सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय
गण्डकी । सडक, पुल, नाला, चौतारा, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइमा यहाँका स्थानीयवासी जुटेका छन् । ‘हाम्रो टिम गलकोट’मा स्वयंसेवी रूपमा जोडिएका युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर बागलुङको गलकोट नगरपालिकामा सरसफाइ अभियान चलाएका हुन् ।
गत असार ७ गतेदेखि हरेक शनिबार विभिन्न ठाउँमा पुगेर सरसफाइसहित सचेतनामूलक कार्यक्रम गर्ने गरिएको उक्त अभियानका संयोजक दीपक शर्मा पौडेलले बताए ।
असार पहिलो शनिबार गलकोट नगरपालिका–३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरिएको उहाँले जानकारी दिए ।दोस्रो शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गलकोट ३, ५ र ७ को सङ्गमस्थलमा रहेको दरमखोला पुल सरसफाइ गरिएको थियो ।
तेस्रो शनिबार मध्यपहाडी लोकमार्गमै पर्ने गलकोट–२ नरेठाँटीको पुल, चौथो शनिबार गलकोट–३ रजराको ऐतिहासिक चौतारो र साउनको पहिलो शनिबार गलकोट–६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नाली सरसफाइ गरिएको संयोजक पौडेलले बताए ।
गत शनिबार रजरा चौतारोको सौन्दर्यीकरणका लागि विभिन्न रुख र फूलका बिरुवा रोपिएको उनको भनाइ छ ।
“निर्माण भएको वर्षौँ बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा पुलमा कुरूप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो”, संयोजक पौडेलले भने,“सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ ।”
ठुलो लगानी गरेर रजराको चौतारो पुनर्निर्माण गरिए पनि रेखदेख नहुँदा जीर्ण बन्ने देखिएपछि सरसफाइ र वृक्षारोपण गरिएको उनको भनाइ छ । सरसफाइ अभियान आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन हुने संयोजक पौडेलले बताए । घरबाटै कुटोकोदालो, गैँती, बेल्चाजस्ता औजार लिएर स्थानीय बासिन्दा सरसफाइमा जुट्ने गरेका हुन् ।
उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी, हटिया शाखाका अध्यक्ष नवराज गौतम, गलकोट बहुमुखी क्याम्पसका प्राध्यापनरत खिमनाथ गौतमलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सक्रिय छन् ।
संयोजक पौडेल पनि शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । सुरुमा पाँच जनाबाट सुरु भएको उक्त अभियानमा अहिले झन्डै ५० जना आबद्ध छन् ।
हरेक शनिबार बिहानको समयमा सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । सरसफाइप्रति समुदायस्तरमा जनचेतना अभिवृद्धिका लागि उक्त अभियान सुरु गरिएको संयोजक पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण