‘हार्ने उम्मेदवारले पनि विधि त गज्जब भनेर महसुस गर्न सकोस्’
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ, जसमा रास्वपाबाट ९ जनाले उम्मेदवार बन्न निवेदन दिएका छन्।
- रास्वपाले उम्मेदवार छनोटका लागि नयाँ विधि अपनाएको छ, जसमा ५० प्रतिशत प्रारम्भिक निर्वाचन र बाँकी अन्य आन्तरिक मूल्यांकन समावेश छन्।
- प्रारम्भिक निर्वाचनमा 'नोटा'को विकल्प पनि रहेको छ, जसले उम्मेदवार अस्वीकृत भएमा नयाँ प्रक्रिया सुरु हुनेछ।
काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न नौ जना आकांक्षीले निवेदन दिएका छन् । अब उनीहरुबिच भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन हुने भएको छ ।
यद्यपि प्रारम्भिक निर्वाचनबाट पहिलो हुने उम्मेदवार पार्टीको आधिकारिक उम्मेदवार बन्न सम्पूर्ण रुपमा योग्य हुन्छन् भन्ने चाहिँ होइन । रास्वपाले बनाएको उम्मेदवार छनोट विधिमध्ये १०० पूर्णांकमा ५० प्रतिशत नतिजा मात्र प्रारम्भिक निर्वाचनबाट प्राप्त हुनेछ । पाँच प्रतिशत समावेशीलाई छुट्याइएको छ । बाँकी ४५ प्रतिशत मत लिडरसिप एकेडेमी, पोलिटिकल प्रक्सिमिटीबाट सबैभन्दा बढी मत ल्याउनुपर्नेछ । यी चार विधिबाट जुन जसले बढी मत पाउने छ, ती नै व्यक्ति उपनिर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवार बन्नेछन् ।
रास्वपाले पहिलो पटक पाइलट सर्भेको रुपमा नयाँ विधि अपनाएको छ । यो विधि अहिलेसम्म नेपालका कुनै राजनीतिक पार्टीले अभ्यास गरेका छैनन् । रास्वपाले अपनाएको छनोट विधि कस्तो हो ? यो कति व्यावहारिक र विधिसम्मत छ ? छनोट विधिमा पूर्वाग्रह हुन्छ कि हुँदैन ? लगायत विषयमा यसका योजनाकार तथा सहमहामन्त्री विपिनकुमार आचार्यसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :
कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले दिएको आवेदन प्रक्रिया कहाँ पुग्यो ?
रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि हामीले साउन ७ गतेदेखि २१ गतेसम्म उम्मेदवारी आह्वान गरेको थियौँ । आवेदन परेका सबैको कुरा हेरिसकेपछि हामीले प्रिलिमिनरी लिस्टमा नौ जनाको नाम अनाउन्स गर्यौं । त्यसपछि जुन आन्तरिक निर्वाचनको प्रोसेस छ, त्यो प्रोसेसमा दुई दिन दाबी विरोधका लागि समय दिएको थियौं । दुई दिनको दाबी विरोध पछाडि साउन २५ गते पार्टीको केन्द्रीय कार्यालयमा आठ जना आकांक्षी उम्मेदवारहरूसँग प्रत्यक्ष र एकजना कारणवश प्रत्यक्ष आउन नसक्नुभएका कारणले उहाँलाई जुममार्फत भर्चुअली कनेक्ट गरेर लगभग आठ घण्टा छलफल गरेका थियौं ।

उम्मेदवारहरूसँग छलफलको क्रममा दुईवटा प्रावधान राखेका थियौं । एउटा उम्मेदवारविरुद्ध दाबी विरोध र अर्को उम्मेदवारी फिर्ता लिने । नौ जना कसैले पनि उम्मेदवारी फिर्ता नलिएकाले हिजो हामीले प्रारम्भिक नामावली प्रकाशित गरिसक्यौँ । प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन भइसकेपछि भदौ ११ गतेसम्म हामीले जुन उम्मेदवार छनोट विधि बनाएका छौँ, त्यसका लिडरसिप एकेडेमी र पोलिटिकल प्रक्सिमिटिसँग जोडिएका विभिन्न मानकहरूमा परीक्षण हुन्छ ।
यद्यपि सबै जना उम्मेदवारले दुई कुरामा हस्ताक्षर गर्नुभएको छ । पहिलो पार्टीको यो छनोट विधि भ्यालिड छ, फेयर छ र ट्रान्सपरेन्स छ, सबै विधि बुझेको भनेर हस्ताक्षर गर्नुभएको छ । दोस्रो यदि यो छनोट विधिबाट म छनोट भइनँ भने पनि जो उम्मेदवार छनोट हुन्छ, त्यसलाई मन, वचन र कर्मले समर्थन गर्नेछु । कात्तिक १७ गते कुनै पनि किसिमले उम्मेदवार बन्ने छैन भनेर हस्ताक्षर गर्नुभएको छ ।
यो छनोट विधि पहिलोचोटि लागु गर्नुभयो जस्तो लाग्यो । शतप्रतिशत नै अंकभार प्रारम्भिक निर्वाचनबाट नगरेर अन्य आन्तरिक मूल्यांकन विधि पनि राखिएको छ किन ? आन्तरिक मूल्यांकन विधि देखाउनका लागि मात्रै हो कि साँच्चै नै हो ?
यसमा दुईवटा पार्ट छ । जस्तो २०७९ असार ७ मा जब हामीले पार्टी स्थापना गर्यौं, त्यो बेलाको एउटा हाम्रो ‘मेजर पिलर’ ‘प्राइमरी इलेक्सन’ थियो । हामी ‘डे वान’देखि नै संस्थापकको रूपमा हामी के कुरामा क्लियर थियौं भने हाम्रो पार्टीबाट उमेदवार हुने व्यक्तिले हाम्रो ढोका कहिल्यै पनि घच्घचाउन नपरोस् ।
कुनै एउटा व्यक्ति उमेदवार बन्न चाहन्छ भने पार्टीको विधिमार्फत् उसले आफ्नो उम्मेदवारीको दाबी प्रस्तुत गर्न पाओस् । त्यो पोइन्टमा ‘डे वान’देखि हामी क्लियर थियौँ । उम्मेदवारी कुनै नेताको कोटको गोजीको ‘नेम लिस्ट’ हुनुहुँदैन भन्ने कुरामा हामी क्लियर थियौँ । सायद सर्वप्रथम होला मोबाइल एप बनाएर मोबाइल एपमार्फत हामीले प्राइमरी इलेक्सन गरेका थियौँ ।
अहिले त्यसमा ‘टेक्निकल ग्लिचेज’हरू कति थिए, त्यो डिस्कसनको पार्ट होला । किनकि फेसबुकको एप अहिले पनि ‘बग’ आउँछ भने एउटा पार्टीले स्थापनाको दुई–तीन महिनामा बनाएको मोबाइल एप ‘हन्ड्रेड पर्सेन्ट’ ‘टेक्निकल्ली फ्री’ थियो कि थिएन, एउटा पार्ट होला । तर त्यो पोइन्टमा पनि पार्टीको नियत र पार्टीको पद्धति क्लियर थियो ।
त्यसपछि हामीले दुई–तीनवटा निर्वाचनमा थप भाग लियौँ । तनहुँको उपनिर्वाचनको कुराहरू होला, इलामको होला अथवा अस्ति नै हाम्रो स्थानीय उपनिर्वाचनका कुराहरू पनि होला । यी सबै उपनिर्वाचनहरूबाट हामीले पाएको, त्यो उपनिर्वाचनमा हाम्रो क्यान्डिडेट छान्दै गर्दा अथवा प्राइमरी इलेक्सनमा जाँदै गर्दा हामीले थाहा पाएको अथवा रियलाइज गरेको एउटा पार्ट के हो भने भोट काउन्टलाई मात्रै हन्ड्रेड पर्सेन्ट मानक मान्दै गर्दाखेरि कहिलेकाहीँ क्यान्डिडेटको अरू ‘एट्रिब्युट’हरू ओझेलमा पर्न सक्छ ।
त्यसैले लोकतन्त्रको सुन्दर पक्ष मतदानलाई पनि इक्वल भ्यालु दिने र त्यो सँगसँगै त्यो व्यक्तिको बहुआयामिक पक्षहरूको पनि ‘डिफरेन्ट इन्डिकेटर’हरूमा ‘प्रपर चेक’ गरियो भने सम्भवतः हामीले दिने उम्मेदवार जे पदका लागि ऊ लड्दैछ, त्यो पदका लागि ‘बेस्ट पोसिबल क्यान्डिडेट’ हुन सक्छ भन्ने लागिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट विधिलाई थप परिष्कृत गर्नुपर्छ भन्ने सोचेर एउटा कार्यदल बनायो । त्यो कार्यदलको नेतृत्व मैले नै गरेको थिएँ । उम्मेदवार छनोट विधि बनाउनुपर्छ भनेर सचिवालयले मलाई जिम्मा दिएको थियो ।
छनोट विधिको त्यो कार्यपत्रमा मैले कार्यविधि प्रस्तुत गरिसकेपछि धेरै छलफल गर्यौं । हामीले एउटा यस्तो विधि बनायौँ, जुन विधिमा प्राइमरी इलेक्सन ५० प्रतिशतका रूपमा रहन्छ । बाँकी ५० प्रतिशत लिडरसिप एकेडेमीको नतिजा, पोलिटिकल प्रक्सिमिटी र समावेशिता भनेर चारवटा इन्डिकेटरबाट एउटा उम्मेदवारलाई जज गरियो भने त्यसले भूगोलसँगको तादम्यता पनि देखाउँछ । त्यसको ‘एक्सपर्टाइज’ पनि चेक हुन्छ । त्यसले पार्टीसँगको आत्मीयता कति छ र पार्टीमा उसले ‘कन्ट्रिब्युसन’ कति गरेको छ, त्यो कुराहरू पनि फेयर तरिकाले हेर्नेभयो ।
त्यसकारण यो सबै गर्नुको पछाडिको मुख्य कारण हार्ने उम्मेदवारले पनि ‘ए, म त विधिसम्मत हारेको हो’ भनेर फिल गर्न पाओस् । नत्र एउटा नेपाली परम्परा कस्तो छ भने जित्ने उम्मेदवारले त्यो विधिलाई गज्जबको छ भन्छ तर हार्ने उम्मेदवारले त्यसमा जहिले पनि केही न केही पूर्वाग्रही भाव हुन्छ, पूर्वाग्रही भए भन्छ ।
त्यही भएर हामी के कुरामा सचेत छौँ भने हार्ने उम्मेदवारले पनि ‘विधि त गज्जब हो, मेरो क्षमता अहिलेका लागि नपुगेको हो है, मैले अझ मेहनत गर्नुपर्छ’ भन्ने फिल गरेर अगाडि बढोस् भन्ने मेकानिजममा यो पटक यो रुपन्देही–३ को उपनिर्वाचनलाई एउटा पाइलट प्रोजेक्टका रूपमा हामीले उम्मेदवार छनोट विधि टेस्ट गर्दैछौँ ।
अब यो टेस्ट गर्दै गर्दाखेरि यसका ‘ग्लिचेजहरू’ के–के हुन् ? जज हुनुपर्छ । किनकि जहिले पनि बनाउने साधकले आफूले बनाएको विधि गज्जब छ भन्ने नै मान्छ । तर त्यो टेस्टमा गइसकेपछि त्यसका दुर्बल पक्षहरू त्यसपछि थाहा हुन्छ । हाम्रा लागि रुपन्देही–३ को निर्वाचन त्योसँग जोडिएको यो विधि किन पनि महत्वपूर्ण छ भने २०८४ को स्थानीय निर्वाचन अथवा अन्य निर्वाचनमा पार्टीले भाग लिँदै गर्दाखेरि यस्तो विधि बनाउन सकोस्, जुन विधिबाट अटो मोडमा त्यो विधि चलोस् ।

उत्कृष्ट मान्छेहरू छानियोस् भनेर यो विधि बनाएका हौँ । यो विधि देखाउने दाँत होइन । यदि देखाउने दाँत हुन्थ्यो भने अनाउन्समेन्टदेखि हिजोको मितिसम्म हामीले गरेका हरेक एक्टिभिटिजहरूलाई ट्रान्सपरेन्ट्ली पब्लिक डोमेनमा राख्या छौँ । पार्टीको आधिकारिक सामाजिक सञ्जालहरूबाट त्यो मिटिङको भिडियो पनि राखेका छौँ । यसको मतलब हामीले हाम्रोभित्र भएका छलफलहरूलाई पनि पब्लिक डोमेनमा देखाइराखेका छौँ । यसको अब्जेक्टिभ एउटै के हो भने पार्टीलाई माया गर्ने सदस्यहरू, पार्टीप्रति सद्भाव राख्ने सदस्यहरू र पार्टीप्रति क्रिटिकल हुने साथीहरू, लोकतन्त्रलाई विश्वास मान्नेले पार्टीको उम्मेदवार छनोट विधि यस्तो हुनुपर्छ भनेर देखुन् । यसले अरू पार्टीहरूलाई पनि दबाब पुगोस् ।
हाम्रो उद्देश्य लोकतन्त्रलाई सुसंस्कृत गर्ने हो, जसले गरे पनि हुन्छ । हामीले बनाएको विधिबाट अरू पार्टीहरूले पनि पाठ सिकेर त्यसका थोरै कुरा मात्रै पनि अँगाले त्यसले समग्र राष्ट्रलाई नै भलो गर्ने हो । त्यो हिसाबले जे हामी गर्छौं, त्यो कुरालाई ट्रान्सपरेन्ट, अकाउन्टेबल र फेयर बनाउने कुरामा हामी काम गरिराखेका छौँ । त्यो पार्टमा नि:सन्देह हुन म आग्रह पनि गर्न चाहन्छु ।
धेरैले चासो राखेको ४५ प्रतिशत आन्तरिक छनोट विधिको अवलोकन, मूल्याङ्कन र मानाङ्क दिने काम कसले गर्छ ?
त्यो नम्बर दिने भनेको विधिले दिने हो । यसमा दुइटा पार्ट छ । जस्तो उम्मेदवार छनोट विधिको त्यो डकुमेन्ट हेर्नुभयो भने पनि लिडरसिप एकेडेमीको तल लिडरसिप एकेडेमी सञ्चालनमा नआएसम्म पार्टी सचिवालयले डिसिजन गर्ने भनेर लेखेको छ । तर त्यो भन्दै गर्दा हामी यस्तो विधि बनाउन खोजिराखेका छौँ, जसले एडप्ट गर्दा पनि ऊ वैज्ञानिक ढंगले काम गरोस् ।
यस्तो विधि बनोस् जहाँ को व्यक्ति बस्छ भन्ने कुराले खासै अर्थ नराखोस् । जस्तो मानौं, तपाईंको अगाडि मैले एउटा मोबाइल र चस्मा राखिदिएँ भने तपाईंले मोबाइललाई मोबाइल नै भन्नुहुन्छ, चस्मालाई चस्मा नै भन्नुहुन्छ । त्यो जो आए पनि चेन्ज हुँदैन । यो विधि २०८४ को चुनावमा जाँदा ६ हजार ७४३ वटा वडामा पुग्नुपर्छ ।
हरेक वडाका पाँचजना क्यान्डिडेट छान्ने विधि पनि यही हो । त्यो विधि त यस्तो हुनुपर्यो कि सिस्टममै काम गर्ने हुनुपर्यो । किनकि २०८४ को चुनावमा हुनसक्छ केन्द्रका साथीहरूले म्याग्दीको एउटा कुनै गाउँपालिकाको, कुनै वडाको, कुनै सदस्य छान्न यहाँ बसेर मोनिटर गर्न सक्दैन । त्यसकारण हामीले व्यक्तिभन्दा पनि विधि बनाउन खोजिराखेको हो । त्यो विधिमा को–को कुन कन्टेक्स्टमा कसरी जोडिन्छन् भन्ने कुरा सेकेन्डरी भयो ।
तर अहिलेका लागि विधि यस्तो हुनुपर्यो कि त्यो विधिमा चेक गर्ने मान्छे जो आए पनि उसले ट्विस्ट गर्न नसकोस् । कसैले त्यहाँ बायसनेस गर्न नसकोस् । त्यसैले हामी त्यो विधि बनाउँदैछौँ ।
रुपन्देही–३ को निर्वाचनको हकमा यो पाइलट प्रोजेक्ट जस्तो पनि भएको छ । यदि उम्मेदवारसँगको छलफल याद गर्नुभयो भने लिडरसिप एकेडेमीको संयोजक वा लुम्बिनी प्रदेशको इन्चार्ज र चुनावको संयोजकका हिसाबले त्यसको सहजकर्ताको रूपमा मैले काम गरेको थिएँ । तर मसँगै दुईजना, एकजना लुम्बिनी प्रदेशका सभापति र हाम्रो पार्टी सचिवालय सदस्य लिमा अधिकारीजी अब्जर्भरका रूपमा बस्नुभएको थियो । अहिलेका लागि प्राइमरी डिसिजनमा त्यो विधिअनुसार सचिवालयका साथीहरूले नै गर्नुहुन्छ । तर त्यससँगै अब २७ गतेदेखि ११ गतेसम्म फिल्डवर्कका गतिविधिमा समग्र पार्टीको विभिन्न तह संलग्न हुनेछ ।
यो विधिमा पार्टीभन्दा बाहिरका विज्ञहरू सहभागी हुन पाउँछन् कि पाउँदैनन् ?
सचिवालयले फाइनल एलिमेन्टको मोनिटरिङ गर्ने हो । त्यसमा अरू कस–कसलाई थप्ने भन्ने कुरा सचिवालयको विवेक र उसको प्रोसेसको पार्ट भयो । अहिलेका लागि सचिवालयका सदस्यलाई जोड्यौँ । हुनसक्छ, अब हुने गतिविधिमा बाहिरका एक्सपर्टहरू पनि जोडिएलान्, बाहिरको प्यानलिस्टहरू पनि जोडिएलान् । मैले अहिले तपाईंलाई सबै भन्दिएँ भने मजा आउँदैन नि । त्यसैले हामी केही विशेष गर्न नै खोजिराखेका छौँ ।
यस विधिमा ५० प्रतिशत प्राइमरी निर्वाचनबाट आउने भएकाले धेरै मत ल्याउने उम्मेदवार नै छानिने भयो, सकियो । पाँच प्रतिशत समावेशीबाट छानिने भए । बाँकी ४५ प्रतिशतमा एउटा सभापतिको नजिक होला, अर्को उपसभापतिको नजिक होला, अर्को तपाईंको नजिक होला, त्यसको आधारमा मत प्रभावित हुने खतरा रहला नि ?
हैन, मैले यही बुझाउन खोजेको हो । जस्तो मानौं, त्यो तपाईंले भन्याजस्तो मार्किङ गर्ने व्यक्तिका रूपमा एकजना व्यक्ति सम्भवतः म होला । मैले दिने अंक मैले पब्लिक डोमेनमा भ्यालिडेट गर्नुपर्छ होला नि । त्यो लुकाउने भएको भए के हुन्थ्यो, जे दिए पनि हुन्थ्यो ।
कसले कति अंक दियो, कुन–कुन विषयमा के तरिकाले दियो भन्ने कुरा पनि पब्लिकमा गइसकेपछि दिने मान्छेहरूको पनि नैतिकताको, इमानको, नियतको र अबिलिटीको कुरा होला । भनेपछि त्यहाँ को–कोसँग नजिक छ भन्ने कुराले खासै फरक पर्दैन । मैले दिने अंक एउटा बन्द खाममा भएर सिधै छानिने भएको भए फरक केही पनि फरक पर्दैनथ्यो । तर यो व्यक्तिलाई यो–यो खुबी भएका कारणले उसले यति अंक दिएको भन्ने आधार नै पब्लिक डोमेनमा जाने भइसकेपछि पूर्वाग्रह राख्ने सम्भावना रहँदैन ।
सभापतिले फलानोलाई ल्याउनैपर्छ भनेर दबाब दिनुभयो भने अंकभार प्रभावित हुने भयो होइन ?
के बुझ्नुपर्यो भने सभापतिले कुनै एकजना व्यक्ति, कुनै दुईजना व्यक्तिलाई सांसद बनाउनका लागि पार्टी खोल्नुभएकै होइन । हामी कसैले पनि एक–दुईजनाका लागि पार्टी खोल्ने भएको भए यति दुःख गर्नै पर्दैनथ्यो । हामी सबैले एउटा राम्रो लाइफ बिताइरहेका थियौँ । राम्रो प्रोफेसनल करिअरमा थियौँ । हामी फेरि त्यो दुई–चारजना नचिनेका मान्छेहरूलाई सांसद बनाउनका लागि यति धेरै दुःख गर्नुपर्दैन । अहिलेसम्म चाहे त्यो पार्टीको स्थापना पोइन्टमा होला वा आजको दिनमा मलाई कसैले यो व्यक्तिलाई सांसद बनाउनुपर्यो भनेर प्रेसर दिएको मैले देख्या छैन । मैले सुनेको छैन ।
कुनै पार्टीको सचिवालय सदस्य होस् वा केन्द्रीय सदस्य होस् वा कुनै पनि पार्टीको मेम्बरले क्यान्डिडेटलाई हटिदिनुस्, छोडिदिनुस् भनेर केही भन्यो भने हामीलाई कम्प्लेन गर्नुहोला भनेर भन्या छौँ । भन्नुको मतलब विधि कोही पनि व्यक्तिको प्रभावमा पर्दैन र त्यो प्रभावमा नपरोस् भन्नका लागि नै यति धेरै दुःख गरेर पत्र–पत्र केलाएर विधि बनाएको हो । नत्र यति धेरै दुःख गरेर विधि बनाउनै पर्दैन ।
त्यसो भए यो विधि देखाउने दाँत मात्र होइन ?
यदि देखाउने दाँत हुन्थ्यो भने यत्रो दुःख गरेर किन बनाउनुपर्थ्यो ? अरू पार्टीले गरेको जस्तै भइहाल्थ्यो । तपाईंलाई अघि भन्याजस्तो तलबाट सिफारिस भएर आउने अनि केन्द्रका पाँचजना बसेर छाने भइहाल्थ्यो । हामीले नयाँ विधि बनाएका कारणले डिस्कसनमा आएको हो । नत्र विधि नै नबनाएको भए अरू पार्टीले पनि त्यही गरेका छन्, हाम्रो पार्टीलाई तपाईंहरूले जज नै गर्नुहुँदैनथ्यो । यही नै प्राक्टिस हो भन्ने कुरा आउँथ्यो ।
त्यो प्राक्टिसलाई हामीले ब्रेक गर्दैछौँ भन्नुको मतलब त्यही विधिलाई सही बनाऔँ, सुसंस्कृत बनाऔँ भनेरै हो । त्यो हिसाबले भदौको १५ गतेसम्मको प्रोसेस हेरिदिनुस् भन्छु । किनकि कहिलेकाहीँ हामीले गज्जब गरिरहेको भन्ने लाग्न सक्छ, त्यो कुराहरू सतही पनि हुनसक्छ । आजको विन्दुसम्म जति ट्रान्सपरेन्ट हामी भएका छौँ, आउने कुराका लागि अझ बढी ट्रान्सपरेन्ट हुन्छ । यद्यपि नेपालभित्र रहेका नेपाली दाजुभाइ, दिदीबहिनीले मात्रै होइन, बाहिरका दाजुभाइ, दिदीबहिनीहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको विधिप्रति साँच्चिकै गर्व गर्न सकुन् ।
हामी पार्टी स्थापना गर्दाखेरि के भन्थ्यौँ भने हामी यस्तो पार्टी बनाउनुपर्छ जहाँ राजनीतिको ‘र’ नजान्ने मान्छेले पनि राजनीति गर्ने हिम्मत गर्न सकोस् । किनकि राजनीति सबैको पढाइको विषय नहुन सक्छ । तर मैले राजनीति जान्नुपर्दैन, नियत मेरो सफा छ र म कुनै विषयमा राम्रो छु भने म राजनीति गर्न सक्छु भन्ने मानक बनाउने भनेको यस्तै विधिहरूको भ्यालिडिटी हो ।
त्यसैले हामी के कुरामा सचेत छौँ भने जुन नेपाली नागरिकहरूले हामीप्रति त्यो अगाध विश्वास गर्नुभएको छ, त्यो विश्वास एक–दुईजना व्यक्तिलाई सांसद बनाउनका लागि हामी तोड्दैनौँ । त्यति कुरामा ढुक्क हुनुपर्छ ।
यदि प्राइमरी निर्वाचनमा नौ जना नै अस्वीकृत भए अर्थात् कसैलाई नै भोट दिन्नौं भन्यो भने के गर्नुहुन्छ ?
प्रारम्भिक निर्वाचनमा नोटा भन्ने एउटा अप्सन राखेका छौँ । मानौं रुपन्देही–३ का लागि हामी दुई जना नै क्यान्डिडेट बन्यौँ । तर दुई जना नै ठिक छैन भन्ने लाग्यो भने ‘नन् अफ दी एभव) विकल्प पनि राखेको छ । नोटामा सबैभन्दा बढी मत आयो भने हामी दुवै जना उम्मेदवार अस्वीकृत हुन्छौँ । फेरि नयाँ प्रोसेसमा जान्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण