पतञ्जली जग्गा हिनामिना प्रकरण : पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश
सारांश
- विशेष अदालतले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा पूर्वसचिव छविराज पन्तलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ।
- अख्तियारले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
- पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिवको दबाबमा प्रस्ताव पेश गरेको बयान दिएका छन्।
काठमाडौँ । विशेष अदालतले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको सहप्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको विशेष अदालतमा बयान दिएका छन् ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तत्कालीन सचिव पन्तले भूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ र मातहतका कर्मचारीहरूले समेत दबाब दिएको र त्यो आफूले थेग्न नसकेको जिकिर गरेका थिए ।
२०६९ सालमा गठन भएको तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमा पूर्वसचिव पन्त मन्त्री समेत भएका थिए ।
ललिता निवास प्रकरणमा समेत मुछिएका उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । अख्तियारले उनीविरुद्ध दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।
यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटी छाड्न आदेश दिइसकेको छ ।
कानुन अधिकृत कलानिधि शर्माले मुनाफारहित कम्पनी भनी विश्वासमा पारेकाले आफूले प्रस्ताव अघि बढाएको भन्दै उनले सबै कागजात हेरेर सम्भव नहुने बयान दिएका थिए । विशेष अदालतले कलानिधी शर्मा पौडेललाई २५ हजार धरौटीमा छाडिसकेको छ ।
त्यस्तै तत्कालीन मालपोत कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, नायव सुब्बा तुलामणि राजभण्डारी र भूमिसुधार तथा तथा व्यवस्थापन विभागका महानिर्देशक केशरबहादुर बानियाँलाई नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण