बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

मधेस युनाइटेडको नयाँ लोगो सार्वजनिक

बिहीबार, २२ साउन २०८२, २३ : ३३
बिहीबार, २२ साउन २०८२

सारांश

  • मधेस युनाइटेडले एभरेस्ट महिला भलिबल लिगका लागि नयाँ लोगो सार्वजनिक गर्यो, जसमा खेल, संस्कृति र मधेशी गौरव झल्किन्छ।
  • लोगोमा हरियो रङमा भलिबल, जानकी मन्दिरको आकृति र लहरहरू समावेश छन्, जसले टिमको भावनालाई प्रतिनिधित्व गर्छ।
  • दोस्रो एभरेस्ट महिला भलिबल लिग भाद्र २० देखि २८ गतेसम्म हुँदैछ, जसमा मधेस युनाइटेड लगायत अन्य टिमहरू सहभागी हुनेछन्।

काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा सहभागी टोली मधेस युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। टिमले सार्वजनिक गरेको लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको जनाएको छ। हरियो रङको लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको प्रतिस्पर्धा, जोश र खेलभावनालाई प्रतिनिधित्व गर्छ। भलिबल वरिपरिका लहरहरूले गतिशीलता, ऊर्जा र तीव्रताको भाव प्रकट गर्छन्।

लोगोको माथिल्लो भागमा जानकी मन्दिरबाट प्रेरित मन्दिरको आकृति समावेश गरिएको छ, जुन मधेस क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो। लोगोले मधेसको ऐतिहासिकता, सांस्कृतिक धरोहर र खेलकुदको भावनालाई एकसाथ प्रस्तुत गरेको टिमले जनाएको छ। मधेस युनाइटेडका अनुसार नयाँ लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन हो, जसले मधेसको समृद्ध सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई समेटेको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा दोस्रो एभरेस्ट महिला भलिबल लिग आगामी भाद्र २० गतेदेखि २८ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगितामा मधेस युनाइटेडसहित विभिन्न टोलीको सहभागिता रहनेछ। मधेस युनाइटेडमा निरुता ठगुन्ना मार्की खेलाडीका रूपमा रहेकी छन् भने अन्य खेलाडीहरूमा आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद र स्नेहा ठगुन्ना रहेका छन्। टिमको प्रशिक्षक कोपिला उप्रेती रहेकी छन् भने नीति शाह ब्रान्ड एम्बेसडरको भूमिकामा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप