घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो
सारांश
- घोडाघोडी तालमा यस वर्ष हरिहाँसको सङ्ख्या घटेर १२६ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो।
- नेपाल पक्षी संरक्षण सङ्घले असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो, जसमा चराको अवस्थाबारे जानकारी दिइएको छ।
- प्राकृतिक बासस्थानको विनाश, मानवीय गतिविधि र कृषिमा विषादी प्रयोगजस्ता कारणले हरिहाँसको सङ्ख्या घट्दै गएको बताइएको छ।
कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ । यसपटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको सङ्ख्या घटेको डगौराले बताए । अघिल्लो वर्ष हरिहाँसको सङ्ख्या २२५ रहेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) ले यही असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो । घोडाघोडीको सूचक प्रजाति रहेको हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
यो तालमा गर्मी र जाडो गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिएको हो । डगौराले यो बेला हरिहाँसको ‘ब्रिडिङ सिजन’ रहेकाले जाडोयामको भन्दा कम देखिने गरेको बताए । गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन् ।
‘कैलालीको भजनी नगरपालिका–९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ । जसका कारण गर्मीयाममा हरिहाँसको सङ्ख्या घट्ने गरेको छ,’ फिल्ड अधिकृत डगौराले भने । उनका अनुसार जाडोयाममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गर्दछन् । प्राकृतिक बासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको छ ।
घोडाघोडी ताल तराईकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यति बेला हरिहाँसको सङ्ख्या एक हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो ।
तर, पछिल्लो समय यहाँ चराहरुको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिए । सन् २००९ देखि घोडाघोडी तालमा चरा संरक्षण नेटवर्कले हरेक वर्ष चरा गणना गर्ने गर्छ ।
घोडाघोडीमा चराको बासस्थान मासिँदै गएपछि सङ्ख्यामा कमी आउन थालेको उनले बताए । घोडाघोडीको सूचक प्रजाति हरिहाँस रहेको बताउँदै अध्यक्ष चौधरीले भने, ‘पानीमा रमाउने हरिहाँसले सुकेका रूखमा गुँड लगाउने हुँदा सुकेका रूख नासिँदै गएपछि हरिहाँसको बासस्थानमा समस्या हुने गरेको छ ।’
गर्मीयामको हरिहाँस गणनामा सन् २०२३ मा २१२, २०२४ मा २२५ र यस पटक १२६ पुगेको छ । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण