शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

हर्क साम्पाङ नेतृत्वको धरानसहित २३ स्थानीय तह बजेटमा फ्लप

बिहीबार, ०१ साउन २०८२, ०८ : ३६
बिहीबार, ०१ साउन २०८२

सारांश

  • असार मसान्तभित्र देशभरका २३ स्थानीय तहले बजेट पारित गर्न सकेनन्।
  • मधेस प्रदेशका धेरैजसो र कोशी प्रदेशको धरान उपमहानगरपालिकाले बजेट ल्याउन सकेनन्, जसका कारण विकास निर्माण र प्रशासनिक खर्चमा समस्या आउने देखिन्छ।
  • स्थानीय तहले समयमै बजेट पारित नगर्दा आगामी आर्थिक वर्षका लागि विकास निर्माण र अन्य प्रशासनिक खर्च सञ्चालनमा कानुनी जटिलता आउनेछ।

काठमाडौँ । देशभरका २३ स्थानीय तह असार मसान्तभित्र बजेट पारित गर्न असफल भएका छन् । ११ नगरपालिका र १२ गाउँपालिका गरी २३ स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् । 

आगामी आर्थिक वर्ष २०८१-८२ का लागि असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि विभिन्न कारण देखाउँदै पालिकाहरू बजेट ल्याउन असफल भएका हुन् । 

बजेट ल्याउन नसक्ने ११ नगरपालिकामध्ये  १० वटा मधेस प्रदेशका रहेका छन् भने एउटा कोशी प्रदेशको रहेको छ।

नगरपालिका  महासङ्घले दिएको जानकारी अनुसार  मधेस प्रदेशका कुल ७७ नगरपालिकामध्ये ६७ वटाले मात्र बजेट पेस गरेका छन् । मधेस प्रदेशमा बजेट ल्याउन नसक्ने नगरपालिकाहरूमा सिराहा, धनुषा, सप्तरी, महोत्तरी, रौतहट र बारा जिल्लाका रहेका छन्।

त्यस्तै, कोशी प्रदेशको एकमात्र धरान उपमहानगरपालिकाले पनि समयमै बजेट पेस गर्न सकेन। यहाँ स्वतन्त्र उम्मेदवारको रूपमा हर्क साम्पाङ मेयरमा विजयी भएका थिए । दलीय खिचातानीका कारण धरान उपमहानगर बजेटविहीन बजेको हो । 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै नगरपालिकाहरूले समयमै बजेट पेस गरी शतप्रतिशत सफलता हासिल गरेका छन्।

यी हुन् बजेट पेस गर्न नसक्ने नगरपालिकाहरू

१, धरान उपमहानगरपालिका, सुनसरी

२, सिराहा नगरपालिका, सिराहा

३, नगराइन नगरपालिका, धनुषा

४, कमला नगरपालिका, धनुषा

५, हंसपुर नगरपालिका, धनुषा

६, डाक्नेश्वरी नगरपालिका, सप्तरी

७, राजविराज नगरपालिका, सप्तरी

८, औरही नगरपालिका, महोत्तरी

९, देवाही गोनाही नगरपालिका, रौतहट

१०, फतुवा विजयपुर नगरपालिका, रौतहट

११, निजगढ नगरपालिका, बारा

त्यस्तै देशभरका १२ वटा गाउँपालिकाहरूले पनि बजेट ल्याउन सकेका छैनन्। 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले दिएको जानकारी अनुसार  कुल ४६० गाउँपालिकामध्ये ४४८ वटा अर्थात् ९७ प्रतिशतले मात्र बजेट स्वीकृत गरेका छन् । 

महासङ्घका अनुसार बजेट ल्याउन नसक्नेमा सबैभन्दा बढी मधेस प्रदेशका गाउँपालिकाहरू रहेका छन्। मधेसका कुल ५९ गाउँपालिकामध्ये ८ वटाले समयसीमाभित्र बजेट पारित गर्न असफल भएका छन्, जसकारण त्यहाँ बजेट स्वीकृत हुने दर ८६ प्रतिशतमा सीमित भएको छ।

यसैगरी, बागमती प्रदेशका २ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–एक गाउँपालिकाले पनि बजेट ल्याउन सकेका छैनन्। महासंघको तथ्याङ्कअनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका सबै गाउँपालिकाहरूले भने समयमै बजेट स्वीकृत गरी शतप्रतिशत सफलता हासिल गरेका छन्।

महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेट पारित गर्न नसकेका गाउँसभाहरूलाई तत्काल प्रक्रिया पूरा गरी स्थानीय सरकारको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन र वित्तीय अनुशासन कायम गर्न हार्दिक आव्हान गरिएको छ। 

संवैधानिक प्रावधानअनुसार स्थानीय तहले असार १० गतेभित्र सभामा बजेट पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने हुन्छ। समयमै बजेट पारित नहुँदा आगामी आर्थिक वर्षका लागि विकास निर्माणका काम र अन्य प्रशासनिक खर्चहरू सञ्चालन गर्न कानुनी जटिलता उत्पन्न हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप