बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गाईजात्रा

नयाँपुस्ताले धानेको गाईजात्रा, कहाँ हराए पुराना कलाकार ?

आइतबार, २५ साउन २०८२, १६ : २०
आइतबार, २५ साउन २०८२

सारांश

  • गाईजात्रा पर्वमा कलाकारका हास्यव्यङ्ग्य प्रस्तुति र 'मह' जोडीको योगदानबारे चर्चा गरिएको छ।
  • प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको गाईजात्रामा नयाँ पुस्ताका कलाकारको सहभागिता बढेको छ, पुराना कलाकार घट्दै छन्।
  • पुराना कलाकारहरू गाईजात्राबाट टाढिनुका विभिन्न कारणहरू, जस्तै उमेर, स्वास्थ्य, आर्थिक समस्या र प्रविधिको विकासलाई औंल्याइएको छ।

काठमाडौँ । गाईजात्रा भन्नासाथ पर्व मात्रै नभएर कलाकारका हास्यव्यङ्ग्य प्रस्तुति पनि हामी सम्झिन्छौँ । अनि त्यसको पर्यायवाची नाम महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । 

नेपाली हास्यव्यङ्ग्य क्षेत्रको अग्लो नाम ‘मह’ले गाईजात्रा कार्यक्रमलाई प्रतिष्ठित र लोकप्रिय विधाको रूपमा स्थापित गराएका हुन् । उनीहरूले प्रज्ञा प्रतिष्ठानबाट सुरु गरेको गाईजात्रा मञ्चमा अहिले थुप्रै कलाकारले इँटा थपिरहेका छन् । गाईजात्रा अहिले राजनीतिक तथा सामाजिक विकृतिमाथि चोटिलो व्यङ्ग्य प्रस्तुत गर्ने माध्यम बनेको छ । 

२०३३ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान)ले गाईजात्रा कार्यक्रमको सुरुवात गरेको हो । हास्यव्यङ्ग्य विधाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गाईजात्रा कार्यक्रमलाई महोत्सवको रूपमा प्रस्तुत गर्न थालियो । त्यसबेला गोपालराज मैनाली, लक्ष्मण लोहनी, धुव्र हाडा, हरिहर शर्मा, यादव खरेल जस्ता कलाकारले प्रस्तुति दिन्थे । 

कलाकार हरिवंश आचार्यले आफ्नो आत्मकथा ‘चिना हराएको मान्छे’मा उल्लेख गरेअनुसार प्रज्ञा प्रतिष्ठानबाटै ‘मह’को सहकार्य र गाईजात्रा यात्राले नेपाली समाजको तत्कालीन अवस्थालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्न उत्कृष्ट मञ्च पाएको थियो ।

‘मह’सँगै उक्त गाईजात्रामा बिस्तारै थपिँदै गए- सन्तोष पन्त, शम्भुजीत बास्कोटा, शैलेन्द्र सिंखडा, किरण केसी पनि । केही समयपछि अर्को पुस्तालाई प्रतिनिधित्व गर्दै दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेती, राजाराम पौडेल, शिवहरि पौडेल, मनोज गजुरेल, सविता गुरुङ लगायतको प्रवेश भयो । त्यसपछिको पुस्तामा केदार घिमिरे, सीताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई लगायतले पनि गाईजात्रा मञ्चमा देखा परे । 

तर अहिले समयसँगै गाईजात्रामा पुराना कलाकारहरू कम देखिन थालेका छन् । गाईजात्रा प्रस्तुतिमा नयाँ कलकारहरूको उल्लेख्य सहभागिता देखिन्छ । यस वर्ष राष्ट्रिय नाचघर जमलमा ‘गाईजात्रा महोत्सव ८२’ र नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘८२ सालको गाईजात्रा’ आयोजना भइरहेका छन् । 

‘८२ सालको गाईजात्रा’मा रहेका मनोज गजुरेल र शैलेन्द्र सिम्खडालाई छाड्ने हो दुवै मञ्चका कार्यक्रममा नयाँ पुस्ता देख्न सकिन्छ ।

‘८२ सालको गाईजात्रा’मा सुवोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी, कल्पना खतिवडा लगायत कलाकार छन् । जो पछिल्लो समयका चर्चित कमेडियनहरु हुन् । शुक्रबारबाट सुरु भएको यो गाईजात्रा २७ गतेसम्म चल्नेछ । 

त्यस्तै, ‘गाईजात्रा महोत्सव ८२’ सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको हो । शनिबारबाट सुरु भएको यो कार्यक्रम साउन ३१ गतिसम्म चल्नेछ । कार्यक्रममा १४ जना कमेडियनले प्रस्तुति दिन्छन् । जसमा लक्ष्मण गाम्नागे, सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी, सुजिता श्रेष्ठ, भरतमणि पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्की, दिनेश काफ्ले, खड्गबहादुर पुन र सुयशा खनाल रहनेछन् । यी सबै पछिल्लो समय उदाएका कलाकार हुन् ।

  • किन सुस्ताए पुराना पुस्ता ?

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ उमेर र स्वास्थ्यले आफूलाई साथ दिन छाडेको बताउँछन् । तर मञ्चप्रतिको मोह भने अझै उस्तै रहेको उनी बताउँछन् । ‘गर्न मन त छ, शरीरले दिइराख्या छैन मलाई,’ श्रेष्ठ भन्छन् । 

अर्का कलाकार किरण केसी पनि पछिल्लो ५–७ वर्षदेखि गाईजात्रामा देखिएका छैनन् । उनी यसलाई ‘टेक्निकल प्रब्लम’ भन्छन् ।

‘५–७ वर्ष अगाडि त्यो एकेडेमी बनाउने भनेर डेढ–दुई वर्ष त्यहाँ लाग्यो । त्यसलगत्तै कोरोना आयो, दुई वर्ष जति कोरोनाले डिस्टर्ब गर्‍यो,’ केसी भन्छन्, ‘ त्यसपछि हराएको हरायै, आफ्नै काममा व्यस्त, कहिले सुटिङ, कहिले विदेश, कहिले के ।’ उनी गाईजात्रालाई मनैदेखि ‘मिस’ गरिरहेको बताउँछन् ।

‘मेरो यसैबाट यत्रो नाम भयो, दाम भयो, देश–विदेश घुमियो । यो त जीवनको अविस्मरणीय हो नि । यो पृथ्वीमा जन्मेको सार्थक भन्या जस्तै हो गाईजात्रा मेरो लागि,’ उनी भन्छन् । 

कलाकार दीपकराज गिरी भने यसलाई स्वाभाविक ‘पुस्ता हस्तान्तरण’को रूपमा लिन्छन् । मह जोडीले छाडेपछि आफूले मञ्चमा स्थान पाएको उनी स्मरण गर्छन् । 

‘पहिलो कुरा त यो हामीले एक शब्दमा भन्ने हो भने अब यो पुस्ता हस्तान्तरण मान्नुपर्छ । हरिवंश दाइ, मदन दाइले पनि एउटा समयपछि छोड्दिनुभयो । अनि हामी सक्रिय भयौँ,’ उनी भन्छन्, ‘अब अहिले नयाँ पुस्ताका कलाकारहरू आएका छन् । रोस्ट कमेडीहरूको हाबी छ ।’

उनका अनुसार व्यङ्ग्यको शैली र माध्यम पनि फेरिएको छ । पहिला राजनीतिक र सामाजिक विकृतिमाथि हुने व्यङ्ग्य अहिले व्यक्ति र समूहमा केन्द्रित हुन थालेको छ । साथै, युट्युब र टेलिभिजनमा हास्यव्यङ्ग्यको प्रचुरताले गर्दा प्रज्ञा प्रतिष्ठानको मञ्चको आकर्षण पहिले जस्तो छैन । 

कलाकार दमन रुपाखेती भने गाईजात्राबाट पुराना कलाकार टाढिनुमा आर्थिक र प्राविधिक कारण मान्छन् । 

‘त्यो बेला प्रविधि अरू थिएन, सामाजिक सञ्जालहरू थिएनन् । मान्छेलाई मनोरञ्जन भनेकै त्यही गाईजात्रा मात्र हुन्थ्यो,’ रुपाखेती भन्छन्, ‘अब अहिले आर्थिक प्रब्लम छ, स्पोन्सर पनि भने जस्तो पाइँदैन । त्यसैले गर्दाखेरि हामीले अलिकति हात छोडेको मात्र हो ।’ उनले प्रविधिको विकाससँगै दर्शक हलसम्म आउँदैनन् कि भन्ने डर पनि भएको खुलाए । 

उनी अगाडि भन्छन्, ‘त्यही स्टेजबाट उठेको हामी कलाकार, त्यो त कहाँ रहर मर्छ र । रहर मेटाउन आफ्नै युट्युब च्यानलमा तीन वटा गाईजात्रा प्रहसन ल्याएको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप