देउवाले मानेनन् मन्त्री फेर्न, भने, ‘पछि मिलाउँछु’
सारांश
- नेपाली कांग्रेसले तत्काल सरकारमा रहेका मन्त्रीहरू परिवर्तन नगर्ने निर्णय गरेको छ।
- प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तनको प्रस्ताव राखे पनि देउवाले आफ्नो नेतृत्वमा सरकार बन्ने बेला मात्रै फेर्ने बताए।
- कांग्रेसका पूर्वपदाधिकारीहरूले मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन गरी राम्रो नगर्नेलाई फिर्ता बोलाउन सुझाव दिएका थिए।
काठमाडौँ । नेपाली कांग्रेसले संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने भएको छ ।
सरकार गठनको एक वर्ष र कही मन्त्रीहरू ‘घुस डिल’ को काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग केही मन्त्रीहरू परिवर्तनको प्रस्ताव राखेका थिए । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।
तर ओलीको प्रस्तावप्रति देउवाले असहमति जनाएका हुन् । उनले भने, ‘तपाईंले आफ्ना पार्टीका परिवर्तन गर्ने भए गर्नुस्, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्नन् ।’ उनले आफू प्रधानमन्त्री बन्ने वेलामा मात्रै मन्त्री परिवर्तन गर्ने बताएका थिए ।
सभापति देउवाले कतिवेला मन्त्रीहरू परिवर्तन गर्छन् र आफ्नो पालो आउला भनी बसेका कांग्रेस सांसदहरूलाई पनि आफू प्रधानमन्त्री हुने वेलामा मात्रै मन्त्री परिवर्तन हुने बताउन थालेका छन् । ‘मन्त्री परिवर्तनको हल्ला चलेको छ, हामी कहिले हो हुने ?’ केही दिनअघि देउवालाई भेट्न गएका एक सांसदले सोधेका थिए । जवाफमा देउवाले भनेका थिए, ‘अहिले परिवर्तन हुँदैन । अब म प्रधानमन्त्री हुने वेलामा फेर्ने हो ।’
यता देउवालाई मंगलबार भेट्न पुगेका कांग्रेसका पाँच पूर्वपदाधिकारीले पनि पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सुझाएका थिए । यसरी सुझाव दिनेहरूमा पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत थिए ।
भेटपछि पूर्वउपसभापति श्रेष्ठले रातोपाटीसँग भनेका थिए, ‘कांग्रेस ओलीजी नेतृत्वको सरकारमा सहभागी भएको एक वर्ष पुगेको छ । समग्रमा सरकारले नै राम्रो काम गर्न सकेको छैन । कांग्रेसका मन्त्रीहरूले पनि राम्रो काम नगरेका गुनासोहरू आएका छन् । तपाईंले कार्यसम्पादन मूल्यांकन गर्नुस् । राम्रो काम गर्नेलाई राख्नुस् । नराम्रो काम गर्नेलाई ‘विथ ड्र’ गर्नुस् भनेर हामीले सभापतिलाई सुझाव दिएका छौँ ।’ उक्त सुझावप्रति देउवाले के जवाफ दिए भन्नेबारे श्रेष्ठले खुलाएनन् ।
निकटस्थ स्रोतका अनुसार पनि देउवा तत्काल मन्त्री फेरबदलको योजना छैनन् ।
पाँच नेताले मात्र होइन, गत असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि राम्रो काम गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने केही नेताले भनेका थिए । त्यस्तो धारणा राख्नेमा संस्थापन पक्षकै नेताहरू एनपी साउद, डा. डिला संग्रौला, नैनसिंह महरदेखि इतर समूहका नेताहरू थिए ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत पर्फमेन्स देखाउन नसक्ने मन्त्रीलाई फिर्ता बोलाएर योग्यलाई पठाउन सुझाव दिएका थिए । झण्डै दुई तिहाइको सरकारले पनि जनताले सोचे अनुरुपमो डेलिभरी दिन नसकेकाले त्यसलाई सुधार्न मन्त्री परिवर्तन गर्नुपरे पनि पछि पर्न नहुने उनीहरूको तर्क थियो । केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी र अर्जुननरसिंह केसीले पनि मन्त्रीहरूको कार्यशैलीमाथि असन्तुष्टि जनाएका थिए ।
कांग्रेसका तर्फबाट ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री बन्दै नेतृत्व गरेका छन् । त्यस्तै परराष्ट्रमन्त्रीमा देउवा पत्नी डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी छन् ।
आकांक्षी धेरै भएकाले मन्त्री परिवर्तन गर्दा विवाद निम्तिने र गुट मिलाउन गाह्रो हुने बुझेकाले देउवा अनिच्छुक देखिएका एक नेता बताउँछन् । ‘गुट मिलाउन पर्यो, निकटका नेताहरूलाई पनि बिचमा फेरबदल गर्दा मिलाउँछु भनेको छु । त्यसैले अहिले चलाउँदा समस्या हुन्छ, पछि मेरो नेतृत्वमा सरकार बन्ने वेलामा मात्रै फेर्ने मैले सोचेको छु,’ देउवाको भनाइ राख्दै मंगलबार उनलाई भेटेर फर्किएका ती नेताले बताए ।
कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले भने सार्वजनिक रूपमै वर्तमान सरकारले डेलिभरी दिन नसकेको दाबी गर्दै आएका छन् । वर्तमान सरकार नै परिवर्तन गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने लाइनमा उनी देखिएका छन् ।
यद्यपि कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने मन्त्री परिवर्तनको कुनै योजना नरहेको बताउँछन् । ‘अहिलेसम्मलाई यसबारे कुनै कुराकानी भएको छैन,’ विश्वकर्माले रातोपाटीसँग भने ।
यसैबिच सभापति देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण