गणतन्त्र र गोदत्तप्रसाद
भट्टीबाट सिनित्त रित्तिएर
रित्याएर सबै सबै सम्पन्नताहरू
भर्खर भैरव अवतार लिएर
घर फर्किएको छ,
गणतन्त्रको गोदत्तप्रसाद !
सर्पजस्तै बेरिँदै बेरिँदै
रातसँगै चढ्दै गएको उसको अहंको पारो
निहुँ खोजिरहेको छ,
असरल्ल झोँक्राइबसेको भान्छाको टेबुलसँग ।
निहुरोको मुन्टाजस्तो भएर
यो झरीमा उसैको प्रतीक्षामा बसेकी तरकारीसँग
घरी ऊ गोलभेँडाको चटनीजस्ती भइनस् भनेर रिसाउँछ
घरी ब्रोइलरको सुकुटीजस्तो बासी भइस् भनेर गिज्याउँछ
घरी नुन चर्को भइस् भनेर थुक्छ
घरीघरी प्रेमको आँगनमा हृदयहीन भएर दुख्छ !
घर र रछ्यानबिचको भेद
छुट्ट्याउनै नसक्ने भइसकेको
गणतन्त्रको गोदत्तप्रसाद,
रातमा असन्तुष्टिको जुलुस निकाल्छ
तरकारीका लालाबालामाथि कुदृष्टि फ्याँक्छ
उड्छ अरिङ्गाल भएर यत्रतत्र
र, चिल्छ घरको सुखशान्ति ।
रातले भरेको मातसँगै
ग्यारेजमा पसेर गाडीभित्रै लम्पसार परेको
बहुलठ्ठी ऊ
कहिले हाकिमको प्रहार भएर
कहिले स्वास्थ्यकर्मीको अवतार भएर
कहिले सुरक्षाको नाममा
त कहिले सहयोगको बहानामा
पर्खिबस्छ नानीथकुंहरूलाई,
प्रेमको भोको भएको नाटक गर्छ
र बासनाको नपुंसक पासो थाप्छ ।
रञ्जनादेवीहरूमाथि
लाञ्छना लगाइबस्छ गोदत्तप्रसाद
तरकारीमा नुन चर्को पारेको लाञ्छना
भान्छा खर्चिलो पारेको लाञ्छना
छोराछोरीलाई पुलपुल्याएको लाञ्छना
छोराछोरीलाई बिगारेको लाञ्छना
कार्यालयबाट घर ढिलो फर्केको लाञ्छना
अन्ततः कुन्नि कोसँग हिमचिम गरेको लाञ्छना !
गणतन्त्रसँग हो कि घरतन्त्रसँग
आखिर कोसँग अधैर्य भएको छ, गोदत्तप्रसाद ?
असीको दशकको यो पहिलो प्रहरमा
एकाएक बिउँझन्छ,
ग्यारेजमा गुँडुल्की बसेको सर्पजस्तो गोदत्तप्रसाद
र सम्झन्छ, ‘कानुनको कलम मेरै हातमा छ, किन भुलेछु !’
‘ठेगान लगाउनुपर्छ ढङ्ग नभएकी रञ्जनादेवीलाई’, बर्बराउँछ !
यतिबेला गणतन्त्रको गोदत्तप्रसाद,
कानुनको संशोधन प्रस्ताव बोकेर दौडिरहेछ
घरी तहबिलको तराजुमा जोख्छ
घरी तबेलाको तामझाममा पस्छ
उसलाई जसरी पनि पास गराउनुछ—
बहुपत्नीको पति बन्नुछ
रञ्जनादेवीसँग बदला लिनुछ
नानीथकुंको यौवन नशासरि पिउनुछ
घरीघरी भयभीत पनि भएको छ गोदत्तप्रसाद
भर्खर पढेको छ उसले– लाखौँ हृदयचन्द्र सिंहहरूको हस्ताक्षर,
लाखौँ रञ्जनादेवीहरूको आक्रोश र प्रतिरोधको तयारी—
‘सरकार सार्वजनिक गर्— गोदत्तप्रसाद र गोदत्तप्रसादहरूलाई
टुकुचाको दुर्गन्ध भन्किरहेको उसको कपटी अनुहारमा
हामी विष्णुमतीको हिलो पोत्न चाहन्छौँ !’
(विशेष अवस्थाको बहानामा बहुविवाहको पक्षमा कानुन संशोधन गर्ने तयारीको विरोधमा लेखिएको प्रतिरोध कविता)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण