नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती
सारांश
- नवलपरासीको गैँडाकोटमा परीक्षणका रूपमा चिया खेती सुरु गरिएको छ, जहाँ ७,५०० चियाका बिरुवा रोपिएका छन्।
- गैँडाकोट नगरपालिकाले बसेनी गाउँलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने योजना बनाएको छ, जसमा चिया बगान, होमस्टे र सुन्तला खेती समावेश छन्।
- यस खेतीको मुख्य उद्देश्य इलाम जाने पर्यटकलाई आकर्षित गर्नु र गैँडाकोटको पर्यटन प्रवर्द्धन गर्नु हो, जहाँ मायाको चिनोको रूपमा चिया उपहार दिइनेछ।
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा चिया खेती सुरुआत गरिएको छ । गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले १८ वडा रहेको यस पालिकाको पहाडी क्षेत्रमा पर्ने बसेनी गाउँमा परीक्षणका लागि सात हजार ५०० चियाको विरुवा लगाइएको बताए । पहाडी क्षेत्र भएकाले यहाँको भूगोल र हावापानी उपयुक्त भएकाले परीक्षणका लागि चिया खेती सुरु गरिएको उनको भनाइ छ । “गैँडाकोटको यो १८ नम्बर वडा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो” उनले भने, “यसै वर्षदेखि यहाँ पूर्वाधार विकास गरेर भविष्यमा बसेनीलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने नगरको योजना छ ।”
गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगरपालिका प्राकृतिक रूपमा सुन्दर र हावापानीले विविधताले भरिपूर्ण पालिका भएको बताइन् । हाल व्यक्तिगत र सामुदायिक रूपमा बसेनीमा चिया खेती गरिएको उनको भनाइ छ । “अहिले हामीले परीक्षणका रूपमा चिया खेती सुरु गरेका छौँ” उनले भनिन्, “यसले राम्रो उत्पादन दियो र स्थानीय आकर्षित भए भने हामीले खेती बिस्तार गर्ने योजना बनाएका छौँ ।”
गैँडाकोटमा पर्ने पूर्वपश्चिम राजमार्गबाट आधा घण्टाको दूरीमा नै चिसो हावापानी र बाह्रै महिना जाडो हुने क्षेत्र रहेको भन्दै उनले गर्मी र जाडो दुवै हावापानी भएकाले यहाँ पर्यटकीय सम्भावना रहेको बताइन् । बसेनीमा चिया खेती गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको कोइरालाको भनाइ छ । बसेनीमा चिया बगान, सुन्तला खेती बिस्तार, घरबास (होमस्टे) सञ्चालन गरी पर्यटकीय क्षेत्र बनाउने अवधारणाअनुसार आफूहरू अगाडि बढेको उनले बताइन् ।
गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले गैँडाकोटको बसेनीमा चिया उत्पादन गरेर बिक्री गर्नभन्दा पनि पर्यटकीय दृष्टिकोणले खेती गरिएको बताए । यसैवर्षदेखि यहाँ होमस्टे निर्माण गर्ने योजना रहेको जनाउँदै शर्माले होमस्टेमा आउने पर्यटकलाई लक्षित गरेर उपहारका लागि चियाको ब्राण्डिङ गरिने बताए । चिया बगान हेर्न इलाम नै जानुपर्ने अवस्थाको अन्त्य गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न चिया खेती सुरु गरिएको उनको भनाइ छ ।
“अहिले यस क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक इलाम जाने गर्नुभएको छ” उनले भने, “इलाम जाने पर्यटकलाई गैँडाकोट भित्र्याउने र उहाँहरूलाई घरमा जाने बेलामा उपहार दिने गरी चियाको खेती सुरु गरेका छौँ ।” गैँडाकोटमा आएर बस्ने पर्यटकलाई ‘मायाको चिनो’स्वरूप गैँडाकोटको चिया र स्थानीय उत्पादन कोसेली पठाइउने योजना रहेको शर्माले सुनाए । जिल्लाकै विकट गाउँको रूपमा रहेको यस वडामा पछिल्लो समय विकास निर्माणका पूर्वाधार निर्माण हुँदै गएपछि आवागमन समेत सहज भएको उनको भनाइ छ ।
गाउँमा गरिएको चिया खेतीको सुरुआती तरणमा बसेनी टोल सुधार समितिले रेखदेख गर्ने र वडा कार्यालयले संरक्षण गर्ने गरी खेती सुरु गरिएको शर्माले बताए । उत्पादन सुरु भएपछि र स्थानीय खेतीमा आकर्षित भएपछि चिया खेती उपभोक्ता समूह बनाएर चिया बगान नै उनीहरूलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको शर्माको भनाइ छ । अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन लिन सकिने अपेक्षा गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण