व्यवस्था बदल्न आन्दोलनको विकल्प छैन : अध्यक्ष लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए।
- उनले पार्टी निर्माणमा योगदान नगर्नेहरूलाई किनारा लाग्न आग्रह गरे, र भ्रष्टाचारमा परेका नेताहरूलाई कारबाही गर्नुपर्ने बताए।
- कार्यक्रममा केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ पछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने कुरामा जोड दिइन्।
बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउनेगरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । झापाको धुलाबारीमा आज राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनमा उनले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताए ।
‘पार्टीलाई देशकै ठूलो बनाउनु छ । त्यसका लागि सबैले प्रयास गरौँ । यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ’ उनले भने, ‘भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन् ।’
अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिइन् । उनले सही पार्टी र सही नेतृत्व भए १० वर्षमा देश बन्ने धारणा राखिन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, धर्म, सांस्कृतिक विभाग कोशी प्रदेशका अध्यक्ष ध्रुव शिवाकोटी, झापा अध्यक्ष केशवकुमार ओझालगायतले मन्तव्य राखेका थिए । अधिवेशनले चन्द्र निरौलाको नेतृत्वमा आगामी चारवर्षे कार्यकालका २१ सदस्यीय नगर समिति चयन गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण