बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, ०२ साउन २०८२, १६ : १०
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • नेपाली महिला कबड्डी टोली दोस्रो महिला कबड्डी विश्वकपमा भाग लिन भारत प्रस्थान गर्दैछ।
  • प्रतियोगिता अगस्ट ३ देखि १० सम्म हरियाणाको मोरमाजरामा हुँदैछ, जसमा नेपालसहित विभिन्न देशको सहभागिता रहनेछ।
  • टोलीलाई बिदाई गर्दै पदाधिकारीहरूले खेलाडीको प्रदर्शन र पदक जित्ने आशा व्यक्त गरे।

काठमाडौँ। दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगस्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ ।

खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनीता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् ।

प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय ५ क्लबसँग अभ्यास खेल पनि खेल्ने छ ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन् ।

विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबिच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउँदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

निर्देशक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न बताउँदै पदक जितेर आउन शुभकामना दिए ।

प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउँदै पदक जित्नेमा आशावादी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप