भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक विवरण : ६ वर्षकै बढी पुँजीगत खर्च
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आव २०८१/८२ मा सडक, रेल र यातायात व्यवस्थापनमा प्रगति गरेको छ।
- हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ भने देशभरका जिल्ला सदरमुकाममा यातायातको पहुँच पुगेको छ।
- ललितपुरको ग्वार्कोमा देशकै पहिलो फ्लाईओभर निर्माण सम्पन्न भएको छ भने विभिन्न सुरुङ मार्ग र राजमार्ग निर्माणमा प्रगति भएको छ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आव २०८१/८२ मा विगत ६ वर्षकै बढी प्रगति हासिल गरेको छ । मन्त्रालयले मङ्गलवार एक वर्षे विवरण सार्वजनिक गर्दै सडक, रेल र यातायात व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको हो ।
मन्त्री दाहालले यो वर्षको सुरुमा मन्त्रालयको सुरुमा मन्त्रालय कार्यसम्पादन कमजोर भए पनि एक वर्ष पूरा हुँदा राम्रै प्रगति हासिल गरेको बताए । मन्त्रालयको पुँजीगत खर्च ७६.४१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यो एक वर्षभित्र सबैभन्दा ठुलो उपलब्धिका रूपमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यससँगै अब देशका सबै जिल्ला सदरमुकाममा यातायातको पहुँच स्थापित भएको उल्लेख गरेको छ ।
यो अवधिमा १३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा १३२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। त्यसैगरी, १५० वटा पक्की पुल निर्माणको लक्ष्यमा १०५ वटा पुल र १० वटा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ।
मन्त्रालयले रुग्ण आयोजनाहरूको व्यवस्थापनलाई प्राथमिकता दिएको छ। अध्ययनबाट पहिचान भएका ५८६ रुग्ण ठेक्कामध्ये १२० वटा ठेक्का तोडिएको र १५१ वटाको समाधान प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सुरुङ मार्ग र फ्लाई ओभरमा ऐतिहासिक प्रगति
यस अवधिमा ललितपुरको ग्वार्कोमा देशकै पहिलो फ्लाईओभर निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएको छ। यस्तै, सिद्धबाबा सुरुङ मार्गको १,१२६ मिटर मुख्य सुरुङ खन्ने काम सम्पन्न भएको छ भने नागढुङ्गा सुरुङ मार्गको टनेलसँग सम्बन्धित सम्पूर्ण निर्माण कार्य (लाइटिङ, भेन्टिलेसन, पावर सप्लाई) सकिएको छ । यो अवधिमा हेम्जा–नयाँ पुल र दुम्कीवास–बर्दघाट सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन पनि पूरा भएको छ।
यस्तो छ राजमार्गको अवस्था
यो अवधिमा नारायणघाट-बुटवल सडकको ६० किलोमिटर चार लेन र ३३.५ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको जनाएको छ । मुग्लिन–पोखरा सडक अन्तर्गत पूर्वी खण्ड करिब सम्पन्न भएको छ र पश्चिम खण्डमा पनि उल्लेख्य प्रगति जनाएको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले पश्चिम खण्डमा १–२ किलोमिटर मात्रै कच्ची सडक बाँकी रहेको र एकतर्फी रूपमा कालोपत्रे लगभग सकिएको उल्लेख गरे । मध्यपहाडी राजमार्ग अन्तर्गत ५८.४ किमी कालोपत्रे सम्पन्न भएको, हुलाकी राजमार्ग अन्तर्गत ९२.४ किलोमिटर कालोपत्रे सम्पन्न भएको मन्त्रालयको तथ्याङ्क छ ।
यातायात व्यवस्था विभागले सेवा प्रवाहलाई सरल र प्रविधिमैत्री बनाएको छ। एक वर्षमा करिब ९ लाख ८० हजार स्मार्ट कार्ड लाइसेन्स छापेर वितरण गरिएको छ भने करिब १ लाख ५० हजार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।
यसैगरी, सवारी चालक अनुमतिपत्रलाई नागरिक एपमा हेर्न मिल्ने, क्युआर प्रविधिमा आधारित बनाउने र ट्राफिक प्रहरीले डिजिटल चिट (इ–चलान) काट्न सक्ने प्रणाली लागू गरिएको छ। अब प्रदेशस्तरबाटै लाइसेन्स छाप्न सकिने गरी नियमावलीसमेत संशोधन गरिएको छ।
रेल र पानीजहाजमा नीतिगत र भौतिक प्रगति
पूर्व–पश्चिम रेलमार्गको महोत्तरी–बर्दिबास खण्डमा थप ३.६१ किमी ट्रयाक बेड निर्माण भएको छ। पानीजहाज सञ्चालनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस भएको छ। कोशी नदीमा अवरुद्ध जेटबोट सेवा पुनः सञ्चालनमा ल्याइएको र विदेशमा कार्यरत नेपाली नाविकहरूको तथ्याङ्क सङ्कलन गर्न मोबाइल एप बनाउने कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण