भ्रातृसंस्थाका महाधिवेशन गराउने निर्देशिकामा कांग्रेसभित्र चर्को असन्तुष्टि (निर्देशिकासहित)
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बनाएको निर्देशिकाप्रति भ्रातृसंस्थाहरूको असन्तुष्टि देखिएको छ।
- सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशक समितिका पदाधिकारीहरूले निर्देशिकामा व्यापक त्रुटि रहेको भन्दै परिमार्जनको माग गरेका छन्।
- कांग्रेसले निर्देशिका परिमार्जनका लागि मंगलबारसम्मको समय मागेको छ, भने महाधिवेशन सम्पन्न गर्ने कार्यादेशको पत्र दिने तयारी थियो।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बनाएको ‘भातृसंस्थाहरूको महाधिवेशनका लागि निर्देशक समितिहरूको कार्यसम्पादन निर्देशिका’प्रति भातृसंस्था महाधिवेशन निर्देशक समितिका पदाधिकारीहरूले चर्को असन्तुष्टि जनाएका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको छलफलमा सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिका पदाधिकारीहरूले असन्तुष्टि जनाएका हुन् ।
महामन्त्री शर्माले ‘भातृसंस्थाहरूको महाधिवेशनका लागि निर्देशक समितिहरूको कार्यसम्पादन निर्देशिका’ पेस गरेर छलफलको सुरुवात गरेका थिए ।
कांग्रेसका सात भ्रातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल थारू संघ र नेपाल किसान महासंघले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन गर्न सकेका छैनन् । ती भ्रातृसंस्थाको महाधिवेशन गर्न कांग्रेसले महाधिवेशन निर्देशन समिति बनाएको छ ।
निर्देशन समिति संयोजकहरूमा तरुण दल सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघ सहमहामन्त्री किशोर सिंह राठोर, महिला संघ प्रवक्ता डा. प्रकाशशरण महत, नेपाल दलित संघ सहमहामन्त्री जीवन परियार, नेपाल किसान महासंघ केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाल थारू संघ केन्द्रीय सदस्य उदयशमशेर राणा छन् ।
सोमबारको छलफलमा यी सबैसहित तदर्थ समितिका अध्यक्षहरूसमेत सहभागी थिए ।
छलफलमा भाग लिँदै तरुण दलकी संयोजक रहेकी महामन्त्री उपाध्यायले निर्देशिकामा व्यापक त्रुटि रहेको बताइन् । ‘निर्देशिकामा व्यापक त्रुटि छ । यही निर्देशिका पास गरेर महाधिवेशनमा होमिने हो भने कुनै पनि भ्रातृसंस्थाको महाधिवेशन हुन सक्दैन,’ उपाध्यायले छलफलमा भनेकी थिइन्, ‘परिमार्जन गरेर महाधिवेशन गर्दै नेतृत्व हस्तान्तरण गर्ने तरिकाले बनाउनुपर्छ ।’
छलफलमा सहभागी दलित संघ महाधिवेशन निर्देशन समिति संयोजक तथा पार्टी महामन्त्री परियार, नेपाल लोकतान्त्रिक खेलकुद संघ संयोजक मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, मीन विश्वकर्मा, पुष्पा भुसाल र सरिता प्रसाईंले आपत्ति जनाउँदै परिवर्तन गर्नुपर्ने माग गरेका थिए । सबैले निर्देशिकामा असन्तुष्टि जनाएपछि परिमार्जनका लागि मंगलबार मध्यान्ह १२ बजेसम्मको समय पार्टीका तर्फबाट महामन्त्रीहरूले मागेका थिए ।
छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीले प्रस्तुत गरेको निर्देशिका परिमार्जनका लागि मंगलबारसम्मको समय केन्द्रीय कार्यालयले मागेको बताइन् ।
‘आजको छलफलमा सहभागीहरूले केन्द्रीय कार्यालयले बनाएको निर्देशिका परिमार्जन गर्नुपर्ने बताए,’ गौतमले रातोपाटीसँग भनिन्, ‘त्यसपछि महामन्त्रीहरूले परिमार्जनका लागि भोलिसम्मको समय माग्नुभएको छ ।’
कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशन गराउन केन्द्रीय समितिमा रहेका तीन नेतालाई समेटेर एक नेतालाई संयोजक र दुई सदस्य रहेको महाधिवेशन निर्देशन समिति बनाएको छ ।
कांग्रेसको गत असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तिम पटकका लागि महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाको म्याद थप्ने र महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । बैठकले निर्देशन समितिले गर्नुपर्ने कामका सन्दर्भमा पार्टीको तर्फबाट कार्यादेश उपलब्ध गराउने निर्णय पनि गरेको थियो । केन्द्रीय समितिको निर्णयबारे शुक्रबार सभापति देउवाले उपसभापति खड्का र दुई महामन्त्रीसँग छलफल गरेका थिए ।
सोमबारको बैठकमा निर्देशिका पास गर्ने र निर्देशन समितिलाई महाधिवेशन सम्पन्न गर्ने कार्यादेशको पत्र दिने तयारी थियो । तर निर्देशिकामा निर्देशन समितिका पदाधिकारीहरूले आपत्ति जनाएपछि यो कार्य मंगलबारसम्मका लागि सरेको छ ।
कांग्रेसका यी सात भ्रातृसंस्थाका तदर्थ समितिको म्याद गत चैत मसान्तमा नै सकिएको थियो । त्यसपछि फेरि म्याद थप्ने कि नथप्ने भन्ने विवाद थियो । विवादका बीच केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दै अन्तिम पटकका लागि म्याद थप्ने निर्णय गरको थियो ।
केन्द्रीय समिति बैठक सकिएको एक महिनासम्म पनि निर्देशन समितिलाई निर्णय बमोजिम कार्यादेशको पत्र दिन कांग्रेस नेतृत्वले सकेको छैन ।
यस्तो छ निर्देशिका




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण