पुष्पलाल मार्क्सवादी विश्वविद्यालय : सम्भावना र चुनौती
१) प्रस्तावना
यतिबेला हामी नेपालबाट मार्क्सवादी विश्वविद्यालयको आवश्यकता, सम्भावना र चुनौतीका विषयमा गम्भीर बहस गर्दै यसको स्थापना, अवधारणा निर्माण, पाठ्यक्रम तयारी र कार्यान्वयनको चरणमा छौँ । मार्क्सवादको निष्कर्ष हो– दुनियाँ बुझ्ने मात्र होइन, मुख्य काम यसलाई बदल्नु हो । मार्क्सवादका सङ्घटक अङ्गहरू दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादी विश्वविद्यालयका मुख्य खोज, अध्ययन, अनुसन्धान र प्रयोगका विषय हुन् ।
मालेमाको रक्षा प्रयोग र विकासमा हुन्छ । वर्गसमाजमा वर्गसङ्घर्ष अनिवार्य समाजविज्ञान हो । मार्क्सवाद वर्गसङ्घर्ष र उत्पीडित श्रमजीवी सर्वहारा वर्गको मुक्तिको विज्ञान हो । वर्गसङ्घर्षको मैदानबाट मार्क्सवादको विकास हुन्छ । मार्क्सवाद कुनै जडसूत्र होइन, यो विकसित समाज विज्ञान हो । यो श्रमिक–श्रमजीवी वा सर्वहारा वर्गको दार्शनिक, वैचारिक र राजनीतिक हतियार हो ।
विश्व सर्वहारा वर्गको मानवतावादी दर्शन मार्क्सवाद (मालेमावाद) को सुव्यवस्थित, सङ्गठित, एकत्रित बौद्धिक अध्ययन र त्यसको व्यवहारमा प्रयोगका लागि वातावरण निर्माण गर्नु नै मार्क्सवादी विश्वविद्यालयको उद्देश्य हो । समाजमा वर्ग रहेसम्म, वर्गविभेद कायम रहेसम्म, वर्गीय शोषण, उत्पीडन, जालझेल, षड्यन्त्र, अन्याय–अत्याचार रहेसम्म वर्गसङ्घर्ष कायम रहन्छ र वैज्ञानिक समाजवाद हुँदै समानतामूलक सभ्य, समुन्नत, राज्यविहीन समाज साम्यवाद स्थापना नभएसम्म मार्क्सवाद (मालेमा) को औचित्य, महत्व, आवश्यकता अपरिहार्य रहन्छ ।
त्यसैले मानवसभ्यताको विकासक्रममा वर्गसङ्घर्षबाट निर्मित यो नवीन दर्शन र विश्वदृष्टिकोण आम श्रमजीवी/सर्वहारा जनतासम्म पुग्नु आवश्यक छ । हरेक मानिसले वर्गसङ्घर्ष अर्थात् मार्क्सवाद ग्रहण गर्नु, समाज मुक्त नभएसम्म वर्गसङ्घर्षमा भाग लिइरहनु आवश्यक छ । वर्गसङ्घर्ष जीवनको अपरिहार्य आवश्यकता हो भन्ने विषय पाठ्यक्रमकै माध्यमबाट सुनिश्चित गरी व्यवस्थित अध्ययन–अध्यापन गराउनुपर्छ र यो जिम्मेवारी क्रमशः राज्यले ग्रहण गर्नुपर्छ । सबै शिक्षा र ज्ञान विशुद्ध आर्थिक लाभ र जीविकोपार्जनका लागि मात्र हुँदैनन् । विश्वमानव समाज र मूलतः श्रमजीवी वर्गको मुक्तिका लागि ज्ञान हासिल गर्ने विषय दैनिक जीविकाका लागि आर्जन गरिने ज्ञान र सीपभन्दा उच्च महत्वको हुन्छ । मार्क्सवादी विश्वविद्यालय त्यही उच्च लक्ष्यबोध गरेर सुरु गरिएको महत्वपूर्ण, ऐतिहासिक अभियान र आन्दोलन हो । यो कुनै एउटा पार्टीविशेष, व्यक्तिविशेष, समूहविशेष र देश वा भूगोलविशेषमा लक्षित नभएर समग्र मानवसमाजको मुक्तिसँग सम्बन्धित छ । कम्युनिस्ट अन्तर्राष्ट्रियहरू विघटित भइसकेको र नयाँ अन्तर्राष्ट्रिय निर्माणको प्रभावकारी पहल नभइरहेको अवस्थामा यसले अन्तर्राष्ट्रिय निर्माणका लागि पनि केही सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कम्युनिस्ट पार्टीहरूले, पार्टीभित्र र बाहिरका बौद्धिकहरूले, विश्वसमाजमा क्रियाशील श्रमिक, विपन्न, उत्पीडित तप्का, सर्वहारा वर्ग, वर्गसङ्घर्षमा सामेल क्रान्तिकारीहरू र सम्पूर्ण जनवर्गले आफ्नो मुक्तिको साधन मार्क्सवाद (मालेमा) बुझ्नु र व्यवहारमा रूपान्तरण गर्नु अर्थात् वर्गसङ्घषर्पमा भाग लिनु आवश्यक छ । यसका लागि कम्युनिस्ट पार्टी, नेता–कार्यकर्ता, बौद्धिक तप्कालाई तत्परता, गहनता, जिम्मेवारीबोध गर्नु–गराउनु यसको प्रथम चुनौती हो ।
मुक्ति आवश्यक रहेको वर्ग र समुदायलाई बोध गराइसकेपछि विश्वविद्यालय स्थापनाका लागि वातावरण निर्माण गर्नु आवश्यक छ । जनस्तरबाट आरम्भ गरिएको जनविश्वविद्यालय स्थापना अभियानका बारेमा मार्क्सवादका नामबाट राजनीतिक शक्ति हासिल गरेको र सरकारमा पुगेको पक्षलाई समेत बोध गराउने, विश्वविद्यालयलाई विद्यमान शोषणमूलक राज्यसत्तामा आमूल परिवर्तन गर्ने दार्शनिक, सैद्धान्तिक, राजनीतिक साधनका रूपमा विकास गर्ने, राज्यस्तरबाट समेत मान्यता/वैधानिकता दिलाउने, आवश्यक बजेट व्यवस्थापन/विनियोजन गराउने, प्राध्यापक/प्रशिक्षक, प्रशिक्षार्थी–विद्यार्थीहरू उपलब्ध गराउने, प्रचारप्रसार गर्ने–गराउने, भौतिक संरचना निर्माण गर्ने, मालेमाको सही, साझा पाठ्यक्रम निर्माण गर्ने, व्यवस्थित तहगत अध्ययन/अध्यापन गराउने, त्यसको सही बोध, उपयोग, प्रयोगमा जोड दिने, यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने, विश्वसमुदायबाट मालेमावादी प्रशिक्षक/प्रशिक्षार्थी निर्माण/आह्वान गर्ने, विभिन्न मुलुकहरूलाई सम्बन्धन दिएर मार्क्सवादको व्यवस्थित पठनपाठन र प्रयोगमा जोड दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिक्रियावादी, मार्क्सवादीवरोधी शक्तिहरू र विशेषतः साम्राज्यवादी विभ्रम, दमन र षड्यन्त्रबाट बचाउने चुनौतीको सामना/प्रतिरोध गर्नु पनि अपरिहार्य छ ।
आज विश्वकम्युनिस्ट आन्दोलन विभिन्न धारमा विभक्त छ । यो साम्राज्यवादका साथै सुधारवाद, संशोधनवाद र अवसरवादको सिकार बनेको छ । मार्क्सवादी विश्वविद्यालयले विश्व मानव समाजलाई मार्क्सवादबारे एउटै बुझाइ, एउटै धारणा निर्माण गर्न, विकसित सामाजिक अन्तरविरोधहरू हल गर्ने गरी समाज र परिवेशसापेक्ष कार्यदिशाहरू निर्माण/विकास गर्न र बलप्रयोगको सिद्धान्तसहित वर्गसङ्घर्ष सञ्चालन गरी त्यसलाई सफल पार्न ठूलो अवसर र सहजता प्रदान गर्नेछ । विश्वमै मार्क्सवादी जनमत व्यापक हुँदाहुँदै पनि सचेत पहलकदमीको अभावमा त्यो विभिन्न धारामा विभक्त बनेर अवसरवाद/संशोधनवादको सिकार बन्न विवश छ । मार्क्सवादमाथि बाह्य रूपमा भीषण आक्रमण त छँदैछ, अवसरवादी अतिक्रमण र आक्रमणले दर्शन र आन्दोलन नै गम्भीर प्रकारले क्षतविक्षत बने/बनाइएको छ । यसको सङ्गठित प्रतिरोध गर्न मार्क्सवादी विश्वविद्यालयले सङ्गठित शक्ति र हतियार प्रदान गर्नेछ ।
मार्क्सवादी अध्येताहरूका अनुसार मार्क्सवाद कुनै कोरा पन्थवाद होइन, यो त सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शन गर्ने एउटा क्रान्तिकारी सिद्धान्त हो । यसको महत्व खालि सिद्धान्त हुनुमा मात्र छैन, व्यावहारिक प्रयोगका सन्दर्भमा नै छ । किरण (२०६०ः५२) का अनुसार सर्वहारा क्रान्तिको विशाल प्रयोगशालाका भण्डारहरूबाट अनेकौँ सकारात्मक र नकारात्मक अनुभव एव्म शिक्षाहरू लिँदै यो विकसित र समृद्ध हुँदै जान्छ अनि आफ्नो परिपक्व उमेरमा यसले यो संसारबाट समग्र प्रतिक्रियावादी वर्ग र उसको विचारधारा तथा संस्कृतिलाई समेत विनाशको दुनियाँतिर धकेलिदिन्छ ।
मालेमाको रक्षा, प्रयोग र विकासका साथै नेकपाका संस्थापक महासचिव पुष्पलालका विचारहरूको सम्मान गर्दै उहाँकै नाममा मार्क्सवादी विश्वविद्यालय स्थापना गर्ने घोषणा गरिएको हो । विभिन्न कम्युनिस्ट र कम्युनिस्ट नामधारी पार्टीहरूले आआफ्नो पार्टीको कार्यदिशाअनुसारका पाठ्यक्रमहरू बनाएर केही न केही अध्ययन–अध्यापन गरिरहेका छन् । क्रान्तिकारी, मालेमावादी कम्युनिस्ट पार्टीहरूले क्रान्तिकारी र संशोधनवादी पार्टीहरूले सुधारवादी कार्यदिशा निर्माण गरेर त्यसै अनुकूलका पाठ्यक्रमहरू निर्माण गरी मार्क्सवाद भन्दै पढाइरहेको अवस्थामा श्रमिक जनतालाई सक्कली मार्क्सवाद अर्थात् मालेमाको अध्ययन/अध्यापन गर्ने/गराउने र प्रयोगसमेत गर्न सिकाउने आमूल परिवर्तनको एउटा साझा उद्देश्यसहितको विश्वविद्यालयको आवश्यकता महसुस गरेर पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अवधारणा/प्रस्तावना निर्माण गरिएको हो ।
यो सङ्क्षिप्त अवधारणा/प्रस्तावना मालेमा पक्षधर शक्तिहरूका विचार, उद्देश्य र पाठ्यक्रमसँग बढी मेल खाने र त्यसैतर्फ आकर्षित/प्रेरित हुने कुरा सत्य हो । यसले विकासका नाममा मार्क्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो स्वार्थअनुकूल तोडमोड र संशोधन गर्ने संशोधनवादी, सुधारवादी वा अवसरवादी कार्यदिशा र शुद्धताका नाममा समाजको विकसित अन्तरविरोधको पहिचान नै गर्न नसक्ने र मालेमालाई वेद, कुरान, बाइबल वा धर्मशास्त्रजस्तो दुरुस्तै प्रयोग गर्ने बहानामा विकास पनि नगर्ने र प्रयोग गर्नबाट पन्छिने जडसूत्रवादी, कठमुल्लावादी वा विशुद्धतावादी कार्यदिशा दुवै मालेमाको रक्षा, प्रयोग र विकासका बाधक हुन् । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले समाजलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी वैज्ञानिक दृष्टिले अध्ययन गर्न, मार्क्सवादी विश्वदृष्टिकोण निर्माण गर्न र मालेमाको सही प्रयोग गर्ने वातावरण निर्माण गर्छ अर्थात् संसारभर छरिएर रहेका उत्पीडित, मुक्तिप्रेमी, प्रगतिशील, क्रान्तिकारीहरूलाई असली मार्क्सवादी लेनिनवादी माओवादी बन्न र दर्शनलाई व्यवहारमा प्रयोग गर्न वा वर्गसङ्घर्षमा रूपान्तरण गर्नसक्ने बनाउँछ ।
२) वर्तमान सन्दर्भ
हामी ४७ औँ पुष्पलाल स्मृति दिवस मनाउने क्रममा छौँ । गतवर्ष अर्थात् २०८१ सालभरि हामीले पुष्पलाल जन्मशताब्दी वर्ष विभिन्न सिर्जनात्मक र वैचारिक काम गरेर मनायौँ । उहाँको जन्मशताब्दीको अवसर पारेर उहाँ जन्मिएको जिल्ला रामेछापका सिर्जनानगर, मन्थली, कठजोर र जन्मस्थल भँगेरीमै हामीले मार्क्सवादी विश्वविद्यालयको अवधारणामा छलफल र बहस गर्दै घोषणा गर्यौँ र यसको आवश्यकता र औचित्यमाथि बहस गर्दै एउटै मत निर्माण गर्यौँ– आज नेपाली समाजका लागि मात्र नभएर विश्वकै उत्पीडित मानव जातिको मुक्तिका लागि मार्क्सवाद एक मात्र अचुक दर्शन, विचार, राजनीति हो र मानव जातिले विश्वविद्यालयकै स्तरबाट यसको गम्भीर र व्यापक अध्ययनका साथै यसलाई व्यवहारमा प्रयोग गर्नुपर्छ । मार्क्सवादको प्रयोग भनेको वर्गसङ्घर्ष हो ।
समाजका विकसित वा परिवर्तित अन्तरविरोधहरूको सूक्ष्म र व्यापक अध्ययन गरी कार्यदिशा, कार्यक्रम, सङ्घर्षको विकास गर्नु अर्थात् मालेमाको सही प्रयोग गर्नुमा मार्क्सवादको रक्षा र विकासको अर्थ रहन्छ । आवश्यकता र औचित्य प्रमाणित गरिसकेर सोही निष्कर्षका आधारमा हामीले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको सम्भावना र चुनौतीहरूका विषयमा नेपालका सम्पूर्ण वामपन्थी/कम्युनिस्ट पार्टी र बौद्धिक वर्गका बीचमा यो बृहत् विचारगोष्ठी आयोजना गरिरहेका छौँ । नयाँ विचार, प्रस्तावना, कार्यक्रम एक खास व्यक्ति/समूह/समुदायबाटै आरम्भ र सुरुआत हुने हो । साझा मत र आवश्यकता बनेपछि नै त्यसले विचार र वादको स्वरूप ग्रहण गर्ने हो । त्यसैले यो अभियान श्रमिक, श्रमजीवी, सर्वहारा वर्गको साझा उद्देश्यलाई केन्द्रमा राखेर गरिएकाले यो छिट्टै साझा चासो, सरोकार र आवश्यकताको विषय बन्नेछ भन्ने विश्वास हामीलाई छ ।
३) मार्क्सवाद र कम्युनिस्ट आन्दोलन
मार्क्सवाद सर्वहारा वर्गको क्रान्तिको विज्ञान हो । समग्र कम्युनिस्ट आन्दोलन सम्पूर्ण मानव जातिमाथि हुने सबै प्रकारका दमन, शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र भेदभावपूर्ण मानव सम्बन्धको अन्त्य गरी वर्गविहीन, शोषणविहीन र राज्यविहीन पूर्ण समानता तथा वैज्ञानिक र उच्च संस्कारयुक्त सभ्य, समुन्नत मानवसमाज साम्यवादी समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालित वर्गसङ्घर्ष हो र यसले मार्क्सवाद अर्थात् मालेमालाई आदर्श बनाएर निरन्तर क्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुर्याउँछ ।
साम्यवादी समाज नै त्यस्तो समाज व्यवस्था हो जहाँ सम्पूर्ण मानवजातिले भौतिक, वैचारिक, राजनीतिक, नैतिक, कानुनी आदि कुनै अवरोधबिना पूर्ण स्वतन्त्रता, समानता, सम्पन्नता र उच्चतम सभ्य संस्कृतिको उपयोग गरी जीवनयापन गर्दछ । यो अवधारणा/प्रस्तावना र पहल त्यही उत्कृष्ट र सभ्य, सापेक्ष रूपमा पूर्ण समानतामा आधारित साम्यवादी समाज निर्माणका लागि गरिएको इमानदार प्रयत्न हो ।
नेपाल र संसारकै सन्दर्भमा मार्क्सवाद–लेनिनवाद–माओवादको आलोकमा विगतमा भएका क्रान्ति, युद्ध, जनआन्दोलन, विद्रोहहरूबाट प्राप्त शिक्षा, हकअधिकारको रक्षा गर्दै श्रमिक सर्वहारा वर्गको नेतृत्वमा वैज्ञानिक समाजवादी जनक्रान्तिका माध्यमबाट जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवाद निर्माण गरेर साम्यवादी समाजमा पुग्न सकिन्छ । सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद अर्थात् साम्यवादको पूर्वावस्था निर्माणको नेतृत्व गर्नुपर्दछ र साम्यवादसम्म लग्नुपर्दछ ।
नेपालजस्तो पिछडिएको अर्धसामन्ती, अर्धऔपनिवेशिक हुँदै नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था भएको समाजमा वैज्ञानिक समाजवादी जनक्रान्तिले नै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्दै श्रमिक सर्वहारा वर्गको नेतृत्वमा निरन्तर क्रान्तिको प्रक्रियाबाट त्यो उद्देश्य पूरा गर्नेछ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालय यही कार्यभारलाई केन्द्रमा राखेर अघि बढ्नेछ ।
मानवसभ्यताको इतिहासमा मानव जातिले प्रकृतिसँगको सङ्घर्ष, वर्गसङ्घर्ष, उत्पादनसम्बन्धी सङ्घर्ष र वैज्ञानिक अनुसन्धान तथा प्रयोगका क्रममा अद्यावधि आर्जित ज्ञान र अनुभवका आधारमा संश्लेषित दर्शन एवम् विचार र सिद्धान्तको आलोकमा नै त्यस्तो सर्वोत्तम समाज–व्यवस्थाको स्थापना, सुदृढीकरण र विकास गर्नसक्छ र गर्नसक्नेमा हामी विश्वस्त छौँ । त्यसका लागि प्रकृति, जीवन जगत्को गहन अध्ययन र विश्लेषण, इतिहासको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी व्याख्या, सामाजिक–आर्थिक प्रणालीको वस्तुपरक विश्लेषण, समसामयिक राजनीतिक स्थिति र राजनीतिक शक्तिहरूको ठोस विश्लेषण अपरिहार्य हुन्छ ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई आत्मसात गर्दै वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोग गर्दै अध्ययन–अनुसन्धान र प्रयोगबाट प्राप्त अनुभवलाई सिर्जनात्मक रूपमा व्याख्या, विश्लेषण र संश्लेषण गरेर नै कम्युनिस्ट पार्टी र श्रमिक सर्वहारा वर्गले त्यो कार्यभार पूरा गर्नसक्छ । मार्क्सवाद–लेनिनवाद–माओवादले त्यो उच्चतम चिन्तनको प्रतिनिधित्व गर्दछ । यसको आलोकमा हामीले अहिलेसम्मको वर्गसङ्घर्ष, उत्पादनसम्बन्धी सङ्घर्ष, वैज्ञानिक अनुसन्धान र प्रयोगका क्रममा आर्जित ज्ञान र अनुभवलाई ग्रहण र आत्मसात गर्न सक्छौँ र समाजलाई त्यो दिशामा अगाडि बढाउन सकिन्छ भन्ने पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अवधारणा र दृष्टिकोण रहेको छ ।
वर्गसङ्घर्षको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी श्रमिक सर्वहारा वर्गको सबैभन्दा उच्चस्तरको सङ्गठित राजनीतिक–वैचारिक अग्रदस्ता हो । कम्युनिस्ट पार्टी मुख्य र एक मात्र आमूल परिवर्तन पक्षधर क्रान्तिकारी शक्ति भए पनि विद्यमान अर्थसामाजिक अवस्थाका कारण वैचारिक, सैद्धान्तिक, व्यावहारिक विचलन एवम् गैरसर्वहारावर्गीय चिन्तन र दृष्टिकोणहरू पैदा भइरहने खतरा विद्यमान छ र ती गैरसर्वहारा चिन्तन र व्यवहारहरूलाई शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण गर्नका लागि व्यवस्थित रूपमा, व्यवस्थित अध्ययन र व्यवहारमा प्रयोगको कामलाई निरन्तरता दिएर मात्र श्रमिक वर्ग र कम्युनिस्ट पार्टीहरूलाई सिद्धान्तनिष्ठ, एकताबद्ध र लडाकु तथा क्रान्तिकारी बनाउन सकिन्छ ।
साथै असल कम्युनिस्ट निर्माण गर्न, कम्युनिस्टको बुझाइमा एकरूपता कायम गर्न र वर्गसङ्घर्षमा निरन्तर लामबद्ध भइरहने वैचारिक–भौतिक शक्ति तयार पार्नका लागि श्रमिक वर्गलाई मार्क्सवाद (मालेमा) का आधारभूत हुँदै उच्च स्तरमा सिद्धान्त र नियमहरूको ज्ञान हुनु अत्यावश्यक छ । श्रमिक सर्वहारा वर्गलाई लाल र निपुणमा रूपान्तरण गर्न आवश्यक छ । यसका लागि मार्क्सवादको समग्र अध्ययन र प्रयोग आवश्यक छ । यही महत्वपूर्ण कामलाई व्यावहारिक रूप दिने पहिलो प्रयत्न हो पुष्पलाल मार्क्सवादी विश्वविद्यालय । विश्वविद्यालयको प्रमुख उद्देश्य आम श्रमिक सर्वहारा वर्ग, मुख्यतः किसान, मजदुर, श्रमिक महिला, दलित, विपन्न, युवा, किशोर, विभिन्न पार्टीमा आबद्ध नेता–कार्यकर्ता, बुद्धिजीवी–बौद्धिक समुदायको वैचारिक, सैद्धान्तिक एवम् व्यावहारिक रूपान्तरणका लागि पाठ्यक्रमसहित निरन्तर व्यवस्थित अध्ययन–अध्यापन गराउनु र त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने वातावरण निर्माण गर्नु हो ।
विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध नेता–कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुकसहित सबै स्तरका नेतृत्वकारी तप्का, आम सदस्य र रूपान्तरणको आन्दोलनमा लामबद्ध पङ्क्तिमा रहेका गैरसर्वहारा, गैरकम्युनिस्ट चिन्तनलाई हटाई सर्वहारा वर्गीय चिन्तन तथा दृष्टिकोणबाट शिक्षित तथा प्रशिक्षित गर्नु पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको पहिलो कर्तव्य हो । विश्वविद्यालयीय अध्ययनबाट नेपाल र अझ विश्वभर सक्कली मालेमावादी वैचारिक–भौतिक शक्ति निर्माण हुने र विद्यमान असमान र विभेदपूर्ण, सामन्तवादका अवशेषसहितको प्रतिक्रियावादी, पुनरुत्थानवादी, अवसरवादी, नवऔपनिवेशिक पुँजीवादी, साम्राज्यवादी चिन्तन, प्रवृत्ति र प्रभावबाट मुक्त भएर मालेमा पक्षधर सुन्दर मानवसभ्यता र समाजको निर्माण गर्ने शक्ति, पङ्क्ति निर्माण हुनेमा हामी विश्वस्त छौँ । वर्गसमाजमा वर्गहरूको अन्त्यका लागि वर्गसङ्घर्षको अनिवार्यता, निरन्तर क्रान्तिको आवश्यकता र औचित्वबोध गरी आफ्नो अध्ययनलाई वर्गसङ्घर्षमा लगाउने र वैज्ञानिक समाजवाद हुँदै सुन्दर मानवसभ्यता अर्थात् साम्यवादी समाजसम्म समाजलाई पुर्याउन लाग्नेमा हाम्रो दृढ विश्वास छ ।
४) अन्तर्राष्ट्रिय आयाम
माक्र्सको महानता नै केमा छ भने प्रगतिशील मानवतासमक्ष रहेका प्रश्नको सही उत्तर दिनुभएको छ । दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका महानतम् प्रतिभाहरूको शिक्षाको प्रत्यक्ष र सन्निकट क्रमका रूपमा उहाँको सिद्धान्तको प्रादुर्भाव भएको हो । यो सर्वशक्तिमान, सत्य, सम्पूर्ण र सुसङ्गत छ । यसले मानिसहरूलाई विचारधारा प्रदान गरेको छ । यो कुनै पनि अन्धविश्वास, प्रतिक्रियावाद र पँुजीवादी उत्पीडनको घोर विरोधी छ ।
मार्क्सवाद संसारलाई बुझ्ने र व्याख्या गर्ने विषय मात्र होइन, मुख्य रूपले संसारलाई नै बदल्ने विज्ञान हो । माक्र्सले नै भन्नुभयो– दार्शनिकहरूले संसारको विभिन्न तरिकाले व्याख्या गरेका छन् तर मुख्य कुरा त यसलाई बदल्नु हो । मार्क्सवाद स्वयम् माक्र्स र एङ्गेल्सको दृष्टिमा कुनै जडसूत्र होइन, बरु कामकाजका लागि पथप्रदर्शन (गाइड) हो । लेनिनले पनि मार्क्सवाद कुनै निर्जीव जडसूत्र वा पूर्णतया बनिबनाउ र अपरिवर्तनीय सिद्धान्त नभएर कामकारबाहीका लागि जीवन्त निर्देश रहेको बताउनुभएको छ । माओको भनाइ पनि यसभन्दा पृथक् देखिँदैन तर यसको अर्थ मार्क्सवाद आफूखुसी, आफ्नो स्वार्थ वा अनुकूलतामा तोडमोड र संशोधन वा सुधार गर्ने विषय पनि होइन । असली मार्क्सवादीहरूले समाजको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी तरिकाले विश्लेषण/संश्लेषण गरी मालेमाको सिर्जनशील प्रयोग गर्छन् र गर्नुपर्छ ।
आजसम्मको मानवसमाजको विकास वर्गसङ्घर्षको परिणाम हो । आज पनि संसारभर विभिन्न रूपमा वर्गसङ्घर्ष जारी छ । छिमेकी मुलुक भारतमा ठूल्ठूला क्षति बेहोर्दै वर्गसङ्घर्ष जारी छ भने समाजवाद स्थापना भएर साम्राज्यवाद तथा अवसरवादको चङ्गुलमा फसेका रुसी, चिनियाँ, पूर्वी युरोपेली, अमेरिकी, अफ्रिकी र एसियाली समाजहरूमा पनि वर्गसङ्घर्ष जारी छ । विगतमा समाजवादको अभ्यास भएका कतिपय देशहरू अझै पनि समाजवादको भ्रूण टिकाउने प्रयत्नमा छन् भने अन्य मुलुकहरूमा वर्गसङ्घर्षका विभिन्न स्वरूपहरू जारी छन् । नेपालमा टुट, फुट, विभाजन र अन्ततः एकता र ध्रुवीकरणका माध्यमबाट भिन्न स्वरूपमा वर्गसङ्घर्ष जारी छ । वर्गसङ्घर्ष जारी रहनुको मूल कारण समाज वर्गविभक्त हुनु र मार्क्सवाद अजेय हुनुको परिणाम हो । मार्क्सवाद मानव मुक्तिको दर्शन हो । मानवसमाज असमानता, विभेद, शोषण, दोहनबाट मुक्त नभएसम्म वर्गसङ्घर्ष जारी रहनेछ ।
विभिन्न किसिमका अध्ययन र प्रयोगबाट प्राप्त हुने वैज्ञानिक चिन्तनको क्रान्तिकारी रूपान्तरण गर्न व्यवस्थित, योजनाबद्ध र नियमित रूपमा प्रयत्न गर्नु आवश्यक छ । क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित क्रान्तिकारी व्यवहार मात्र फलदायी तथा प्रभावकारी हुनसक्ने तथ्यलाई ध्यानमा राखेर त्यसतर्फ प्रेरित हुनेतर्फ तल्लीन हुन सबैको ध्यान जान आवश्यक हुन्छ । वैचारिक रूपान्तरण र त्यसलाई व्यवहारमा प्रयोगको प्रक्रियालाई क्रान्तिकारी व्यवहारसँग गाँस्नु मार्क्सवादी विश्वविद्यालयको अभीष्ट हो । वैचारिक रूपान्तरणको प्रक्रिया निरन्तर चल्ने प्रक्रिया हो । यसलाई नियमित र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न यो विश्वविद्यालय निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । विश्वविद्यालयको वैचारिक अध्ययनलाई क्रमशः (१) आधारभूत तह (२) माध्यमिक तह र (३) उच्च तह गरी तीन तहमा विभाजित, वर्गीकृत वा व्यवस्थित गर्न सकिन्छ । समग्रमा भने यो मार्क्सवादी विश्वविद्यालय नै हो । प्रत्येक तहका लागि अन्तरसम्बन्धित शृङ्खलाबद्ध छुट्टाछुट्टै पाठ्यक्रम आवश्यक पर्छ । तहगत अध्ययन अध्यापनका क्रममा प्रशिक्षार्थीको चेतना, दृष्टिकोण, व्यावहारिक अनुभव र बुझाइको स्तरको मापन हुनु आवश्यक छ । यसका लागि सर्वप्रथम एउटा आधारभूत पाठ्क्रम तय गरी त्यसबाट प्रशिक्षार्थीहरूको वर्गीकरण गर्नु आवश्यक हुन्छ । हामी त्यो प्रयत्नमा छौँ । यो त्यसैको पहिलो प्रयास हो ।
५) प्रयत्नहरू
नेपालमा र सम्भवतः विश्वमै प्रथमपटक मार्क्सवादी विश्वविद्यालयको आवश्यकतासम्बन्धी औपचारिक अवधारणा पारित गरिएको छ । नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको जन्मजिल्ला रामेछापमा पुष्पलाल जन्मशताब्दीका अवसरमा मार्क्सवादी विश्वविद्यालय निर्माणको आवश्यकता र औचित्यको अवधारणा पारित गरिएको हो । पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समिति २०८०–२०८१ र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान २०६३ को आयोजनामा रामेछापका भँगेरी, कठजोर, सिर्जनानगर र मन्थलीमा आयोजित ‘नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल–गङ्गालाल र पुष्पलालका योगदानहरू’ विषयक बृहत् विचारगोष्ठी, कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणसम्बन्धी विचारगोष्ठीका अवसरमा नेपालबाट मार्क्सवादी विश्वविद्यालयको अवधारणा पारित गर्ने र यसको सञ्चालनका लागि पहल गर्ने निर्णय भएको हो ।
यसअघि पनि श्रमिक कम्युनिस्ट पार्टी नेपाल, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, मार्क्सवादी साहित्य प्रतिष्ठान, रामेछाप साहित्य प्रतिष्ठान, राष्ट्रियता र जनगणतन्त्रका लागि सिर्जनाअभियान लगायत पार्टी, संस्था र अभियानहरूका माध्यमबाट मार्क्सवाद र पुष्पलालका योगदानका विषयमा २०५४ सालदेखि निरन्तर वैचारिक बहस, छलफल र प्रकाशनहरू आएका छन् । यो त्यसैको पछिल्लो कडी हो । पुष्पलाल जन्मशताब्दी समारोह समिति र पुष्पलाल अध्ययन समाजले पनि पुष्पलाल जन्मशताब्दीका अवसरमा देशभर वैचारिक गोष्ठी आयोजना गर्दै आएका छन् । ती कार्यक्रमहरूले पनि यो अभियानलाई सकारात्मक रूपमा प्रेरित गरेका छन् ।
६) विस्तार
रामेछाप साहित्य प्रतिष्ठान, मार्क्सवादी साहित्य प्रतिष्ठान, हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान २०६३ लगायत सङ्घसंस्थाको पहल र नेपाल कम्युनिस्ट पार्टीको क्रान्तिकारी धारसहितको संलग्नता र सहयोगमा दुई दशकदेखि नै पुष्पलाल–गङ्गालाल र कृष्णलालको जन्मथलोमा साहित्यिक, वैचारिक, सांस्कृतिक यात्रा हुँदै आएको छ । २०६३ सालबाट आरम्भ भएको प्रतिष्ठानको रामेछाप र विशेषतः तीन लाल केन्द्रित वैचारिक यात्रामा कृष्णलाल अधिकारीले मकैको खेती पुस्तकका माध्यमबाट राणाशासकहरूको अत्याचार र क्रूरताका विरुद्ध धावा बोलेर १९८० सालमा बलिदान स्वीकार गरेको, गङ्गालाल श्रेष्ठले सङ्गठित रूपमै राणाशासनका विरुद्ध विद्रोह बोलेर १९९७ सालमा छातीमा गोली थापी गौरवपूर्ण सहादत प्राप्त गरेको र पुष्पलालले पहिला नेपाली राष्ट्रिय काङ्ग्रेसका माध्यमबाट, २००५ सालमा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र र माओ त्सेतुङद्वारा प्रतिपादित नयाँ जनवादी क्रान्तिको अनुवाद र प्रचारका साथै २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी कम्युनिस्ट आन्दोलनका माध्यमबाट नेपालमा नयाँ जनवादी क्रान्तिमार्फत समाजवाद स्थापना गर्न त्याग, शौर्य र बलिदान रोजेको विषयमा वैचारिक बहस हुने गरेको थियो । हालसम्म गङ्गालाल–पुष्पलाल जन्मस्थल भँगेरी, कृष्णलाल जन्मस्थल कठजोर र शिवलाल–चन्द्रलाल–हितप्रसाद जन्मस्थल–जूनमाया सुवेदीको कर्मस्थल सिर्जनानगर हुँदै काठमाडौँका साथै देशका विभिन्न स्थानमा राजनीतिक, वैचारिक, साहित्यिक, सांस्कृतिक व्यक्तित्व र सर्वसाधारण गरी दसौँ हजारले यस बहसमा भाग लिइसकेका छन् । २०५४ सालदेखि आरम्भ भएको अभियानकै क्रममा २०६५ सालमा मार्क्सवादी साहित्यकार र राजनीतिज्ञहरूले रामेछाप, भँगेरी र सिर्जनानगरलाई कम्युनिस्टहरूको विचार र आस्थाको प्रवद्र्धनको केन्द्र अर्थात् मार्क्सवादीहरूको ‘मक्कामदिना’ बनाउने उद्घोष गरेका थिए । हरेक वर्ष जनआन्दोलन दिवस चैत २४ देखि २६ सम्म हुने भँगेरी, सिर्जनानगर र कठजोर यात्राका क्रममा स्रष्टाहरूबाट महान् व्यक्तित्वहरूको जन्मस्थलको दुर्दशा देखेर पश्चाताप गर्दै र सम्भावना व्यक्त गर्दै विचार र धारणाहरू राख्ने गरेका थिए । यी संस्थाहरूको पहलमा लालभूमिको यात्रा र वैचारिक बहस सम्बन्धमा पत्रिका, पुस्तक, नियात्रा, संस्मरण, लेख, प्रतिवेदन, वृत्तचित्र, चित्रहरू तथा सालिकसमेत निर्माण भएका छन् । २०७० साल माघ २३–२८ सम्म एक साता लगाएर प्रतिष्ठानकै लगानी र पहलमा भँगेरीमा गङ्गालाल र पुष्पलालको सालिक निर्माण गरिएको छ भने कठजोरमा कृष्णलाल जन्मस्थलमा सालिक र उद्यान बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । निरन्तर अभियानकै परिणामस्वरूप राज्य स्तरबाट पुष्पलाल–गङ्गालाल जन्मस्थलमा ५२ रोपनी जग्गा अधिग्रहण गरी पुष्पलाल उद्यान निर्माण सुरु गरिएको छ । २०८१ साल साउन १५ गते पुष्पलाल जन्मशताब्दीकै अवसरमा तत्कालीन श्रमिक कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समिति (हाल समाजवादी कम्युनिस्ट पार्टी नेपाल) को आयोजनामा बुटवलमा पुष्पलालका विचारकेन्द्रित विचारगोष्ठी आयोजना गरिएको थियो भने पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समिति तथा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा २०८१ साल चैत २३, २४ र २५ गते रामेछापमा ११ भन्दा बढी कम्युनिस्ट/वामपन्थी पार्टीहरू, वामपन्थी बौद्धिक व्यक्तित्वहरूको सहभागितामा ‘नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल, पुष्पलालका योगदानहरू’ विषयक बृहत् विचारगोष्ठी आयोजना गरी पुष्पलाल–गङ्गालालको सालिक अनावरण गर्नुका साथै पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापनाको सैद्धान्तिक अवधारणा पारित गरिएको छ । यो बृहत् विचारगोष्ठी त्यसैको निरन्तरता र उत्कर्ष हो ।
७) उत्कर्ष
काल्पनिक समाजवादका प्रवर्तक रबर्ट ओवेनले निजी सम्पत्तिका बारेमा ‘नयाँ नैतिक संसार’ नामक कृतिमा भनेका रहेछन्ः निजी सम्पत्ति मानिसका निम्ति अनन्त अपराध र दुःखको कारण रहेको छ जो आजसम्म पनि छ । निजी सम्पत्तिले मनलाई मनबाट अलग पार्छ । त्यो सम्पूर्ण समाजमा घिनलाग्दो काम–कारबाहीको एक स्थायी कारण हो । वास्तवमा निजी सम्पत्ति नै मानिस–मानिसका बीचमा धोखेबाजी र जालसाजीको अविरल स्रोत हो र महिलाहरूका बीचमा वेश्यावृत्तिका निम्ति एक बलियो प्रेरणा पनि हो ।
काल्पनिक वा वैज्ञानिक समाजवादीहरूले निजी सम्पत्तिको पूर्ण उन्मूलन हुनुपर्ने अर्थात् उत्पादनका साधन वा सम्पत्तिमाथि समाजको वा जनसमुदायको सामूहिक स्वामित्व हुनुपर्नेमा जोड दिएका छन् । वर्गसङ्घर्षकै बीचमा समाजवादी कालमा यो स्वामित्व राजकीय भूमिका र स्वामित्वमार्फत जनतामा हस्तान्तरण हुँदै जान्छ र विश्वस्तरमै यो प्रक्रियाको पूर्णतासँगै साम्यवादी समाजको जन्म हुन्छ । त्यतिबेला न कसैको निजी सम्पत्ति रहन्छ, आवश्यक हुन्छ, न त कुनै वर्ग नै बाँकी रहन्छ । न शारीरिक श्रम र मानसिक श्रममा अन्तर गरिन्छ, न त गाउँ र सहरबीचमा कुनै भेद बाँकी रहन्छ । साम्यवादी समाजमा मानिस–मानिसबीचमा न कुनै लडाइँ–झगडा गर्नुपर्ने अवस्था रहन्छ, न कुनै अभाव र विभेद हुन्छ । न मानिसका मनमा लोभ, पाप, अहंकार र ढाँटछलको भावना बाँकी रहन्छ, न त राज्यसत्ता नै अस्तित्वमा रहन्छ । त्यस्तो स्वयम् शासित र आत्मचालित सभ्य, समृद्ध, उन्नत, सुन्दर र समानतामूलक समाज नै साम्यवादी समाज हो । मार्क्सवाद यो विभेदपूर्ण समाजलाई समानतामूलक समाजमा पुर्याउने दर्शन हो । साम्यवादी समाज सामान्य दृष्टिमा असम्भव र काल्पनिक लाग्नसक्छ तर मार्क्सवादी दृष्टिले विशेष रूपले हेर्नसक्ने हो भने यो पूर्ण सम्भव, वास्तविक, वस्तुवादी र वैज्ञानिक देखिन्छ । त्यसैले त रबर्ट ओवेन, चाल्र्स फुरिये, सेन्ट साइमनजस्ता काल्पनिक समाजवादका प्रवर्तकहरूदेखि कार्ल माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ, फिडेल क्यास्ट्रो, चे ग्वेभारा, हो ची मिन्ह, गोन्जालो, चारु, बसवराजलगायत अग्रज योद्धा लाखौँ–करोडौँ वैज्ञानिक समाजवाद र साम्यवादका प्रवर्तक–प्रवद्र्धकहरू दृढ विश्वासका साथ समर्पित भएर यस्तो समानतामा आधारित, वैज्ञानिक र न्यायपूर्ण समाज स्थापनाका लागि आजीवन लडे । कयौँ अग्रजले बलिदान रोजे । वर्गसङ्घर्ष र विशेषतः महान् जनयुद्ध र जनक्रान्तिका क्रममा नेपालमा मात्र दसौँ हजारको बलिदान भएको छ भने हजारौँ योद्धा बेपत्ता, घाइते र अङ्गभङ्ग भएका छन् । कतिपय मुलुकमा साम्यवादको प्रारम्भिक अवस्था समाजवाद स्थापना भयो । कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेको संशोधनवाद र सुधारवाद तथा साम्राज्यवादी षड्यन्त्र र अतिक्रमणका कारण समाजवादका आरम्भिक भ्रूणहरूमा समस्या देखापर्यो । कतिपय मुलुकमा अध्यापि साम्राज्यवाद र सबैखाले सुधारवाद–संशोधनवादसँग समाजवाद लडिरहेको छ । साम्राज्यवाद र सबै किसिमका अमानवीयतासँग लड्न र जित्नसक्ने एक मात्र विचार मार्क्सवाद रहेको प्रमाणित भइसकेको छ । समाजवादी सत्ता स्थापना र साम्यवादी समाज निर्माण नभएसम्म हजारौँ वर्षसम्म पनि लडिरहने विचार, दृढता र प्रतिबद्धताले नै सर्वहारा वर्गलाई सफलतासम्म पुर्याउनेछ । यो मार्क्सवाद अर्थात् मालेमावादको वैज्ञानिकता हो । मार्क्सवादी विश्वविद्यालयले नै साम्राज्यवाद तथा संशोधनवादसँग निरन्तर लड्ने दर्शन र विचारले युक्त ऊर्जा प्रदान गर्ने भएकाले नेपालमा मार्क्सवादका प्रचारक, कम्युनिस्ट पार्टीका संस्थापक, विचारक, सङ्गठक तथा इमानदार र त्यागी नेता पुष्पलालका नाममा मार्क्सवादी विश्वविद्यालय स्थापना हुनु आवश्यक छ । यही उद्देश्य परिपूर्ति गर्न र संसारभरका उत्पीडित वर्गलाई मालेमामा थप प्रतिबद्ध गराउन, निरन्तर ऊर्जा भर्न पुष्पलाल मार्क्सवादी विश्वविद्यालय अत्यावश्यक वैज्ञानिक प्रस्ताव र अवधारणा बनेको छ । यसलाई सफल पार्नु सम्पूर्ण सच्चा मालेमावादीहरूको कर्तव्य हो ।
पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र नेपालमा कम्युनिस्ट विचारका प्रवर्तक, प्रचारक तथा सङ्गठक हुनुहुन्छ । उहाँका दार्शनिक, वैचारिक, साङ्गठनिक, बौद्धिक, राजनीतिक, सांस्कृतिक लगायत बहुव्यक्तित्व छन् । मार्क्सवाद अर्थात् मालेमावाद नवऔपनिवेशिक पुँजीवाद, प्रतिक्रियावाद, यथास्थितिवाद, पुनरुत्थानवाद र सबै किसिमका दलाल व्यवस्था, अवसरवाद, संशोधनवादका विरुद्धको एक मात्र दर्शन, विचार र राजनीति हो । मार्क्सवाद अजेय विज्ञान हो । यसको विकास प्रयोगमा हुन्छ । मार्क्सवादको सही प्रयोग हुन नसक्नाले आज एकातिर साम्राज्यवाद र अर्कातिर संशोधनवादको वर्चस्व बढ्दै गएको भए पनि संसारका विभिन्न देशमा कहीँ उभार र डढेलोका रूपमा र कहीँ भुसको आगोका रूपमा मार्क्सवादको प्रयोग अर्थात् वर्गसङ्घर्ष सञ्चालन भइरहेको छ र हामी मार्क्सवादको सही प्रयोगका लागि यसको सुव्यवस्थित र वैज्ञानिक अध्ययन, खोज, अनुसन्धान र विकासको उद्देश्य राखेर मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव गर्दै यसलाई कार्यान्वयन गरिरहेका छौँ । नेपालमा यसको बहसले संसारभरका सही मार्क्सवादीहरूलाई एकै ठाउँमा ल्याउने हाम्रो विश्वास छ र आदर्शवादका विरुद्ध भौतिकवादी विचारको, साम्राज्यवादका विरुद्ध मार्क्सवादी विचारको विकास र प्रयोगमा यसले संसारको श्रमिक उत्पीडित वर्गलाई तयार पार्नेछ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, प्रचार, सङ्गठन र विकास गर्ने कमरेड पुष्पलालका साथै उहाँको विचारको सम्मान गर्दै उहाँका नाममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव गरिएको हो । पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दीका अवसरमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रारम्भिक अवधारणा र पाठ्यक्रमको खाकासमेत प्रस्तुत गरिएको छ ।
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय विश्व कम्युनिस्ट आन्दोलन अर्थात् मालेमाको एक अङ्ग होे । यो नेपाली श्रमजीवी र उत्पीडित वर्गको अग्रदस्ता वैचारिक अभियान हो । मार्क्सवाद–लेनिनवाद–माओवाद यसको मार्गदर्शक, सूक्ष्मदर्शक र दूरदर्शक हो । नेपालमा हामी यसको रक्षा, प्रयोग र विकासको प्रक्रियामा रहेका छौँ । निरङ्कुश जहानियाँ राणा शासन अर्थात् सामन्ती राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने उद्देश्यले पुष्पलालले गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीको स्थापना, किसान आन्दोलनहरू, कम्युनिस्ट आन्दोलनका विभिन्न पार्टी र तिनीहरूका अन्तरसङ्घर्ष र वर्गसङ्घर्षहरू, २०२८ सालको ऐतिहासिक झापा विद्रोह, २०३६ सालको विद्यार्थी–शिक्षक आन्दोलन, हरिबहादुर खड्गी, आजादलगायतको बलिदान, २०४२ सालको बमकाण्ड, २०४६ सालको जनआन्दोलन र विशेषतः संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको भूमिका, २०५२ साल फागुन १ गतेबाट आरम्भ भएर दसौँ हजारको बलिदान र देशको दुई तिहाइभन्दा बढी भूभागमा जनसत्ता सञ्चालन गर्न सफल दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध, २०६२–२०६३ को जनआन्दोलन, २०७१ सालबाट सुरु भएर २०७३ सालमा विकसित भई १२ जनाको बलिदानपछि २०७७ सालमा तीनबुँदे सहमतिसँगै समाप्त भएको एकीकृत जनक्रान्तिलगायत सम्पूर्ण आन्दोलन, सङ्घर्ष र बलिदान नेपालमा मार्क्सवादको प्रयोगका केही उदाहरण हुन् । यिनै सङ्घर्ष र बलिदानका क्षति, उपलब्धि र सिकाइहरूबाट नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढिरहेको छ र भारतलगायत विश्वका कयौँ मुलुकहरूमा मालेमावादी जनयुद्ध र विभिन्न प्रकारका वर्गसङ्घर्षहरू जारी छन् ।
मालेमावादी विज्ञानको अध्ययन, अनुसन्धान, अनुसरण र विकासको सट्टा पुरानै सत्ताको स्वार्थ, आफूभित्रै रहेको परम्परागत संस्कार र आदतको सिकार भएर क्रान्तिकारी विचार र पार्टीको विघटन हुने चुनौती बढेर गएको स्थितिमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले मार्क्सवादको रक्षा, विकास र प्रयोगको सुन्दर भविष्यको उद्घाटन गरेको छ । क्रान्तिकारी कार्यदिशा कार्यान्वयनको सट्टा निम्नपुँजीवादी आर्थिक आधारबाट पैदा हुने आत्मकेन्द्रित व्यक्तिवादका कारण मार्क्सवादी वा कम्युनिस्ट आन्दोलनमा अराजकता, अकर्मण्यता, अनुशासनहीनता, टुटफुट, निराशा र अल्छीपनाको विकासको खतरा पनि बढेको छ । वर्गसङ्घर्षबाट भन्दा विकसित विज्ञान र प्रविधिबाटै समाजवाद स्थापना हुने प्रयोगवादी वा आधुनिकतावादी विभ्रम पनि यदाकदा अस्तित्वमा रहेको पाइन्छ । समग्रमा भन्दा यी सबै विश्वदृष्टिकोणकै समस्या हुन् । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले संसारभरका कम्युनिस्ट आन्दोलनमा देखिएका यसप्रकारका समस्या समाधान गर्न ठूलो सघाउ पुर्याउनेछ ।
उल्लिखित समस्याको समाधान भनेको कम्युनिस्ट नेता र कार्यकर्ताको पुनःसंस्कार र पुनर्शिक्षण गर्नु नै हो । मार्क्सवादी कार्यदिशाअनुसार दर्शनलाई जनताबीच लैजानुपर्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आधारभूत ज्ञान र तदनुरूपको गतिशील बोध तथा व्यवहारबिनाको टपरटुइयाँ राजनीतिले कोही पनि वास्तविक कम्युनिस्ट बन्न सक्तैन । त्यसैगरी राजनीतिक अर्थशास्त्रको आधारभूत ज्ञानबिना द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नु भनेको जराबिनाको रूखको कल्पना गर्नुजस्तै हो । मार्क्सवाद अर्थात् वैज्ञानिक समाजवादको बोध नहुनु भनेको वर्गसङ्घर्ष र क्रान्तिबाट भाग्नु हो । कला र साहित्यका बारेमा नजान्नु भनेको जीवनरस र सौन्दर्यबोध नभएको उदास जिन्दगी बाँच्नु हो । त्यसैले मार्क्सवादको ज्ञान र प्रयोग आवश्यक छ ।
विश्वविद्यालयीय पाठ्यक्रमको अध्ययन, स्कुलिङ र प्रशिक्षण अन्तरसम्बन्धित भएर पनि फरक फरक कुरा हुन् । विश्वविद्यालयीय अध्ययन समग्र मार्क्सवाद (मालेमा) र कम्युनिस्ट जीवनको आधार खडा गर्ने दार्शनिक–वैचारिक जग निर्माण गर्ने विषय हो भने प्रशिक्षण त्यो आधारमा तयार भएका नेता तथा कार्यकर्तालाई पार्टीका समसामयिक निर्णयहरू लागू गर्नका खातिर दिइने सम्प्रेषण–तालिम हो । विभिन्न पार्टीमा प्रशिक्षणहरू त भइरहन्छन् तर विश्वदृष्टिकोणको बलियो आधारबिना अध्येता, नेता र कार्यकर्ताहरू धागो छिनेका चङ्गाजस्ता हुन्छन् । अन्ततः केही समयपछि उद्देश्यविहीन भएर धुलोमा पछारिने चुनौती आउँछ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको परिकल्पना र तयारी यसै खतराको सामना गर्ने र संसारलाई जित्ने बौद्धिक, क्रान्तिकारी योद्धा अर्थात् मालेमावादी दार्शनिक, अध्येताहरू, वैज्ञानिकहरू र क्रान्तिकारी लडाकूहरू जगैदेखि निर्माण गर्ने महान् अभियान हो र यो नेपालबाट आरम्भ भए पनि संसारभरि फैलिनेछ, यो यसकै पूर्वतयारी हो ।
कम्युनिस्ट आन्दोलन वा मार्क्सवादको उद्देश्य मानव जातिले मानव जातिमाथि गर्ने/ गर्दै आएका हरेक प्रकारका शोषणको अन्त्य गरी साम्यवादमा पुग्ने बनाइए पनि कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूमा विश्वदृष्टिकोण र इच्छाशक्ति भएन भने मालेमाको दर्शन, सिद्धान्त, आदर्श र महान् रक्तरञ्जित झन्डा धुलोमै लत्रनेछ । एउटा कम्युनिस्ट ‘तातै खाऊँ, जली मरूँ’ जस्तो अधैर्य र समयक्रममा परिवर्तन क्रमशः आफैँ हुन्छ भन्नेजस्ता अल्छी वा संशोधनवादी/नियतिवादी हुनै सक्तैन । कम्युनिस्ट त्यो हो जसले सफलता र असफलताबाट सिक्दै महान् उद्देश्यमा पुग्नका लागि अन्धकारमा पनि जूनकीरी बन्नुपर्दछ । क्षितिजमा देखिएको उज्यालोलाई धर्तीमा ओराल्न अध्ययन र अनुसन्धान गरिरहनुपर्दछ । कम्युनिस्ट बनिसकेपछि आफू त मुक्त भएकै हुनुपर्दछ र दुनियाँको मुक्तिबारे नै बढी मेहनत गर्नुपर्दछ । दुनियाँको मुक्ति सोच्नु र तदनुरूप आचरण गर्नु नै आफ्नो मुक्तिको सही मार्ग हो । यी समस्याहरूमाथि ध्यान दिएर नै सम्पूर्ण कम्युनिस्टले मार्क्सवादी विश्वविद्यालयमा भर्ना भएर भाग लिनुपर्छ, निरन्तर कक्षा सञ्चालन गर्नुपर्छ र त्यसलाई व्यवहारमा प्रयोग गर्नुपर्छ । मालेमालाई व्यवहारमा प्रयोग गर्नु भनेको वर्गसङ्घर्ष अघि बढाउनु हो । मार्क्सवादी विश्वविद्यालयले अनिवार्य यो सर्त पूरा गर्नुपर्दछ ।
८) विश्वविद्यालयको योजना तथा कार्यक्रम
क) मालेमावादी दर्शन, सिद्धान्त संसारभरका मालेमा पक्षधर, अध्येता, नेता, कार्यकर्ता र जनतासम्म स्थापित गर्ने, मूलतः औपचारिक अध्ययनका साथै स्वाध्ययनमा प्रेरित गर्ने र गतिशील एवम् सिर्जनशील बनाउने ।
ख) समाजवादी क्रान्तिमा प्रतिक्रान्ति हुनु र माओ त्सेतुङको मृृत्युपछि र भियतनाम युद्धमा अमेरिकाले शर्मनाक हार .खाएपछि पनि दुनियाँमा विजयको सन्निकट क्रान्तिहरू एउटा पनि सफल नहुनुका कारणहरूको अध्ययन–अनुसन्धान गर्दै सही विचारको विकास र प्रयोग गर्ने ।
ग) विज्ञान र प्रविधिमा भएको विकास, नवऔपनिवेशिक, साम्राज्यवादी, वित्तीय पुँजीको भूमण्डलीकरण, साम्राज्यवादी नवउदारवाद, उत्तरआधुनिकतावाद, चरम उपभोक्तावादी व्यक्तिवाद, मौसम परिवर्तन, नेपाली समाजको नयाँ वर्गविश्लेषण, दक्षिण अमेरिकाको बोलिभारियन समाजवाद, चीन, जनगणतन्त्र कोरिया र क्युबाको ‘समाजवादी शासन’ आदिको अध्ययन, विश्लेषण, संश्लेषण गर्नुका साथै अध्येता, पार्टी र नेतृत्वलाई प्रचूर सामग्री उपलब्ध गराउने, कार्यकर्तादेखि नेतासम्म र श्रमिक सर्वहारा वर्गलाई अध्ययन, वर्गसङ्घर्ष र निरन्तर क्रान्तिको भोक जगाइदिने । श्रमप्रति विश्वास बढाउने ।
घ) अध्ययनको सजिलोका लागि माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ, फिडेल क्यास्ट्रो, हो ची मिन्ह, चे ग्वेभारा, चारु मजुमदार हुँदै वसवराजसम्मका विचार, आदर्श, उहाँहरूका सिर्जनशील शिष्यहरू तथा प्रयोगकर्ताहरूका सक्कली रचनाहरू दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, प्रकृति विज्ञान, सौन्दर्यशास्त्रलगायत विषयमा वर्गीकरण गरी सङ्कलन गर्ने, विज्ञ अनुवादकहरूलाई नेपालीमा अनुवाद गर्न लगाउने, अन्य भाषाका अध्ययन सामग्रीहरूलाई पनि सकेसम्म सहज भाषामा अनुवाद गर्ने, प्रकाशकहरूलाई प्रकाशन गर्न प्रेरित गर्ने, प्रत्येक देशका कम्युनिस्ट पार्टी र तिनका र प्रकाशन विभागलाई साझा पाठ्यक्रम र पाठ्यपुस्तक बनाएर प्रकाशनको जिम्मा दिने र निरन्तर व्यवस्थित अध्ययन र प्रयोगमा जोड दिने ।
ङ) मालेमाको प्राथमिक, माध्यमिक र विश्वविद्यालयीय गरी तीन तहको पाठ्यक्रम, पाठय्पुस्तक र पाठ्यविधि तर्जुमा गर्ने तथा क्रमशः प्राथमिक पाठ्यभार एक वर्षको, माध्यमिक डेढ वर्षको र उच्च अर्थात् विश्वविद्यालय तहमा चार वर्षको बनाई संसारभरका मार्क्सवादका अन्वेषकहरूलाई अध्ययनका लागि आह्वान गर्ने, प्राध्यापक, विज्ञ, अनुभवी, अग्रजहरूद्वारा शिक्षित–दीक्षित गर्ने व्यवस्था र परीक्षा लिने । संसारका अन्य देश र विश्वविद्यालयहरूसँग पनि समन्वय गरी यसको विकास र विस्तार गर्ने । तयार भएको मार्क्सवादी जनशक्तिलाई नेपाल र संसारभर वर्गसङ्घर्षको उठान गर्ने जिम्मेवारीसहित दीक्षित गर्ने ।
च) प्रशिक्षित विद्यार्थीहरूलाई गाउँ, टोलसम्म प्रशिक्षार्थी प्रशिक्षकका रूपमा पुर्याउने र जनस्तरमा अध्ययनमण्डलीहरू तयार पारी अध्ययन गराउने । देशव्यापी स्थानीय स्तरमा प्राथमिक तहको पढाइ चलाइसकेपछि केन्द्रीय (विश्वविद्यालयीय) स्तरको अध्ययन अघि बढाएर थप जनशक्ति तयार पार्ने । अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षकहरू आपूर्ति गर्ने र प्रशिक्षार्थीहरू पनि भित्र्याउने ।
छ) पठनपाठनका लागि आवश्यकताअनुसार सम्बन्धित विषयका विज्ञहरूलाई सहयोग माग्ने, स्वपरिचालित हुने वातावरण निर्माण गर्ने । दीक्षित शक्तिलाई आवश्यकताअनुसार देशभित्र र बाह्य समाजमा पनि क्रियाशील हुने वातावरण तयार पार्ने । अन्तर्राष्ट्रिय भाइचारा निर्माण गर्ने र सीप, प्रविधि तथा ज्ञानको आदानप्रदान, सहयोग र प्रयोग गर्ने ।
ज) ‘मानिस र हतियारमा मानिसलाई प्राथमिकता देऊ, राजनीतिक कार्य र अन्य कार्यमा राजनीतिक कार्यलाई प्राथमिकता देऊ, विचारधारात्मक काम र तालिकाबद्ध राजनीतिक कार्यमा विचारधारात्मक कार्यलाई प्राथमिकता देऊ, किताबी दर्शन र जीवनदर्शनमा जीवनदर्शनलाई प्राथमिकता देऊ’ भन्ने मालेमावादी मान्यतालाई मार्गदर्शक बनाउने । दर्शनलाई पुस्तकालयबाट किसान–मजदुरका कार्यक्षेत्रमा पुर्याउन जोड दिने ।
८.१) प्रारम्भिक पाठ्यक्रम र पाठ्यपुस्तक
क) कम्युनिस्ट पार्टीका इच्छुक, शुभेच्छुक, पार्टी समर्थक सदस्य, पूर्ण सदस्य, सेल कमिटी सदस्य, जवस, मोर्चाका पदाधिकारीदेखि सदस्यहरूसम्मलाई मालेमावादको जग बसाउन आधारभूत ज्ञान हासिल गराउने र मार्क्सवादप्रति रुचि जगाउने ।
ख) मार्क्सवादी र गैरमार्क्सवादी, कम्युनिस्ट पार्टी र अरू पार्टीहरूका बीचको सम्बन्ध र भिन्नता छुट्ट्याउन सक्ने, कम्युनिस्ट पार्टी र ज.व.स. मोर्चाबीचको सम्बन्ध, सङ्गठन सञ्चालन पद्धति, अनुशासन, जनसम्बन्ध र जीवनशैलीबारे परिचय गराउँदै जीवनमा लागू गर्ने तहमा उठाउने ।
ग) कम्युनिस्ट पार्टीको इतिहास, तत्कालीन राजनीतिक कार्यदिशा र विधानको आधारभूत ज्ञान गराउने ।
घ) मालेमावादी सिद्धान्तलाई व्यवहारमा लागू गर्ने र गराउने ।
ङ) कम्युनिस्ट संस्कार, संस्कृति र आचरणलाई संरक्षण, संवद्र्धन र समृद्ध गर्दै जीवन व्यवहारमा लागू गर्ने ।
९) निष्कर्ष
विश्व–सर्वहारावादको मानवतावादी दर्शन मार्क्सवाद (मालेमावाद) को सुव्यवस्थित, सङ्गठित, एकत्रित बौद्धिक अध्ययन र त्यसको व्यवहारमा प्रयोगका लागि वातावरण निर्माण गर्नु नै पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको मूल उद्देश्य हो । समाजमा वर्ग रहेसम्म, वर्गविभेद कायम रहेसम्म, वर्गीय शोषण, उत्पीडन, जालझेल, षड्यन्त्र, अन्याय–अत्याचार रहेसम्म वर्गसङ्घर्ष कायम रहन्छ र वैज्ञानिक समाजवाद हुँदै समानतामूलक सभ्य, समुन्नत समाज साम्यवाद स्थापना नभएसम्म मार्क्सवाद (मालेमा) को औचित्य, महत्व, आवश्यकता अपरिहार्य रहन्छ । त्यसैले मानवसभ्यताको विकासक्रममा वर्गसङ्घर्षबाट निर्मित यो नवीन दर्शन र विश्वदृष्टिकोण आम जनतासम्म पुग्नु आवश्यक छ । हरेक मानिसले वर्गसङ्घर्ष अर्थात् मार्क्सवाद ग्रहण गर्नु वा समाज मुक्त नभएसम्म वर्गसङ्घर्षमा भाग लिइरहनु आवश्यक छ । वर्गसङ्घर्ष जीवनको अपरिहार्य आवश्यकता हो भन्ने विषय पाठ्यक्रमकै माध्यमबाट राज्यले समेत सुनिश्चित गरी अध्ययन–अध्यापन गराउनु पर्छ । कम्युनिस्ट पार्टीहरूले, पार्टीभित्र र बाहिरका आमूल परिवर्तनका पक्षधर बौद्धिकहरूले, विश्वसमाजमा क्रियाशील श्रमिक, विपन्न, उत्पीडित तप्का, सर्वहारा वर्ग, वर्गसङ्घर्षमा सामेल क्रान्तिकारीहरू र सम्पूर्ण जनवर्गले आफ्नो मुक्तिको साधन मार्क्सवाद (मालेमा) बुझ्नु र व्यवहारमा रूपान्तरण गर्नु आवश्यक छ । यसका लागि कम्युनिस्ट पार्टी, नेता–कार्यकर्ता, बौद्धिक तप्कालाई तत्परता, गहनता, जिम्मेवारीबोध गर्नु–गराउनु प्रथम चुनौती हो । मुक्ति आवश्यक रहेको वर्ग र समुदायलाई बोध गराउने क्रममा विश्वविद्यालय स्थापनाका लागि वातावरण निर्माण गर्नु आवश्यक छ । जनस्तरबाट आरम्भ गरिएको विश्वविद्यालय स्थापना अभियानलाई मार्क्सवादलाई माया गर्ने वा त्यही माध्यमबाट सरकारमा पुगेको शक्तिलाई बोध गराउने, विश्वविद्यालयलाई राज्यस्तरबाट मान्यता/वैधानिकता दिलाउने, आवश्यक बजेट व्यवस्थापन/विनियोजन गराउने, प्राध्यापक/प्रशिक्षक, प्रशिक्षार्थी–विद्यार्थीहरू उपलब्ध गराउने, प्रचारप्रसार गर्ने–गराउने, भौतिक संरचना निर्माण गर्ने, मालेमाको सही, साझा पाठ्यक्रम निर्माण गर्ने, व्यवस्थित तहगत अध्ययन/अध्यापन गराउने, त्यसको सही उपयोग, प्रयोगमा जोड दिने, यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने, विश्वसमुदायबाट मालेमावादी प्रशिक्षक/प्रशिक्षार्थी निर्माण/आह्वान गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिक्रियावादी, मार्क्सवादीवरोधी शक्तिहरू र विशेषतः साम्राज्यवादी विभ्रम, दमन र षड्यन्त्रबाट बचाउने चुनौतीको सामना/प्रतिरोध गर्नु पनि अपरिहार्य छ । आज विश्वकम्युनिस्ट आन्दोलन विभिन्न धारमा विभक्त छ । यो साम्राज्यवादका साथै पुनरुत्थानवाद–प्रतिक्रियावाद, सुधारवाद, संशोधनवाद र अवसरवादको सिकार बनेको छ । मार्क्सवादी विश्वविद्यालयले विश्व मानव समाजलाई मार्क्सवादबारे एउटै बुझाइ, एउटै धारणा निर्माण गर्न, समाज र परिवेशका अन्तरविरोधसापेक्ष कार्यदिशाहरू निर्माण गर्न र वर्गसङ्घर्ष सञ्चालन गरी त्यसलाई सफल पार्न ठूलो अवसर प्रदान गर्नेछ । विश्वमै मार्क्सवादी जनमत व्यापक हुँदाहुँदै पनि सचेत पहलकदमीको अभावमा त्यो विभिन्न धारामा विभक्त बनेर अवसरवादको सिकार बन्न विवश छ । मार्क्सवादमाथि बाह्य आक्रमण त छँदैछ, अवसरवादी अतिक्रमण र आक्रमणले दर्शन र आन्दोलन नै गम्भीर प्रकारले क्षतविक्षत बनेको छ । विश्वसाम्राज्यवाद संसारका उत्पीडित मुलुक, वर्ग र जनतामाथि क्रूरता, बर्बरता लादिरहेको छ । मार्क्सवादी विश्वविद्यालयले यी सबै समस्या र सीमाहरूबाट मुक्त गराई वैज्ञानिक समाजवाद हुँदै साम्यवादी समाजसम्म पुर्याउने ठूलो टेवा दिनेछ ।
(लेखक पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका परिकल्पनाकार हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण