शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

चीनले थाल्यो बेलिब्रिज निर्माण : दसैँअघि आपूर्ति कत्तिको सहज ?

मङ्गलबार, ०६ साउन २०८२, ०७ : ०७
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि चीनसँगको व्यापारिक नाका बन्द भएको छ।
  • दसैँअघि अस्थायी बेलिब्रिज बनाउन चिनियाँ राजदूतावासले काम थालेको छ, तर व्यवसायीहरूले समयमै सामान आउनेमा शंका व्यक्त गरेका छन्।
  • बाढीका कारण व्यवसायीहरूले ५५ करोड क्षतिपूर्ति दाबी गर्ने तयारी गरेका छन्, र दसैँमा आपूर्ति प्रभावित नहुने मन्त्रालयको दाबी छ।

काठमाडौँ । नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि यतिबेला रसुवागढी नाकाबाट हुने आपूर्ति ठप्प छ । दसैँअघि नै यातायात सुचारु गर्ने लक्ष्यसहित अस्थायी बेलिब्रिज निर्माण थालेको चिनियाँ राजदूतावासले जनाएको छ । 

नेपालस्थित चिनियाँ राजदूतावासले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्थायी पुल निर्माण भइरहेको जानकारी गराएको गराएको छ । जसले बेलिब्रिज बन्नेमा आशा जगाएको छ । दसैँअघि यातायात सञ्चालनमा आउने गरी काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

तर व्यवसायी भने भौगोलिक जटिलता र मनसुनका कारण तोकिएको समयमा पुल बनेर सामान आयात गर्न सकिनेमा आशंका व्यक्त गर्छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँ अघि सञ्चालन आउने सम्भावना न्यून रहेको बताए । 

‘यो पुल लामो र असहज  ठाउँमा छ । स्वाट्टै बेलिब्रिज ल्याएर राख्ने अवस्था पनि छैन । त्यसमाथि अहिले बर्खाको समय छ,बेलिब्रिज जडान गर्न पहिला संरचना मिलाउनुपर्ने होला । बाढी आइरहेकाले समस्या छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसकारण दसैँअघि बेलिब्रिज जडान भएपनि आवश्यक वस्तु आयात गर्न पाइने अवस्था एकदम कम छ ।’ 

तातोपानी नाका हुँदै आयात गर्न  बाटो असहज छ । दसैँअघि रसुवागढी नाका सञ्चालन नभए चाडपर्वको व्यापार व्यवसाय प्रभावित हुने उनको भनाइ छ । 

आयात निर्यातको हिस्सा कति ? 

भन्सार विभागका अनुसार चीनबाट आयात हुने वस्तु ठुलो परिमाणमा रसुवागढी भन्सार हुँदै आयात हुने गरेको छ । यस कार्यालयबाट २०८१/८२ मा ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको आयात भएको छ । सोही अवधिमा तातोपानी भन्सार हुँदै ४६  अर्ब ८९ करोड बराबरको वस्तु आयात भएको छ ।  

चीनबाट वस्तु आयातका लागि प्रमुख मानिएको नाका चाडपर्वको मुखैमा बाढीले क्षति गरेपछि अहिले रसुवाबाट आयात ठप्प छ । तातोपानीतर्फ भरलाग्दो सडक पूर्वाधार नभएकाले मागअनुसार वस्तु आयात गर्न सक्ने अवस्था नभएको व्यवसायीको गुनासो छ । 

यस्तै रसुवागढी भन्सारबाट २०८०/८१ मा ६० अर्ब ९१ करोड, २०७९/८० मा ३० अर्ब १४ करोड रुपैयाँको आयात भएको तथ्यांकमा उल्लेख छ । २०७८/७९ मा २६ अर्ब ६२ करोड रुपैयाँ र २०७७/७८ मा १७  अर्ब १ करोड रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ  । 

तातोपानीबाट २०८०/८१ मा ४० अर्ब ३४ करोड, २०७९/८० मा १३ अर्ब २१ करोड रुपैयाँको  आयात भएको तथ्यांकमा उल्लेख छ । २०७८/७९ मा  १४ अर्ब २ करोड रुपैयाँ र २०७७/७८ मा ५ अर्ब ८४ करोड रुपैयाँको वस्तु आयात भएको

निर्यातको अवस्था हेर्ने होभने रसुवाबाट आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९६ करोड  बराबरको वस्तु निर्यात भएको छ भने तातोपानीबाट शून्य छ । 

यसैगरी रसुवाबाट २०८०/८१ मा १ अर्ब ७३ करोड रुपैयाँको निर्यात हुँदा तातोपानीबाट ९३ करोड बराबरको निर्यात भएको छ । २०७९/८० मा १ अर्ब १९ करोड बराबरको वस्तु निर्यात भएको उल्लेख छ । 

चीनबाट वस्तु आयातका लागि प्रमुख मानिएको नाका चाडपर्वको मुखैमा बाढीले क्षति गरेपछि अहिले रसुवाबाट आयात ठप्प छ । तातोपानीतर्फ भरलाग्दो सडक पूर्वाधार नभएकाले मागअनुसार वस्तु आयात गर्न सक्ने अवस्था नभएको व्यवसायीको गुनासो छ । 

तातोपानी हुँदै आयात थालियो

अहिले रसुवागढी नाका ठप्प छ । वस्तु लोड भएर नेपालतर्फ आउँदै गरेका चीनको बोर्डरमा रहेका कन्टेनर तातोपानी नाकाहुँदै ल्याउन थालिएको श्रेष्ठले बताए । 

उनकाअनुसार अहिले चीनको नाका पारीपट्टि भएका कन्टेनर तातोपानीतर्फ लैजान थालिएको छ । उक्त कन्टेनर तातोपानी पुर्‍याउन तीन दिन लाग्छ । तातोपानीदेखि काठमाडौँसम्म ल्याउन करिब १०/१२ घण्टा लाग्छ । रसुवाबाट काठमाडौँ लैजान पनि उत्तिकै समय खर्च हुने गरेको थियो । तर तातोपानीतर्फको बाटो सहज नभएकाले रसुवा नाका हुँदै सामान आयात गरिएको बताउँछन् ।  

‘चाइना बोर्डरमै पारिपट्टि कस्टममा रहेको सामान फर्काएर लान थालिएको छ । त्यहाँबाट लगभग तीन दिनमा फर्केर तातोपानी भन्सार आउन सकिन्छ । गाडीहरू कति फिर्ता गरिसकेको छ,’ उनले भने, ‘त्यहाँ आएको सामानहरू यता नआउने भनेपछि त्यहाँबाट चाइनाले फर्काएर अर्को ड्राइपोर्टमा लगिराखेको छ ।’

क्षति यकिन भएन 

गत असार २४ गते बिहानै आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल क्षतविक्षत बनाएको थियो । चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ठुलो जनधनको क्षति भएको छ । यति नै क्षति भयो भन्ने यकिन तथ्याङ्क अझै निकालिएको छैन । 

डाइपोर्टमा राखेका ईभी, मालवस्तुसहित कन्टेनर बगाउँदा व्यवसायीहरूले ठुलो क्षति भोग्नु परेको छ । अहिलेसम्म बिमितहरूले  २९ करोड बराबरको क्षतिपूर्ति मागदाबी गरेका छन् । अझै ठुलो मागदाबी हुन सक्ने व्यवसायीहरू बताउँछन् । 

व्यवसायीहरूले ५५ करोड दाबी माग्ने 

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठले अझै ठुलो हिस्सा माग दाबी गर्न बाँकी रहेको बताएका छन् । 

श्रेष्ठकाअनुसार बाढीले ईभी, हाइड्रो र फलफूलजन्य वस्तुबाहेक जुत्ताचप्पल, औद्योगिक कच्चापदार्थ लगायत वस्तु भएका १७ वटा कन्टेनर बगाएको छ । १ अर्बभन्दा बढी मूल्य बराबर क्षति भएको उनको भनाइ छ । 

‘मालवस्तुसहित १७ वटा कन्टेनर क्षति पुगेको प्रमाणित भयो । यसमा रेडिमेड, जुत्ता, चप्पल, उद्योगका लागि कच्चापदार्थ थिए । यो १ अर्बभन्दा बढी मूल्य पर्ने वस्तु नस्ट भएको छ,’ उनले भने, ‘यसको ५५ करोड रुपैयाँ दाबी गर्ने तयारीमा छौँ ।’

उनका अनुसार यो अटो, हाइड्रो र फलफूल बाहेकको क्षति रकम दाबी हो । यसबाहेक अन्यको दाबी हुने क्रममा छ । 

करिब ७० वटा विद्युतीय सवारी स्याउलगायत फलफूल बोकेको गाडी ३/४ वटा कन्टेनर बगाएको छ । तर अन्य वस्तु ठ्याक्कै विवरण आउने अवस्था नदेखिएको बताए । 

दसैँमा आपूर्ति प्रभावित नहुने मन्त्रालयको दाबी 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा मितेरी पुल भएको स्थानमा अस्थायी बेलिब्रिज जडान गरी दसैँअघि नै यातायात सञ्चालनमा ल्याइने बताउँछन् । साथै उनले दसैँमा आवश्यक पर्ने सामग्री आपूर्तिमा प्रभाव नपर्ने दाबी गरे । 

दसैँअघि सञ्चालनमा ल्याउने गरी बेलिब्रिज जडानका लागि चीन सरकार सकारात्मक रहेको र काम अघि बढाइसकेको बताए । यस्तै बेलिब्रिज जडानपछि स्थायी पुल निर्माण अघि बढाउने प्रतिबद्धता जनाएको बताए ।

‘चीन सरकारले बेलिब्रिज निर्माणको तयारी थालेको छ । दसैँअघि बेलिब्रिज सञ्चालन हुन्छ  । दसैँका लागि आवश्यक सामग्री आयात गर्न पाइन्छ,’ शर्माले भने, ‘चाडपर्वमा चीनतर्फको वस्तु आपूर्तिमा समस्या हुँदैन ।’

दसैँअघि सञ्चालनमा ल्याउने गरी बेलिब्रिज जडानका लागि चीन सरकार सकारात्मक रहेको र काम अघि बढाइसकेको बताए । यस्तै बेलिब्रिज जडानपछि स्थायी पुल निर्माण अघि बढाउने प्रतिबद्धता जनाएको बताए ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिचको भेटमा बेलीब्रिज जडान गरी दसैँअघि यातायात  सञ्चालन गर्ने सहमति भएको थियो । 

यसैगरी बाढीले क्षतिग्रस्त स्याफ्रुवेँसी–रसुवागढी सडक १३ दिनपछि एकतर्फी सञ्चालनमा ल्याइएको छ ।  करिब ११ सय मिटर क्षतिग्रस्त सडक दोस्रो दिनदेखि  मर्मत सुरु गरिएको थियो भने आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप