए हालको अधिक तरलता समस्या समाधान हुन सक्ने चेम्बरले ठहर गरेको छ । 

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाई ६ र नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । यसले बजारमा तरलता व्यवस्थापन र ब्याजदर बढ्न नदिने विश्वास छ ।’

निजी आवासीय घर निर्माण÷खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ कायम गरिने मौद्रिक नीतिमा उल्लेखित व्यवस्थालाई चेम्बरले स्वागत गरेको छ । 

कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्थाले घरजग्गा क्षेत्रको व्यवसायमा विस्तार हुने र यसले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुर्‍याउने चेम्बरको ठहर छ । 

हाउजिङ तथा रियलस्टेट व्यवसायमा प्रवाह गरिएको कर्जाको पुनर्तालिकीकरण एवं पुनर्संरचना गरिने मौद्रिक नीतिमा उल्लेखित व्यवस्थालाई चेम्बरले स्वागत गरेको छ । 

निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनः स्थापनाको लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरू सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्ग दर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा आवश्यकताअनुसार परिमार्जन गरिने व्यवस्था सकारात्मक रहेको चेम्बरले ठहर गरेको छ । 

विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकताअनुसार पुनरावलोकन गरिने व्यवस्थामा थप स्पष्ट पारिनुपर्ने चेम्बरले जनाएको छ । 

१० लाख रुपैयाँसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई चेम्बरले स्वागत गरेको छ । ३ करोड रुपैयाँसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था पनि सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।

मौद्रिक नीतिमा उल्लेखित सो व्यवस्थाले साना कृषि कर्जालाई प्रोत्साहन गर्न तथा सस्तो ब्याजदरको कर्जा प्रवाह हुने चेम्बरको ठहर छ । ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन भए जलविद्युत् क्षेत्रका ऋणीले राहत पाउने चेम्बरले उल्लेख गरेको छ ।

 बैङ्क तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड बनाइने  व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । 

चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिने व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । चेक बाउन्स भएकै कारण कालोसूचीमा पर्ने अहिलेको व्यवस्थामा सहजीकरण गर्न खोजिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई हाल प्रतिपटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३ हजार पुर्याइएकोमा चेम्बरले स्वागत गरेको छ । 

यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ देखि ५ लाख रुपैयाँ सम्म विना धितो कर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक भएको भन्दै चेम्बरले यसको व्यवहारिक कार्यान्वयन प्रभावकारी बनाउन सुझाव दिएको छ । 

चालु पुँजी कर्जा निर्देशिकालाई पुनरावलोकनको सट्टा वर्तमान वित्तीय अवस्थालाई मध्यनजर खारेज गर्नुपर्ने चेम्बरले उल्लेख गरेको छ । चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने चेम्बरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप