बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
संसद् भत्ता

रास्वपा सांसद प्रतिनिधिसभा बैठक बहिष्कार गर्छन्, भत्ता बुझिरहन्छन्

शुक्रबार, २३ साउन २०८२, १८ : १०
शुक्रबार, २३ साउन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएका छन्।
  • रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरे पनि बैठक भत्ता र यातायात खर्च बुझेको देखिएको छ, जसको विवरण संघीय संसद् सचिवालयमा छ।
  • राप्रपाले भने बैठक बहिष्कार गरेबापतको भत्ता नलिने निर्णय गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले गत जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक निरन्तर बहिष्कार गर्दै आएका छन् । भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय छानबिन विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा सांसदहरूले प्रतिनिधिसभाका बैठक बहिष्कार गर्दै आएका हुन् । 

संघीय संसद् सचिवालयको रेकर्ड अनुसार रास्वपा सांसदहरूले जेठ महिनामा बसेका ९, असार महिनामा बसेका १७ र साउन महिनामा बसेका ६ वटा बैठक बहिष्कार गरेका छन् । 

प्रतिनिधिसभा बैठक जेठमा १३ गतेपछि १४, १५, २२, २५, २६, २८, २९ र ३० गते बसेको संघीय संसद् सचिवालयको रेकर्डमा उल्लेख छ । असारमा १, २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, २३, २४, २५, २९, ३० र ३१ गते बसेको रेकर्डमा देखिन्छ । त्यस्तै साउनमा अहिलेसम्म ७, ८, ९, १९, २० र २१ गते प्रतिनिधिसभा बैठक बसेको छ । 

यी बैठक बहिष्कार गरे पनि रास्वपा सांसदहरूले ‘संघीय संसद्का पदाधिकारीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३’ अनुरुप यातायात खर्चवापत पाइने बैठक बसेको दिनको एक हजार रूपैयाँ र बैठक भत्ताबापत पाइने एक हजार रूपैयाँ भने बुझिरहेको संसद्को रेकर्डमा देखिन्छ । 

रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरिरहे पनि जेठ र असारको बैठक भत्ता र परिवहन खर्च अनुरुप कानुन अनुसार पाउने पैसा बुझेको देखिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

‘उहाँहरूले सचिवालयमा उपलब्ध गराएको खातामा जेठ र असार महिनाको यातायात खर्च र दैनिक बैठक भत्ता गएको देखिन्छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने ।

रास्वपाका प्रतिनिधिसभामा २१ सांसद छन् । तीमध्ये पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछाने सहकारी ठगी प्रकरणमा २०८१ पुस ७ गतेदेखि निलम्बनमा छन् । रास्वपाबाट समानुपातिकतर्फकी सांसद् इन्दिरा रानामगर उपसभामुख छिन् । बाँकी रहेका १९ सांसदमध्ये प्रमुख सचेतक सन्तोष परियारलाई सचिवालयले गाडी उपलब्ध गराएकाले यातायात खर्च पाउँदैनन् । 

यसो हुँदा रास्वपाका १९ सांसदले जेठ महिनाको ९ र असार महिनाको १७ गरी २६ बैठकको बैठक भत्ता बहिष्कार गरे पनि बुझेका छन् भने १८ सांसदले यातायात खर्च बुझेका छन् । सरसर्ती हिसाब गर्दा १९ सांसदको २६ दिनको बैठक भत्ता चार लाख ९४ हजार हुन्छ । त्यस्तै १८ सांसद्को २६ दिनको यातायात खर्च चार लाख ६८ हजार हुन्छ । 

त्यसमा केही सांसद केही बैठकमा अनुपस्थित भएको देखिए पनि एकमुष्ट विवरण आइपुगेको छैन । उनीहरूले बुझेको यो रकममा ‘टीडीएस’ काटिने संघीय संसद् सचिवालयले जनाएको छ । 

रास्वपाबाट प्रतिनिधिसभामा लामिछाने र रानामगर बाहेक अशोककुमार चौधरी, असीम शाह, गणेश पराजुली, चन्दा कार्की (भण्डारी), डोलप्रसाद अर्याल, डा. तोसिमा कार्की, निशा डाँगी, विन्दवासिनी कंसाकार, विनिता कठायत, मनिष झा, लक्ष्मी तिवारी, विराजभक्त श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, डा. स्वणिम वाग्ले, सुमना श्रेष्ठ, सोविता गौतम, सन्तोष परियार र हरि ढकाल सदस्य छन् ।  

राप्रपाले पनि बैठक बहिष्कार गरिरहेको छ तर भत्ता बुझ्दैन

भिजिट भिसा सेटिङ प्रकरणमा रास्वपासँगै राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि जेठ १३ गतेबाटै प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेको छ । माग पनि रास्वपा र राप्रपाका एउटै छन् । 

राप्रपाले भने बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने पत्र संघीय सचिवालयमा दर्ता गराएको छ । सचिवालयका प्रवक्ता गिरीले राप्रपाले बहिष्कार गर्दासम्मको भत्ता नलिने पत्र सचिवालयमा पठाएकाले उनीहरूका सांसद्को यातायात खर्च र बैठक भत्ता नपठाइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप