शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली युवा र युवा दिवस

मङ्गलबार, २७ साउन २०८२, १२ : ३९
मङ्गलबार, २७ साउन २०८२

आज श्रावण २७ अर्थात् १२ अगस्ट अन्तर्राष्ट्रिय युवा दिवस । १९९८ अगस्ट १२ मा विश्वका युवा मामिला मन्त्रीहरूको लिस्बन घोषणा पत्रपश्चात् संयुक्त राष्ट्रसंघको आह्वानमा १९९९ देखि अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो । संसारमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आ–आफ्नै संस्कृति र रीतिरिवाज छन् । यिनीहरू भित्रबाटै केहीलाई विशिष्टीकृत गर्दै तिनलाई चाडपर्व, महोत्सव अथवा दिवसका रूपमा मान्यता दिइएको छ । जसलाई खुसी साट्ने माध्यम वा चौतारीका रूपमा लिइन्छ । यसकै एउटा अंगका रूपमा विश्वले स्विकारेको छ । 

यस वर्ष ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदै छ ।

सामान्य अर्थमा भन्नुपर्दा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहलाई वा व्यक्तिलाई युवा मानिन्छ । युवा त्यो उमेर समूह हो, जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्र संवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ ।

विश्व समाजको विविधता अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, संगठनहरू र विश्व भूमण्डलीकरणले गर्दा कतिपय व्यवहार र नियममा युवाबारे एकरूपता छ । विश्व बैंक, संयुक्त राष्ट्र संघ लगायत संस्थाका निर्णय यसका नमुना हुन् । संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निर्णयले अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो । यो निर्णयले युवाको सामाजिक पक्षमा जोड दिए पनि पछिल्लो समय युवा दिवसलाई राजनीतिक पक्षसँग बढी जोड्न थालिएको छ । अझ भन्ने हो भने युवा दिवसको स्थापना युवा आन्दोलनकोे सफलतासँग गाँसिएको छ । यद्यपि युवाका मुद्दालाई स्थापित गर्न विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउने अभियानका रूपमा यो दिवसलाई लिइन्छ । 

नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० वर्षको वर्ग युवा मानिन्छ । नेपालमा २०७८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४२.५६ प्रतिशत (एक करोड २४ लाख बढी) रहेकोे छ । कुनै बेला शिक्षा मन्त्रालय अन्तर्गतको खेलकुद तथा युवा शाखामा सीमित रहेको नेपालले भने मुस्किलले सन् २००४ देखि युवा दिवस मनाउन थालेको हो । 

राष्ट्रिय युवानीति कार्यान्वयनका लागि ‘युथ भिजन २०२५’ निर्माण भएको थियो, जसको यो वर्ष अवधि समेत सकिँदै छ । राष्ट्रिय युवा परिषद् गठन हुनु युवाका लागि निश्चय नै सुखद् कुरा हो । अझै सुखद् कुरा के छ भने स्थानीय निर्वाचनको नतिजा हेर्दा स्थानीय तहमा ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन् । जसमा १९ प्रतिशत युवा  (नगरमा ३७ र गाउँपालिकामा १०६ जनप्रतिनिधि) ले नेतृत्व सम्हालेका छन् । प्रतिशतमा युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रिय सभा बाहेक अन्यमा पनि विगतको निर्वाचनको सहभागिता उत्साहजनक नै छ भने अब आउने प्रतिनिधि सभा निर्वाचनमा युवाहरू थप मजबुत भएर आउने आशा गरिएको छ, तर अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । 

वर्ल्ड इकोनोमिक फोरमले गरेको अध्ययन अनुसार विश्वमा दुई सय मिलियन युवा बेरोजगार छन् । युवा शक्ति श्रमशक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ । यसमा चाखलाग्दो विषय रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् र श्रमिकले दक्षता अनुसारको श्रमको अवसर पाइरहेका छैनन् ।

पछिल्लो जनगणना अनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन्, ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्ध बेरोजगार छन् भने प्रत्येक वर्ष चार लाख ५० हजार युवा श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रवेश गर्छन् । रोजगारमा संलग्न युवाहरू हुन् या बेरोजगार वा वैदेशिक रोजगारका लागि पलायन भएका युवा नै किन नहोस् । अहिले युवा जम्मा हुने योजना निर्माण गर्ने, अनुभवहरू साटासाट गर्ने, युवा सूचनाप्राप्त गर्ने, समीक्षा तथा मूल्यांकन गर्ने स्थान र वातावरणको टड्कारो खाँचोमा छ ।

  • वर्तमान नेतृत्व र भविष्य

भनिन्छ, तन्नेरीहरू चाँडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भुलिहाल्छन् तर बुढापाका ढिलो तिरस्कार गर्छन् र ढिलै बिर्सिन्छन्, समृद्धिको नाममा एउटै विषयलाई लिएर घोत्लिरहने मात्रै पनि होइन, सही समयमा स्वीकार र विकल्पसहितको तिरस्कार गर्न नसक्ने कुनै पनि नेतृत्व आजको सन्दर्भमा युवा मैत्री मान्न सकिन्न ।

युवा नरहेको, वृद्ध नभएको कोही पनि छैन तर सवाल हामी त्यो समयमा रहँदा भावी पुस्तालाई के सन्देश दियौै भन्ने हो । आज विश्व आर्थिक, सामाजिक, राजनीतिक रूपमा सोचे अनुसारको गतिमा छैन, त्यही पनि अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाली युवा प्रवृत्तिको चर्चा गर्न खोजिएको छ । 

हुन त जुनसुकै पार्टीको विचारको भए पनि युवा भनेको सबैको साझा नै हो, उसले बोक्ने एजेन्डा सिंगो देशसँग जोडिएको हुनुपर्छ, सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेन्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाब गर्न थाल्छ, जसले गर्दा युवा शब्दमा व्यापार सुरु गर्छ । 

एउटा सन्दर्भमा युवा नेता गगन थापाले भनेका थिए, ‘आफ्नो पार्टीको महाधिवेशनबाट नेतृत्व चयन गर्दा युवा नेतृत्व आवश्यक छ भनेपछि सबैले हो अगाडि बढ्नुस् भने, मैले उम्मेदवारी पनि दिएँ, विडम्बना रत्नपार्कमा एक्लै मैले भोट माग्नुपर्‍यो, अगाडि बढ्नुस् भन्नेहरू सहयोग त के देखिन पनि चाहेनन् ।’ 

मतलब नयाँ नेतृत्व युवाको चाहनामा रहेन । युवा सहभागिताको सन्दर्भमा समाज उदार छैन । युवा सोचको कार्यान्वयन नेतृत्वको प्राथमिकतामा परेको छैन ।

सत्तारुढ युवाशक्ति पनि अहिले संगठित युवाशक्तिमा सबैभन्दा शक्तिशाली छ । अहिले पार्टीमा चलिरहेको चरम द्वन्द्वमा दर्शक होइन, हस्तक्षेपकारी भूमिकामा आउन आवश्यकता एकातिर छ भने पुरानो नेतृत्वले वफादार सिपाहीको रूपमा प्रयोग गर्ने परम्परागत अभ्यासमै फस्ने खतरा अर्कोतिर छ । अन्य राजनीतिक युवा संगठनहरू अस्तित्व रक्षाको सवालमै संघर्षरत भएको जाहेर नै छ । यस परिवेशमा युवाका एजेन्डा स्थापित गर्ने र बुर्जुवा नेतृत्व विस्थापित गर्न मूल राजनीतिक युवाशक्ति तयार नभएसम्म त्यही नेतृत्वको भक्तिगानमा रमाउने, उसैको आहालमा डुब्ने निश्चितप्रायः छ, जो विगतको भन्दा कुनै नौलो र अन्तर्राष्ट्रिय अभ्यास होइन । 

युवा सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूह हो तर अहिले ३६ प्रतिशतभन्दा बढी युवा अर्धबेरोजगार रहेका छन् । बर्सेनि पाँच लाख ३८ हजार युवा रोजगारीका लागि बिदेसिने गरेको तथ्यांक छ । यो दर प्रतिदिन एक हजार पाँच सयको हाराहारीमा हुन आउँछ । जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती हो । यसमा राज्यको बागडोर सम्हालेको गठबन्धन नराम्रोसँग चुकेको छ । 

युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रूपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्छ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवाशक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएको हो भन्ने यो मूल नेतृत्वले भुल्नु भएन । अर्कोतिर नेतृत्वको उत्तराधिकारी छनोट क्षमता, भिजन र योजनका आधारमा जबसम्म गरिँदैन, तबसम्म युवाले वैधानिक र न्यायपूर्ण संघर्ष जारी राख्नु आवश्यक छ । अन्यथा देखावटी मात्र युवाका कारण यहाँ जो पनि युवा बनेका छन् भने अर्कोतिर राज्यले परिवर्तनको गति लिन सकेको छैन । जुन परिणाम हामीले भोगिराखेका छौँ । युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न नसके राष्ट्रले उनीहरूको ऊर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने अहिलेसम्मको अनुभूतिमा देखिन्छ । 

दुई दशकपछि नेपालमा स्थानीय जनप्रतिनिधिले विकासको बागडोर सम्हालेका छन् । जनप्रतिनिधिमा युवाको सहभागिता बढेको छ । भौतिक उपस्थितिले मात्र सहभागिताको सिद्धान्तलाई समेट्न सक्दैन । युवाहरू जनप्रतिनिधि भएपश्चात् युवामैत्री विकास भयो या भएन ? त्यो बहसको विषय बनाइनुपर्छ अब । 

अहिले सार्वजनिक नीति–निर्माणमा युवाहरूको सार्थक सहभागिताको खाँचो छ । आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा समेत युवाको सहभागिता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकासका लागि स्थानीय तहले ध्यान दिन सकेको देखिँदैन । सरकारले के दियो भनेर बिलौना गर्नेभन्दा पनि हामीसँग रहेको क्षमताले उपलब्धिको उपयोग गर्न के प्रयत्न गरिए भनी सबै युवाले सोच्नैपर्ने बेला आएको छ ।  

साथै शैक्षिक तथा स्वास्थ्य स्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास; पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवालाई विशेष संरक्षण; युवाबिच लैङ्गिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक लगायत विभेद र वर्गीय असन्तुलनको अन्त्य पनि युवाको सवाल हो; जुन हामीले भुल्नु हुँदैन । 

यसर्थ युवा दिवस मनाइरहँदा र हिजो नमनाउँदा पनि फरक–फरक पात्र अभियानका नाममा उम्लिएकै हुन् । केही इतिहासमा लेखिए त कोही सदाका लागि मेटिए । नेपालमा यो क्रम पछिल्लो चरणमा अभियन्ता हुँदै सांसद बनेका ज्ञानेन्द्र शाहीदेखि बेतुकका कुरा गर्ने सामाजिक सञ्जालका विज्ञ युट्युबेसम्म पुग्दै छ, जुन सूत्र अब पुरानो भइसकेको छ । आजको विश्व व्यवस्थामा युवाको सवाल, अवस्था र आवश्यकताको विषयमा पनि प्रमुख प्राथमिकता साथ नसोच्ने तर तारे होटलका बन्द कोठामा हुने बौद्धिक विलासिताले ठोस नतिजा निकाल्न सक्दैन । त्यसका लागि सोही अनुसारको व्यावहारिक कार्यक्रमको निर्माण र सञ्चालन गर्न जरुरी हुन्छ । दिगो विकासको लक्ष्य निर्धारणसहित विश्व समाज अगाडि बढिरहेको छ । हामीले अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा दिगो विकास लक्ष्यसम्बन्धी पनि व्यापक बहस, छलफल र कार्यक्रम जरुरी छ ।
दिगो विकासको लक्ष्यका १७ वटा क्षेत्रमध्ये धेरै सवाल युवासँग प्रत्यक्ष जोडिएका छन्; जसमा युवाको विकास र युवा समस्याको सम्बोधनविना तिनको अपेक्षित परिणाम आउन नसक्ने कुरा निश्चित छ । युवाको सहभागिता र सक्रियताविना विकास कोरा कल्पना मात्रै हुन्छ । यसर्थ युवाको परिचालन र साझेदारी नहुने वातावरणले दिगो विकासको लक्ष्य प्राप्ति पनि चाहना मात्रै बन्नेछ । पछिल्लो चरणमा आएर कोभिड १९ जस्तो महामारीमा प्रविधिसँगै विश्वका अन्य मुलुकले युवा परिचालन गरेर सफलता पाइरहेका बेला नेपाल कुहिरोको कागजस्तै रुमलिनु विडम्बना नै हो । 

वर्ल्ड इकोनोमिक फोरमले गरेको अध्ययन अनुसार विश्वमा दुई सय मिलियन युवा बेरोजगार छन् । युवा शक्ति श्रमशक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ । यसमा चाखलाग्दो विषय रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् र श्रमिकले दक्षता अनुसारको श्रमको अवसर पाइरहेका छैनन् । श्रमिकले श्रम बिक्रीको बजार खोजीमा संघर्ष गरिरहेको छ र रोजगारदाताले योग्य श्रमिकको खोजीमा संघर्ष गरिरहेको छ ।

नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यावहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने सिद्ध भइसकेको छ । ख्याल राख्न जरुरी छ, युवावस्था आउँछ, जीवनमा एकपटक मात्रै । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ कि छैन सबैले सोच्नैपर्ने बेला आएको छ ? 

(लेखक युवा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण गिरी
नारायण गिरी
लेखकबाट थप