बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसमा आपतकालीन राहतको व्यवस्था गर्न महतोको माग

शनिबार, १० साउन २०८२, १४ : ५७
शनिबार, १० साउन २०८२

सारांश

  • राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई-मधेस क्षेत्रमा आपत्कालीन राहतको व्यवस्था गर्न माग गरेका छन्।
  • उनले किसानको ऋण माफी, निःशुल्क कृषि सहायता, र विद्युत् तथा खानेपानी शुल्क मिनाहा गर्न माग गरे।
  • महतोले चुरे विनाश रोक्न, जल सञ्चयन प्रणाली पुनर्निर्माण गर्न, र मानवीय संकटको रूपमा राहतलाई लिन आग्रह गरे।

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेस क्षेत्रमा आपत्कालीन राहतको व्यवस्था गर्न माग गरेका छन् । सुख्खा प्रभावित मधेस क्षेत्रलाई संकट घोषणा गरिएलगत्तै उनले खाद्यान्न, पिउने पानी, औषधी लगायतलाई समेटेर आपत्कालीन राहत योजना तुरुन्त लागू गर्न माग गरेका हुन् ।

उनले किसानको ऋण माफी गर्न माग गर्दै बिउ, खाद्य र कृषि उपकारणमा निःशुल्क सहायता प्याकेज लागू गर्न समेत माग गरेका छन् ।  अध्यक्ष महतोले शनिबार एक वक्तव्य जारी गर्दै सो क्षेत्रमा विद्युत् आपूर्ति समेत निर्बाध रूपमा उपलब्ध गराउन माग गर्दै खानेपानी एवं कृषि र विद्युत् शुल्क निःशुल्क गर्न माग गरेका छन् ।

उनले किसानका लागि सिँचाइ एवं खानेपानीको निम्ति आवश्यक उपकरण उपलब्ध गराउन समेत माग गरेका छन् । त्यसका लागि स्थानीय सरकारको सिफारिसमा भन्सार निःशुल्क गर्न समेत उनले माग गरेका छन् ।  राहतलाई राजनीतिक विषयका रूपमा नभई मानवीय सङ्कटको रूपमा लिन आग्रह गर्दै उनले केन्द्र र प्रदेश सरकारले यो समस्यालाई दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारीको रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले चुरे विनाश रोक्न कानुनी तथा कार्यकारी कदम चाल्नुपर्ने बताउँदै साना जलाशय, पोखरी र वर्षा जल सञ्चयन प्रणालीको पुनर्निर्माण गर्न समेत माग गरेका छन् ।  अध्यक्ष महतोले मन्तव्यमा भनेका छन्, ‘यो केवल एक प्राकृतिक आपत् मात्र होइन, यो राज्य संरचनाको दीर्घकालीन उपेक्षा, जल–जङ्गल–जमिनको दोहन र पश्चिमा औपनिवेशिक विकास मोडेलको कारणले भइरहेको शोषणको परिणाम हो ।’ 

लगातार घट्दो वर्षा, भूमिगत जलको न्यून पुनर्भरण, सिँचाइ संरचनाको चरम अभाव र चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारणले गर्दा मधेसको जमिन अब जलहिन हुँदै गइरहेको उनले उल्लेख गरेका छन् । सुक्खाले खेतबारीमा मात्र नभई पिउने पानीको समेत अभाव भएको बताउँदै उनले यसले मधेसको जनजीवन निकै कष्टपूर्ण बनेको बताएका छन् । 

उनले भनेका छन्– ‘यो सिर्फ पानीको सङ्कट होइन, यो अस्तित्वको सङ्कट हो । सरकारको ढिलासुस्ती र राजनीतिक औपनिवेशिकता एवं असंवेदनशीलताले यो विपत्तिलाई अझै भयावह बनाइरहेको छ । तराई–मधेसलाई केवल भोट बैंक सम्झने मानसिकता र संरचनागत असमानताले आजको यो स्थिति जन्माएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप