शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘झलनाथ खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार छैन, खुरुक्क राजीनामा दिनुपर्छ’

उहाँ निर्णय उल्लङ्घन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ  ः माधवकुमार नेपाल
शुक्रबार, १६ साउन २०८२, १५ : ५९
शुक्रबार, १६ साउन २०८२

सारांश

  • माधवकुमार नेपालले झलनाथ खनाललाई एमाले फुटाएकोमा गलत भन्दै राजीनामा दिन सुझाव दिए।
  • नेपालले खनाललाई पार्टी निर्णय उल्लङ्घन गर्ने व्यक्ति भएको आरोप लगाए।
  • उनले वर्तमान सरकारलाई असफल भएको र ओलीको गलत नीतिका कारण देश पीडित भएको बताए।

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘एमाले फुटाएर गलत गरियो’ भन्ने अभिव्यक्ति दिने आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट राजीनामा दिन सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले खनाललाई ‘खुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा हुन’ भनेका हुन् । कुराकानीको क्रममा उनले पार्टी निर्णयमा असहमति जनाउने खनाल ‘निर्णय उल्लङ्घन गर्नमा नम्बर वान’ रहेको आरोप पनि लगाए ।

प्रस्तुत छ, उनीसँग सञ्चारकर्मीले गरेको प्रश्नोत्तरको सम्पादित अंश :

madhav

  • तपाईंको पार्टीको सम्मानित नेता झलनाथ खनालले एमाले फुटाएर हामीले गलत गरियो भनेर बोल्नुभएको छ नि, यसबारे तपाईंको धारणा के हो ?

– उहाँले बोलेको हो कि होइन ! यदि उहाँले त्यो बोल्नुभएको हो भने अब पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक अधिकार नै छैन । उहाँले खुरुक्क राजीनामा दिनुपर्छ । बिदा भएर जानुपर्छ ।

  • नैतिकताको कुरा त तपाईंमाथि पनि उठ्छ नि । यत्रो मुद्दा लागेको छ, धरौटीमा रिहा हुनुभएको छ । तपाईंले पनि पद छोड्नुपर्दैन ?

– मेरो केस त कुनै भ्रष्टाचारको केस नै होइन । सबै विधि, प्रक्रिया पुगेको छ । तलैबाट, जिल्लाबाट, मन्त्रालय, उपसचिव, सहसचिव, सचिव, राज्यमन्त्री, पूर्णमन्त्री, क्याबिनेटको सर्वसम्मत निर्णय हो । कसैको फरक मत छैन । ऐनले पनि दिएको छ, कानुनले दिएको छ, संविधानले दिएको छ । यहाँ कुनै सरकारी जग्गा एक टुक्रा दिएको पनि छैन । आफ्नो निजी जग्गा हदबन्दीभन्दा बढी खरिद गर्न कानुनले नै दिएको अनुमति हो । अहिले पनि यही सरकारले सूचना निकालेको छ कि कसैले हदबन्दीभन्दा बढी जमिन किनेको छ भने नेपाल सरकारलाई निवेदन दिनुस् । पहिले तीन महिना र अहिले एक वर्षको अवधि दिइएको छ । त्यसो हुनाले कुनै विधि, प्रक्रिया र कानुन उल्लङ्घन भएको छैन । नेपाल सरकारलाई नोक्सान एक पैसा भएको छैन, बरु फाइदा भएको छ ।

  • अख्तियारले संविधान र कानुनभन्दा बाहिर गएर तपाईंमाथि पूर्वाग्रही ढंगले मुद्दा चलायो भन्न खोज्नुभएको हो ?

– यो त राजनीतिक पूर्वाग्रह हो, प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन् । त्यसकारण मैले भनेको छु कि मैले एक पैसा तलमाथि जिन्दगीमा गरेको छैन कसैको । यो केसमा त झन् कसैले कल्पना गर्ने कुरा पनि छैन ।

  • माओवादी केन्द्रसँग पार्टी एकीकरणको विषय चर्चामा आइरहेको छ । वास्तविकता के हो ?

– माओवादीसँग हाम्रो दुई वटा कुरामा छलफल चलिरहेको छ । एउटा समाजवादी मोर्चालाई निरन्तरता दिऔँ भन्ने । सबै घटकसँग राम्रो सम्बन्ध बनाऊँ । दोस्रो, दुई पार्टीबिचको सम्बन्धलाई विश्वासको जगमा खडा गरौँ र सहकार्यलाई बलियो बनाएर जाऔँ । कुनै पनि ठाउँमा त्यस्तो असमझदारी नहोस्, गुनासो आउने स्थिति नबनोस् ।

त्यसपछि यसले नेपालको राजनीतिको चुनौतीको सामना गर्ने सबै पक्षलाई एकताबद्ध बनाएर जानुपर्छ भनेर हामी सबै वामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर जाने कुरा भएको हो । एकीकरणको कुरा अहिले नै भएको छैन ।

  • तर तपाईंहरूकै वरिष्ठ नेता झलनाथ खनालले निर्णयहरू शीर्ष तहमा मात्र भयो, यसमा मेरो आपत्ति छ भनिसक्नुभयो नि ?

– हाम्रो पार्टीको संस्थागत निर्णय हो । उहाँ निर्णयको उल्लङ्घन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ । त्यसकारण उहाँको कुराको कुनै अर्थ छैन ।

  • अहिलेको सरकारको काम कारबाहीलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– यो सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति (केपी ओली)को दम्भ, अहङ्कार, गलत नीति र गलत कामले गर्दा देश पूरै पीडित छ । यो पीडाबाट जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, मुलुक मुक्त हुने स्थिति बन्दैन ।

पूर्वराष्ट्रपति, उपराष्ट्रपतिहरू फेरि सक्रिय राजनीतिमा फर्किने कुराले गणतन्त्रमाथि नै प्रश्न उठिरहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा अध्यक्षको दाबी गरेको तर पार्टीले नै रोकेको कुरा आएको छ नि, यसलाई कसरी लिनुभएको छ ?

– संविधान, कानुनले रोकेको मलाई थाहा छैन । यदि संविधान र कानुनले रोकेको छैन भने व्यक्तिको आफ्नो अधिकारको कुरा हुन्छ । उसको अधिकार, उसको चाहनाको आधारमा उसले आफ्नो भविष्य तय गर्न सक्छ । त्यो पार्टीभित्रको स्थिति के बनेको हो ? मैले सुरेन्द्र पाण्डेको अन्तर्वार्ता पढेअनुसार उहाँलाई आश्वासन दिइएको हुनाले अगाडि बढेको भन्ने कुरा आएको छ । मलाई थाहा छैन । तर एमालेभित्र जुन किसिमको तमासा हामी देखिरहेका छौँ, त्यो हेर्दै जानुस्, यिनीहरूले देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन् र राष्ट्रकै निम्ति ठुलो नोक्सान पुर्‍याउने स्थितिमा केपी ओलीले पुर्‍याउँछन् ।

  • यो पूर्वपदाधिकारीहरू सक्रिय राजनीतिमा फर्कने विषयमा तपाईंको व्यक्तिगत धारणाचाहिँ के हो ?

– म त्यस्तो धारणा अहिले व्यक्त गर्दिनँ ।

  • वर्तमान सरकार परिवर्तन हुन्छ कि हुँदैन ?

– शेरबहादुरजी, केपी ओली दुई जना मिलेसम्म त बहुमत छँदैछ । त्यस हुनाले त्यो अहिले हुन्छ भन्ने कुराको कल्पना गरेर बस्ने कुरा पनि आउँदैन । हामी आफ्नो पार्टीलाई बलियो बनाउने काममा लागेका छौँ । पार्टीमा नयाँ–नयाँ नेताहरूको प्रवेश भइरहेको छ ।

  • बामदेव गौतमलाई के जिम्मेवारी दिनुहुन्छ ?

– त्यो पार्टी कमिटीले निर्णय गर्ने कुरा हो । सबैलाई चित्त पनि बुझाउनु पर्छ । साथमा लिएर जानु पनि पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप