हामीलाई कसले बनाउने ज्वाइँ ?
सारांश
- नेपालमा युवापुस्ता विदेशिने क्रम बढ्दो छ, जसले सामाजिक सन्तुलन र पारिवारिक संरचनामा खतरा उत्पन्न गरेको छ।
- विदेशमा श्रम गर्नेहरूलाई प्राथमिकता दिने र स्वदेशमा काम गर्नेहरूलाई कम आँक्ने प्रवृत्ति बढ्दै गएको छ।
- लेखकले स्वदेशमै बसेर काम गर्ने युवाहरूलाई प्रोत्साहन गर्न र विदेश पलायनको वर्तमान अवस्थालाई परिवर्तन गर्न आह्वान गरेका छन्।
नेपालको वर्तमान सामाजिक र आर्थिक यथार्थ हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ- अब हामीलाई ज्वाइँ कसले बनाउने ? किनकि युवाशक्तिको ठूलो हिस्सा विदेशिएको छ । गाउँ र सहरमा युवाहरुको उपस्थिति खुम्चिँदै गएको छ । नेपालमा माध्यमिक तह अर्थात् कक्षा १२ उत्तीर्ण गरेलगत्तै किशोरपुस्ताले एउटा साझा सपना देख्न थाल्छ- वैदेशिक रोजगारी वा वैदेशिक अध्ययनको ।
यो सपनामा उनीहरुकोफ चाहनाले भन्दा बाध्यताले बढी भूमिका खेलेको हुन्छ । विदेश जानु जीवनको एउटा चरण झैं बनिसकेको छ, जसलाई पूरा नगर्दा जीवन नै अधुरो लाग्ने मानसिकता समाजमा विकसित भइसकेको छ । देशमा रहनु, काम गर्नु वा केही सिर्जनशील काममा लाग्नु अब ‘असफलता'को पर्याय जस्तो बनाइएको छ । स्वदेशमै उद्योग, कृषि वा सेवा क्षेत्रको रोजगारीमा लाग्नेहरु ‘काम नपाएको मान्छे’ वा ‘बेरोजगार जस्तै’ भनेर हेपिने स्थिति सिर्जना भएको छ । यहाँसम्म कि सरकारी वा निजी सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरू समेत 'तपाईं त यतै अड्किनुभो !' भन्ने तिक्त टिप्पणीका भागीदार बन्न बाध्य छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै झण्डै ७ लाख ४१ हजारभन्दा बढी नेपालीले विदेशमा रोजगारीका लागि अनुमति लिएका थिए । २०८१/८२ को पहिलो ६ महिनामै करिब ३ लाख ९३ हजार नेपालीले श्रम स्वीकृति लिइसकेका छन् । यसले दैनिक औसतमा २ हजार २०० भन्दा बढी नेपाली विदेशिने गरेको स्पष्ट हुन्छ । यो संख्या केवल अंक मात्र होइन, हजारौं सपनाहरुको पलायन हो । घरका छोराछोरी, दाजुभाइ र भान्जाभान्जीहरु विदेशमा पसिना बगाइरहँदा गाउँघर सुनसान भएका छन् । खेत बाँझिएका छन्, घरढोका थुनिएका छन् । चुलोको आगो निभ्न थालेको छ ।
यो प्रश्न केवल व्यंग्य होइन, एक वास्तविक सामाजिक चिन्ता हो- हामीलाई ज्वाइँ कसले बनाउने ? अर्थात्, जब युवाहरुको पूरै पुस्ता विदेशिन बाध्य छ, तब देशको सामाजिक सन्तुलन, पारिवारिक संरचना र भावी पुस्ताको अस्तित्वमै खतरा उत्पन्न हुन्छ । हामीले अब सोच्नुपर्ने बेला आएको छ । के हामीलाई विदेशिएको छोरालाई मात्र सफल भन्न मिल्छ ? के स्वदेशमा बसेर संघर्ष गर्नेलाई असफलको ट्याग लगाउँदै जाने ?
अब युवाहरूको मूल्यांकन गर्ने मापदण्ड परिश्रम होइन, 'लोकेसन' बन्न थालेको छ । दुबईको मजदुर ठीक, काठमाडौंको उद्यमी होइन । पोल्याण्डको वेटर ठीक, पोखराको प्राविधिक होइन । जापानको नर्सिङ हेल्पर ठीक, झापाको शिक्षक होइन । यो समय यस्तो मोडमा आइपुगेको छ कि बाबुआमाले आफ्नी छोरीका लागि भिसाधारी ज्वाइँ खोजिरहेका छन्, तर त्यही बाबुआमाका छोरा स्वदेशमा परिश्रमी भएर अगाडि बढ्न खोज्दा बिहे गर्नसमेत अप्ठ्यारो भइरहेको छ ।
देशको माटोमा पसिना बगाउनेलाई हौसला दिनुपर्ने हो । किनकि देशमा केही गर्नेहरुको कहिल्यै मूल्यांकन गरिँदैन भने देशमै बस्ने सपना देख्नु मूर्खता बन्नेछ । विदेशी ज्वाइँ खोजेपछि स्वदेशी काखको छोरोलाई फेरि गतिलो ठानेर कसले ज्वाइँ बनाइदिएर बुहारी भित्र्याउने ?
अबको विकल्प उद्यमशीलता, कृषिमा आधुनिकीकरण, स्वदेशी रोजगारी सिर्जना र युवालाई स्वदेशमै सम्भावना देखाउने वातावरण निर्माण गर्नु हो । यदि हामीले आजबाटै आफ्नो सोच, नीति र दृष्टिकोणमा परिवर्तन ल्याएनौं भने भोलिको नेपाल केवल वृद्ध, बालबालिका र विदेशबाट आउने रेमिट्यान्सका भरमा टिकेको देश बन्नेछ । जसमा हामी आफैं ‘ज्वाइँ विदेशी खोज्ने’ तर ‘ स्वदेशी छोरालाई बुहारी नपाउने’ समाजका प्रतिनिधि बन्नेछौं ।
आजको नेपाली समाजमा ज्वाइँ बन्ने योग्यता के हो भनेर सोध्दा जवाफ आउँछ– युरोपको पीआर वा अस्ट्रेलियाको स्टुडेन्ट भिसा । हिजोका दिनमा ज्वाइँ बन्नका लागि चरित्र, शिक्षा, संस्कार र सामाजिक जिम्मेवारी हेर्ने गरिन्थ्यो । आज ती सबै कुरा किताबको पानाभित्र सीमित छन्, किनकि ज्वाइँ छनोटको मापदण्ड अब पासपोर्टमा लागेको विकसित देशको भिसा हो । अचेलका जमानामा जाँडरक्सी, चुरोट, सुर्ती केही खाँदैन, यत्तिको केटाले तपाईंकी छोरी गाई पालेर पनि पाल्न सक्छ भनेर छोरी माग्ने भनाइ अब रहेन । 'अचेलका जमानामा चाडपर्व बेलामौकामा वाइन, बियर त जसले नि खान्छ । फलानो गाडी चढ्छ, युरोपको पीआर छ, यति मूल्यको त गाडी चढ्छ । अरु त कुरै छाड्नु, त्यो जुत्ता त यति हजारको ब्रान्डेड लगाउँछ' भन्नेमा अहिले आइपुग्यो ।
स्वदेशमै बसेर महिनामा १ लाख कमाउने इन्जिनियर होस् या कृषि कर्ममै लागेर इमान्दारीले ५० हजार आम्दानी गर्ने युवा होस्, त्यो समाजको नजरमा 'सम्भावित ज्वाइँ' होइन । आजको सन्दर्भमा 'आदर्श ज्वाइँ' भनेको विदेशको चम्किलो सहरमा फोटो खिचाएर फेसबुकमा पोस्ट गर्ने र फुर्सदमा भिडियो कल गर्ने पात्र हो । अर्थात् विदेशीले विवाह गर्यो भने लव म्यारिज हुन्छ, स्वदेशीले त्यही गर्यो भने फलानाले फलानाकी छोरी फसाएछ, भगाएछ भन्ने हुन्छ । अचेल त स्वदेशी छोरालाई आफ्नै बाबुआमाले भन्न थालिसके- 'छोरा मागेर बिह गर्दिने जमाना गए है, आफैं राम्री ठहराएर ठिक्क पार है ।'
अब युवाहरूको मूल्यांकन गर्ने मापदण्ड परिश्रम होइन, 'लोकेसन' बन्न थालेको छ । दुबईको मजदुर ठीक, काठमाडौंको उद्यमी होइन । पोल्याण्डको वेटर ठीक, पोखराको प्राविधिक होइन । जापानको नर्सिङ हेल्पर ठीक, झापाको शिक्षक होइन ।
यो समय यस्तो मोडमा आइपुगेको छ कि बाबुआमाले आफ्नी छोरीका लागि भिसाधारी ज्वाइँ खोजिरहेका छन्, तर त्यही बाबुआमाका छोरा स्वदेशमा परिश्रमी भएर अगाडि बढ्न खोज्दा बिहे गर्नसमेत अप्ठ्यारो भइरहेको छ । अब प्रश्न उठ्छ– यदि सबैलाई विदेशतिरै छोरी दिनु छ भने छोरा बिहे गर्नलाई पनि विदेश पठाउनुपर्ने हो कि ?
यो केवल व्यंग्य होइन, समाजको कटु यथार्थ हो । गाईपालन गरेर मासिक पाँच लाख आम्दानी गरे पनि त्यो युवक कसैको प्रतिष्ठित ज्वाइँ बन्न सक्दैन । राज्यको सेवामा समर्पित एक इमानदार कर्मचारी हुनाले उसले मुलुकलाई त सेवा गर्न सक्छ, तर कसैको सम्मानित ज्वाइँ बन्न असम्भवप्रायः छ ।
यतिबेला समाजले एक कुरालाई पुनः सोच्न आवश्यक छ- के हामी ज्वाइँ खोजिरहेका छौं कि भविष्यको भाग्य खोजिरहेका छौं ? कुनै मुलुकको भिसा नै अब संस्कार, समर्पण र आत्मसम्मानको साटो हुने हो भने यसले समाजलाई कुन दिशामा लैजाला ? यदि यही सोच रहिरह्यो भने हिजो देश बनाउन विदेशिएका युवाले भोलि आफ्ना सन्तानलाई पनि स्वदेशमा बस्नु भनेको बिहे गर्न अयोग्य हुनु हो भन्ने पाठ सिकाउनेछन् । अब प्रश्न उब्जिएको छ– के हामी देशमै बसेर बाँच्न खोज्नेलाई विवाहको हकबाट वञ्चित गर्दैछौं ? के अब आफ्नै देशमा रहनु 'योग्यता' होइन, कमजोरी हो ? यी यथार्थलाई चिर्दै अब हामीले सोच बदल्नु जरुरी छ । किनभने यदि समाजले व्यक्तिको मूल्य उसको पासपोर्टले तोक्ने भयो भने देशको भविष्य केवल विदेश जाने जहाजको टिकटमै सीमित हुनेछ ।
आजको नेपाली समाजमा भौतिक सम्पत्तिले मान्छेको हैसियत नापिन्छ । अब त प्रतिष्ठा नाप्न काठमाडौंमा घरको संख्या, बुटवलमा खेतको बिघा र बैंक खाताको रकम हेर्न थालिएको छ । मलाई झट्ट लाग्छ- 'एउटा घर, एउटा गाडी र थोरै सुविधा त अहिलेको समयमा सानो रहर जस्तो लाग्न सक्छ । तर अहिले यो विलासिता होइन, समाजले बनाएको नयाँ न्यूनतम आवश्यकता हो ।' तर यो असीमित महत्वाकांक्षाको दौड कहाँ रोकिन्छ ? कहिलेसम्म हामी 'धेरै घर, धेरै पैसा'को मोहमा स्वदेशमै इमानदारीले बाँच्नेलाई हेपिरहन्छौं ?
देश यतिबेला विडम्बनाको गहिरो खाडलमा छ । एकातिर, गाउँघर युवाशून्य हुँदै छन्, अर्कोतिर सहरका वृद्धाश्रमहरू भरिँदैछन् । छोराछोरी ‘भविष्य’को खोजीमा विदेशिए, तर उनीहरूका बाबुआमाले बाँकी जीवन 'भूतकाल' सम्झेर बिताइरहेका छन् । साँच्चै, एकपटक सोचौं त, आजको समय यस्तो आयो कि छोराछोरीले बाबुआमालाई धनमा बेचेको उनीहरूलाई नै पत्तो छैन । 'बुबा, हामी छौं नि । के कति चाहिन्छ भन्नुहोस्, पठाइदिन्छौं' भनेर मोबाइलको स्क्रिनबाट आएको वाक्यहरूले भोक टार्दैन, बुढेसकालको एक्लोपनलाई पूरै छोप्दैन । उनीहरूलाई चाहिएको छ साथ, माया, अँगालो अनि आफ्नै सन्तानको शारीरिक उपस्थिति । तर सन्तान त छ पिक्सेलभित्र सीमित । टचस्क्रिनमा टल्किएको अनुहार । न फोन काट्नासाथ बाँकी केही रहन्छ, न आत्मीयताको कुनै अंश बाँकी ।
आजको मानव सभ्यताले ‘पैसाले सबै हुन्छ’ भन्ने भ्रममा आफूलाई डुबाएको छ । बाबुआमाको सेवा अब भिडियो कलबाट हुन्छ भन्ने झुटो विश्वासमा सन्तानहरू रमाइरहेका छन् । तर त्यो भिडियो कल अन्तिम समयसम्म बाँच्दैन ।
किनकि अब गाउँघरमा, सहरमा छ्यापछ्याप लासले छोराछोरी कुर्दै गरेको देख्न पाइन्छ । एकपटक सोचौं न । आफ्नै बाबुआमाको शव दाहसंस्कार गर्न पनि सन्तान फर्किनुपर्ने अवस्थासम्म आइपुगेको समाज कति क्रूर र हृदयहीन भइसकेको होला ? तर अझै पनि यो समाज ज्वाइँ छनोटको मापदण्डमा परिवर्तन ल्याउन तयार छैन ।
विदेशमा कमाइरहेको होस्, चाहे डलरको तस्वीर पोस्ट गर्दै होस्, त्यही ‘योग्य’ ज्वाइँको खोजी चलिरहेको छ । अनि त छोराले पनि 'स्वदेशमै बसेर सम्मानित ज्वाइँ बन्न त सकिन्न, जाऊँ त म पनि उहीं' भन्दै विदेशी भूमिमा पाइला टेक्न बाध्य हुन्छ ।
के हामीलाई आफ्नै बाबुआमाको सेवा गर्न विकसित मुलुक जानुपर्ने हो ? के हामी आफैं घरमा, गाउँमा हुँदा असफल, अयोग्य र अवाञ्छित हौं ? अनि के स्वदेशमै समर्पित भएर बाँच्ने युवाहरूले कहिल्यै ज्वाइँ बन्न नपाउने ? कुन दिनबाट सुरु होला त 'स्वदेशी ज्वाइँ प्राथमिकता' अभियान ? कसले सुरु गर्ने ? कहिले गर्ने ? कि हामी फेरि अर्को लासलाई पनि विदेशबाट फर्कने छोराछोरी कुर्दै राख्ने ? बाबुआमाले आफ्नै काखमा छोराबुहारी देखेर बुढेसकालको सुख खोज्ने सपना अब कहिले पूरा होला ? देश सिंगो वृद्धाश्रम नबनोस्, घरको आँगन चोक नबनोस्— जहाँ शव छ, तर सन्तान छैन । अब समाजले आँखा खोल्नुपर्छ, सोच बदल्नुपर्छ । किनकि जुन दिन आमाबुवाको आँखाबाट आँसु बग्छ, त्यो दिन विदेशमा डलर गन्ने हातको मूल्य समाजमा शून्य बराबर हुनुपर्छ ।
देशभित्र सामाजिक सोच र जीवनशैलीको दिशाहीनता यति भयावह बन्दै गएको छ कि बाबुआमाको शवले छोराछोरी कुर्नुपर्ने अवस्था छ । तर समाज विदेशी कमाइवाला ज्वाइँ खोज्न फूलमालासहित सधैं तत्पर देखिन्छ । आफ्नो कोखको सन्तानलाई स्वदेशमै राखेर, आफ्नै काखमा छोराबुहारी देखेर, बाँकी जीवन आत्मीयता र ममताका साथ बिताउने सपना पाल्ने बाबुआमाका आँखामा आजभोलि आँसु छ, किनकि उनीहरूलाई थाहा छ, अब त्यो सपना पूरा हुनेवाला छैन । अझ अहिले विदेशी छोरी-ज्वाइँ र छोरा-बुहारीको अर्को धारणा छ- बाबुआमालाई पनि बिस्तारै विदेश नै ल्याउने ।
आजको नेपाली समाजमा भौतिक सम्पत्तिले मान्छेको हैसियत नापिन्छ । अब त प्रतिष्ठा नाप्न काठमाडौंमा घरको संख्या, बुटवलमा खेतको बिघा र बैंक खाताको रकम हेर्न थालिएको छ । मलाई झट्ट लाग्छ- 'एउटा घर, एउटा गाडी र थोरै सुविधा त अहिलेको समयमा सानो रहर जस्तो लाग्न सक्छ । तर अहिले यो विलासिता होइन, समाजले बनाएको नयाँ न्यूनतम आवश्यकता हो ।' तर यो असीमित महत्वाकांक्षाको दौड कहाँ रोकिन्छ ? कहिलेसम्म हामी 'धेरै घर, धेरै पैसा'को मोहमा स्वदेशमै इमानदारीले बाँच्नेलाई हेपिरहन्छौं ?
हामी स्वदेशमै इमानदार श्रम गर्ने युवालाई 'असफल' भन्न छोड्नुपर्छ । हामी वृद्धाश्रम होइन, बुढेसकालमा आत्मीय काख बनाउने संस्कार फर्काउनुपर्छ । हामी डलर होइन, दायित्व हेरेर ज्वाइँ रोज्न थाल्नुपर्छ । त्यही दिनदेखि स्वदेशी ज्वाइँको प्राथमिकताको अभियान सुरु हुनेछ । त्यो दिन जब हामी सन्तानलाई विदेश पठाएर गर्व होइन, स्वदेशमै राखेर सेवा गर्ने संस्कारलाई गर्व ठान्न थाल्छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण