देश विकास यात्रामा इन्जिनियर वा विशेषज्ञको राजनीतिक भूमिका
राजनीतिमा प्रायः हामी भावनात्मक भाषण र आदर्शवादी घोषणापत्रलाई प्राथमिकता दिने नेता देख्छौँ । जब कुनै इन्जिनियर र विशेषज्ञहरू राजनीतिमा प्रवेश गर्छन्, उनीहरूको दृष्टिकोण, सोच्ने तरिका र समस्या समाधानको शैली सामान्य राजनीतिज्ञभन्दा स्पष्ट फरक हुन्छ । उनीहरूको मानसिकता तथ्य, संरचना र कार्यान्वयनमा केन्द्रित हुन्छ । जसरी भवन निर्माणमा नापजोख र सामग्रीको गुणस्तर अनिवार्य हुन्छ, त्यसैगरी राजनीति र शासनमा पनि योजनाबद्ध, मापनयोग्य र दिगो कामको खोजी गरिन्छ ।
इन्जिनियरहरू समस्या समाधान गर्नुअघि त्यसको स्पष्ट पहिचान गर्छन् । उनीहरूका लागि ‘के’ मात्र होइन, ‘किन’ र ‘कसरी’ भन्ने प्रश्नको उत्तर खोज्नु नै प्राथमिक हुन्छ । त्यसपछि मात्र उनीहरूले कार्यान्वयनयोग्य समाधानको रूपरेखा तयार पार्छन् । त्यो समाधान सीमित समयसीमा र निश्चित बजेटभित्र सम्पन्न गर्नुपर्छ, जो उनीहरूको पेसागत बानी हो । साथै परियोजना सम्पन्न भएपछि पनि दीर्घकालीन मर्मत, सञ्चालनको योजना बनाउने सोच इन्जिनियर वा विज्ञहरूको स्वाभाविक गुण हो ।
यसैगरी इन्जिनियरहरू प्रायः तथ्यांकमा आधारित निर्णय लिन्छन्, जुन राजनीतिक बहस र भावनात्मक निर्णयभन्दा निकै व्यावहारिक र दिगो हुन्छ । उनीहरू विवादमा समय नष्ट गर्नेभन्दा समस्याको मूल कारणलाई पहिचान गरेर तिनीहरूको समाधान खोज्न ध्यान केन्द्रित गर्छन् । यस्तो दृष्टिकोणले मात्र नेपालजस्तो विकासोन्मुख मुलुकमा समृद्धि र दिगो विकासको मार्गप्रशस्त गर्न सकिन्छ ।
विकासमा इन्जिनियरिङ पृष्ठभूमिका अन्तर्राष्ट्रिय दृष्टान्त
विश्वभरका केही सफल राजनीतिक नेता इन्जिनियरिङ पृष्ठभूमिबाट आएका छन्, जसले देखाउँछ, प्राविधिक सोच र राजनीतिक इच्छाशक्ति मिले विकासको गति असाधारण हुन सक्छ ।
अमेरिकामा ३१औँ राष्ट्रपति हर्बर्ट हुबर खानी इन्जिनियर थिए । उनी पूर्वाधार विकासमा मात्र होइन, मानवीय राहत कार्यमा पनि दक्ष व्यवस्थापक साबित भए । उनका निर्णयहरू योजनाबद्ध, स्रोतकेन्द्रित र दीर्घकालीन प्रभाव हुने किसिमका थिए ।
सिङ्गापुरमा ली क्वान युको नेतृत्वमा बनेको मन्त्री परिषद्मा सहरी योजना, पानी आपूर्ति र सार्वजनिक आवासमा दक्ष इन्जिनियरको टोली थियो । तिनैको संयोजनले सिङ्गापुरलाई केही दशकमै गरिबी, प्रदूषण र अव्यवस्थित बसोबासबाट आधुनिक, व्यवस्थित र समृद्ध सहर, राज्यमा रूपान्तरण गर्यो ।
चीनमा पनि पूर्वराष्ट्रपति हु जिन्ताओ सहितका धेरै शीर्ष नेता इन्जिनियरिङ पृष्ठभूमिबाट आएका थिए । उनीहरूको योजनाबद्ध सोचका कारण देशमा तीव्र पूर्वाधार विस्तार सम्भव भयो, रेलमार्गदेखि जलविद्युत्, सहरी विकासदेखि ग्रामीण यातायातसम्म सबै क्षेत्रमा दिगो र द्रूत प्रगति भयो ।
यी सबै उदाहरणले स्पष्ट पार्छन्— तथ्यमा आधारित योजना, कार्यान्वयनमा अनुशासन र दीर्घकालीन सोच इन्जिनियरहरूको विशेषता हो, जसको प्रत्यक्ष असर शासनको गुणस्तरमा पर्छ ।
चीनमा पनि पूर्वराष्ट्रपति हु जिन्ताओ सहितका धेरै शीर्ष नेता इन्जिनियरिङ पृष्ठभूमिबाट आएका थिए । उनीहरूको योजनाबद्ध सोचका कारण देशमा तीव्र पूर्वाधार विस्तार सम्भव भयो, रेलमार्गदेखि जलविद्युत्, सहरी विकासदेखि ग्रामीण यातायातसम्म सबै क्षेत्रमा दिगो र द्रूत प्रगति भयो ।
नेपालमा इन्जिनियर नेताका प्रेरणादायी योगदान
नेपालमा इन्जिनियर पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्ति धेरै छैनन् तर केही उदाहरणले यस धारणा बलियो बनाएका छन् कि राजनीतिक निर्णय तहमा प्राविधिक दृष्टिकोण पुगे विकासको नक्सा धरातलमा झर्छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह स्ट्रक्चरल इन्जिनियर हुन् । उनले फोहोर व्यवस्थापनमा कडाइ, सडक विस्तार, सम्पदा संरक्षण र परियोजना अनुगमनमा सक्रियता देखाएका छन् । योजनामा आलंकारिक भाषाभन्दा कार्यान्वयनलाई प्राथमिकता दिनु उनको पहिचान बनिसकेको छ ।
नेपाली कांग्रेसका पूर्वविद्यार्थी नेता रञ्जित कर्ण आर्किटेक्चर इन्जिनियर हुन् । कर्णले संविधानसभामा आफ्नो कार्यकालमा सदैव उद्यमशीलता, विज्ञान र प्रविधिलाई विकासको मुख्य आधार बनाए । उनी स्पष्ट राजनीतिक समझदारी र दृढ प्रतिबद्धताका धनी हुन् । निडर र मेहनती वक्ता भएर परिचित कर्णका विकास मोडल व्यापक रूपमा सम्माननीय र मननयोग्य ठहरिएका छन् ।
संसद्मा पूर्वाधारसम्बन्धी बहसमा प्राविधिक दृष्टिकोण ल्याउने, तथ्य र अध्ययनमा आधारित सुझाव दिने प्रवृत्तिका लागि चिनिन्छन् दीपकबहादुर सिंह ।
१९८० को दशकमा यातायातन्त्री हुँदा पद्मसुन्दर लावतीले व्यवस्थित योजना प्रणाली सुरु गरेका थिए । गोरखाका पूर्वमेयर राजेश पन्तले भूकम्पपछिको पुनर्निर्माणमा सुरक्षित संरचना निर्माणका लागि प्राविधिक टोली परिचालन गरे ।
त्यस्तै, टीकाराम सापकोटा र राजेन्द्रप्रसाद गौतमजस्ता इन्जिनियर जनप्रतिनिधिले प्रदेश र स्थानीय तहमा लो प्रोफाइलमै रहेर ठोस र दिगो काम गरेका छन् ।
इन्जिनियर नेतृत्वले विकासमा ल्याउने फरकपन
इन्जिनियर नेतृत्वले अनुमान वा अफवाह होइन, वैज्ञानिक सर्वेक्षण र प्राविधिक प्रतिवेदनका आधारमा योजना निर्माण गर्छन् । यस्तै ढिलाइले लागत बढाउने र गुणस्तर घटाउने कुरा गहिरो रूपमा बुझ्ने दृष्टिकोण राख्छन् ।
केवल निर्माण होइन, त्यसको दीर्घकालीन मर्मत, सञ्चालन र वातावरणीय असरको पूर्वयोजनामा जोड दिन्छन् । पेसागत गुणस्तर र प्राविधिक मापदण्डलाई राजनीतिक निर्णयमा समेत कठोर रूपमा लागु गर्ने क्षमता राख्छन् ।
इन्जिनियरिङ मनोवृत्ति र राजनीतिक नेतृत्व
सबै इन्जिनियर राजनीतिमा सफल हुन्छन् वा सबै इन्जिनियरलाई राजनीतिमा ल्याउनैपर्छ भन्ने धारणा होइन । इन्जिनियर हुनु मात्रले सफलता पक्का हुँदैन । कतिपय इन्जिनियर नेतालाई पनि भ्रष्टाचार, व्यक्तिगत स्वार्थ र कमजोर नेतृत्व क्षमताका कारण आलोचना सहनुपरेको छ ।
प्राविधिक ज्ञान भए पनि राजनीतिक कौशल, सञ्चार क्षमता र नेतृत्व गुणको अभाव छ भने परिणाम अपेक्षित आउँदैन ।
पूर्वाधार र सेवा–सुविधामा अझै पनि अभाव झेलिरहेको देशमा प्राविधिक दक्षता र राजनीतिक इच्छाशक्ति एकसाथ आए भने त्यसको परिणाम साँच्चै क्रान्तिकारी हुन सक्छ ।
जनताको जिम्मेवारी
अन्ततः नेतृत्वको स्वरूप मतदाताकै हातमा हुन्छ । पहिलो चरणमा, राजनीतिक दलहरूले प्राविधिक र दक्ष व्यक्तित्वलाई राजनीतिमा प्रवेश गर्न प्रोत्साहित गर्नुपर्छ । त्यसपछि जनताले योग्य इन्जिनियर र अन्य दक्ष व्यक्तिलाई नेतृत्वमा पुर्याउने पहल गरेमा विकासको आधार निर्माण हुन धेरै समय लाग्दैन ।
हामीले दक्षता, कार्यान्वयन क्षमता र पारदर्शितालाई प्राथमिकता दिन थाल्यौँ भने स्वाभाविक रूपमा इन्जिनियर र अन्य विशेषज्ञका लागि राजनीतिमा प्रवेशको बाटो खुल्छ । नेपालको भविष्य केवल संसदका भाषणमा होइन; सडक, पुल, नहर, विद्युत् गृह र फोहोर व्यवस्थापन प्रणालीजस्ता दीर्घकालीन र मापनयोग्य उपलब्धिमा टेकेको हुन्छ ।
निष्कर्ष
नेपालको दिगो विकासको यात्रामा इन्जिनियर र अन्य विशेषज्ञको राजनीतिक सहभागिता अपरिहार्य छ । उनीहरू तथ्यमा आधारित योजना, अनुशासित कार्यान्वयन र दीर्घकालीन सोचमा विश्वास गर्छन्, जसले योजनालाई कागजबाट परिणामसम्म पुर्याउँछ । समय, स्रोत र गुणस्तरको सन्तुलन उनीहरूको पेसागत विशेषता हो, जसले पूर्वाधारदेखि सेवा–सुविधासम्म स्थायित्व ल्याउँछ तर प्राविधिक ज्ञान मात्र पर्याप्त छैन; राजनीतिक समझ, सञ्चार क्षमता, पारदर्शिता र जनविश्वासको संयोजन आवश्यक छ ।
जब यी सबै गुण एउटै व्यक्तिमा भेटिन्छन्, विकासको गति असाधारण हुन्छ । जनताले योग्य र प्रतिबद्ध व्यक्तित्वलाई नेतृत्वमा पुर्याउने हो भने सडक, पुल, ऊर्जा, शिक्षा, स्वास्थ्य र फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा दीर्घकालीन सुधार सम्भव हुन्छ । नेपालजस्तो मुलुकमा भावनात्मक भाषणभन्दा तथ्यमा टेकेको, योजनाबद्ध र मापनयोग्य उपलब्धिमा केन्द्रित नेतृत्व नै स्थायी परिवर्तनको आधार हो । यस्तो नेतृत्वले मात्र समृद्ध, आत्मनिर्भर र सक्षम नेपालको मार्गप्रशस्त गर्न सक्छ । यही हो इन्जिनियर र विशेषज्ञ नेतृत्वको वास्तविक योगदान ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण