शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

मधेसमा अपराध घटे पनि मृत्यु बढ्यो

बिहीबार, १५ साउन २०८२, ०७ : १३
बिहीबार, १५ साउन २०८२

सारांश

  • मधेस प्रदेशमा गत वर्षको तुलनामा अपराधको ग्राफमा खासै कमी आएको छैन।
  • ज्यानसम्बन्धी, भवितव्य ज्यान, फुटकर ज्यान, र गर्भपतनजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन्।
  • गत आर्थिक वर्षमा आत्महत्या, करेन्ट लागेर र पानीमा डुबेर धेरैको मृत्यु भएको देखिन्छ।

जनकपुर । मधेस प्रदेशमा गत वर्षभन्दा अपराधको ग्राफमा खासै कमी आएको छैन । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गएको वर्षमा आपराधिक गतिविधि खासै कमी नआएको प्रदेश प्रहरीको तथ्याङ्कले देखाइरहेको छ । प्रदेशमा ०८०/०८१ भन्दा ०८१/०८२ मा २१ वटा मात्र आपराधिक गतिविधि कम भएको तथ्याङ्क छ । 

प्रदेश प्रहरीका १३ वटा शीर्षकमा ०८०/०८१ मा ९ हजार ६ सय २० वटा आपराधिक गतिविधिका मुद्दा दर्ता भएका छन् । यद्यपि गएको आर्थिक वर्ष ०८१/०८२ मा १३ वटै शीर्षकमा कुल ९ हजार ५ सय ९९ वटा मुद्दा दर्ता भएका थिए । 

गत वर्ष आपराधिक घटना तुलनात्मक रूपमा कम देखिए पनि ज्यानसम्बन्धी, भवितव्य ज्यान, फुटकर ज्यान, गर्भपतनजस्ता गम्भीर प्रकृतिका अपराध भने बढेको तथ्याङ्कमा देखिएको छ । 

प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार ०८०/८१ मा ज्यानसम्बन्धी १६८ वटा घटना दर्ता भएका विवरण उल्लेख छ भने ०८१/०८२ मा १७३ वटा दर्ता भएको रेकर्ड छ । त्यसैगरी ०८०/८१ मा भवितव्यजन्य ५५३ वटा घटना दर्ता हुँदा त्यसपछिको वर्ष ६३५ वटा दर्ता भएका प्रहरीको रेकर्डमा छ । 

यस्तै अघिल्लो वर्ष ७६ वटा फुटकर शीर्षकमा घटना दर्ता भएका थिए भने ०८१/०८२ मा १११ घटना भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

गत वर्ष झन् बढीको मृत्यु 

यसरी प्रदेश प्रहरीको तथ्यांकअनुसार ०८०/०८१ को तुलनामा ०८१/०८२ मा ३ सयभन्दा बढीको मृत्यु भएको देखिएको छ । 

२०८१/०८२ मा भएको कुल आपराधिक घटनाहरूमा २ हजार ६३० जनाको मृत्यु भएको देखिएको छ । जहाँ खुन डाका, कर्तव्य ज्यान, गर्भपतन, भवितव्य ज्यान, फुटकर ज्यान, आत्महत्यासम्बन्धी, करेन्ट लागेर र पानीमा डुबेर भन्ने शीर्षकमा मृत्युको रेकर्ड छ । 

यिनै शीर्षकहरूमा २०८०/०८१ मा भने २ हजार ३ सय १६ जनाको मृत्यु भएको देखिएको छ । अर्थात् अघिल्लो आवभन्दा ०८१/०८२ मा ३१४ जना बढीको मृत्यु भएको देखिन्छ ।

कुन शीर्षकमा कतिको मृत्यु ?

मधेस प्रहरीले सार्वजनिक गरेको विवरणमा कर्तव्य ज्यान, खुन डाँका र गर्भपतनबाहेक अन्य शीर्षकमा मृत्यु हुनेको संख्या तीन अंकमा छ । अर्थात् हरेक मुद्दामा तीन अंकमा मान्छेको मृत्यु भएको देखिएको छ । 

गएको आर्थिक वर्षमै आत्महत्यासम्बन्धी कसुरमा १ हजार २ सय २२ जनाको मृत्यु भएको देखिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए । उनका अनुसार गएको वर्ष सबैभन्दा बढी यही शीर्षकमा मृत्यु भएको थियो । 

कर्तव्य ज्यानमा ९८, खुन डाँकामा १ र गर्भपतनमा १५ जना मारिएका छन् । यसैगरी भवितव्य ज्यानमा ६३५ जना, ज्यानसम्बन्धी कसुरमा १७३ जना, फुटकर ज्यानमा १११ जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्याङ्कले देखाउँछ । 

त्यसैगरी गएको आर्थिक वर्षमै आत्महत्यासम्बन्धी कसुरमा १ हजार २ सय २२ जनाको मृत्यु भएको देखिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए । उनका अनुसार गएको वर्ष सबैभन्दा बढी यही शीर्षकमा मृत्यु भएको थियो । 

यसैगरी करेन्ट लागेर ११९ र पानीमा डुबेर २५६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बताउँछ । करेन्ट लागेर ४ बालिका, १३ बालक, १८ महिला र ८४ जना पुरुषको मृत्यु भएको तथ्याङ्क छ । पानीमा डुबेर ५४ बालिका, ९६ बालक र २४ जना महिला तथा ८२ जना पुरुषको मृत्यु भएको प्रहरीको रेकर्डमा छ ।

हरेक दिन कति जनाको मृत्यु ?

विवरण हेर्दा प्रदेशमा प्रत्येक महिना २१९ जनाको मृत्यु भइरहेको छ । अर्थात् प्रत्येक दिन ७ जनाभन्दा बढीको ज्यान गइरहेको देखिन्छ । 

दुइ वर्षमा करिब पाँच हजारको मृत्यु

गत आवमा आपराधिक गतिवधिको संख्यामा नगण्य रूपमा कमी आए पनि मृत्युको दर भने घटेको देखिएको छैन । मधेसमा पछिल्ला दुइ वर्षमा करिब ५ हजार जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

२०८०/०८१ तथा ०८१ र ०८२ मा मात्रै ४९४६ जनाको मृत्यु भएको आँकडा छ ।

के भन्छ प्रहरी ?

प्रदेश प्रहरी प्रवक्ता विजय यादवका अनुसार पछिल्लो समय प्रदेशमा मान्छेको ज्यान जानुको मुख्य कारण भवितव्य हो । जनचेतनाको कमीले यस्ता घटनाहरू भइरहेका उनले बताए । भने, ‘प्रदेशमा बढी मान्छे आत्महत्या, करेन्ट लागेर र पानीमा डुबेर मृत्यु भएका छन्, यो भनेको भवितव्य हो ।’ 

पूर्वएआइजी लालमणि आचार्य प्रहरीको केही हदसम्मको लापरबाहीले यस्ता घटना हुने गरेको बताए । प्रहरीले सक्रियता बढाए केही हदसम्म अपराध न्यूनीकरण हुने उनको बुझाइ छ । 

अर्थात् लापरबाही र केही आवेगमा आएर भएका घटना बढी भएका उनले बताए । त्यसकारण आवेग र लापरबाही रोक्न जनचेतना जगाउन एकदम जरुरी रहेको उनको भनाइ छ । 

हत्याका घटनाहरू भने रिसइबीका कारण हुने गरेकोले त्यसतर्फ प्रहरीले पछिल्लो समय आफ्नो ध्यान केन्द्रित गरेको उनले बताए । यद्यपि पूर्वप्रहरी अधिकारीहरूले भने प्रहरीको अकर्मण्यताका कारण अपराध बढेको बताएका छन् । 

पूर्वएआइजी लालमणि आचार्य प्रहरीको केही हदसम्मको लापरबाहीले यस्ता घटना हुने गरेको बताए । प्रहरीले सक्रियता बढाए केही हदसम्म अपराध न्यूनीकरण हुने उनको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप