शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

५ वर्षसम्म पोखराका तालहरू लक्ष्मी ग्रुपले सफा गरिदिने

बिहीबार, २२ साउन २०८२, १८ : ३६
बिहीबार, २२ साउन २०८२

पोखरा । पोखराका तालहरूको सरसफाइ ५ वर्षसम्म लक्ष्मी ग्रुपले गरिदिने भएको छ । पोखराको वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको हो । 

बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम तथा रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग गर्न लागेको हो । सम्झौता अनुसार यहाँका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्ने, निकालिएको जलकुम्भी झारबाट हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि स्थानीय समुदायमा सीप विकास मार्फत रोजगारी सिर्जना गरिनेछ ।

यस्तै, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलता तर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा गरिबिको रेखा मुनी रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गर्न लक्ष्मी ग्रुप राजी भएको छ । केही दिनअघि पोखराले महानगरको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना सार्वजनिक गरेको छ ।

सोही योजनालाई सघाउ पुग्ने गरी लक्ष्मी ग्रुपले साझेदारी गर्न लागेको हो । महानगर र लक्ष्मी ग्रुपले संयुक्त रूपमा जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने समझदारी गरेका छन् । 

परियोजनाका लागि लक्ष्मी ग्रुपले देश तथा विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याउने, ताल सरसफाइ र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति लगायतको व्यवस्थापन, हस्तकलाका सामाग्रीहरू उत्पादन तथा प्रशोधनका लागि आवश्यक तालिम तथा प्रशिक्षण र विपन्न परिवारहरूलाई विद्युतीय चुल्हो वितरण गर्नेछ ।

परियोजना परीक्षण काल ६ महिना सहित ५ पाँच वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन हुनेछ । पहिलो चरणमा पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमशः विस्तार गर्दै लगिने मेयर धनराज आचार्यले जानकारी दिए ।

‘पोखराका तालहरूमा फैलिएको जलकुम्भी र अन्य झारलाई नियन्त्रण गरी तालको पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण फर्काउन यो सम्झौता महत्त्वपूर्ण साबित हुनेछ,’ आचार्यले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप