बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रुपन्देही–३ उपनिर्वाचन

९ जना उम्मेदवार नै अस्वीकृत हुन सक्ने, यस्तो छ रास्वपाको छनोट विधि

आइतबार, २५ साउन २०८२, १६ : २१
आइतबार, २५ साउन २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही–३ मा आगामी कात्तिक १७ हुने उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार र सोमबार हुने छलफलमा पार्टीको तर्फबाट मोडरेसन (मध्यस्थता) सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गरेका छन् । 

छलफलको अब्जर्भेसन(अवलोकन) केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गरिरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । आवेदन दिएका व्यक्तिहरुको नामावली रास्वपाले साउन २३ गते सार्वजनिक गरेको थियो । साउन ७ देखि २१ गतेसम्म पार्टीले खुलाएको आवेदनमा उनीहरूले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए ।  

आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा. लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् । आवेदन दिनेमा महर्जन बाहेक सबै जना स्थानीय रहेका छन् ।

पार्टीले बनाएको छनोट विधि अनुसार उम्मेदवारका आकाङ्क्षीहरुसँग छलफल पश्चात् साउन २६ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । साउन २७ देखि भदौ ११ गतेसम्म पार्टीले तय गरेको चारवटा विधि बमोजिम उम्मेदवारहरूको मापन गरिने झाको भनाइ छ । भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारम्भिक निर्वाचन हुनेछ । त्यसमा रुपन्देही ३ का मतदाता नामावलीमा नाम भएका पार्टीका विभिन्न समितिमा बसेका र केन्द्रीय समितिमा बसेका नेताहरूले मतदान गर्न पाउनेछन् ।

प्रारम्भिक निर्वाचनमा भोट हाल्न चाहने व्यक्तिले साउन २६ गते उम्मेदवारको प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन हुने बेलासम्म रुपन्देही ३ का बासिन्दा जुन ठाउँमा भए पनि मोबाइल एपबाट सदस्यता लिएर मतदानमा सहभागी हुन सकिन्छ । रास्वपाले भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ ।

  • कसरी छानिन्छन् उम्मेदवार ?

परम्परागत पार्टीभन्दा रास्वपाका उम्मेदवार छनोट विधि फरक रहेको छ । अन्य पार्टीमा लामो समय पार्टी हितको पक्षमा त्याग, तपस्या, योगदान गरेको, सम्बन्धित उम्मेदवारको योग्यता, क्षमता, लोकप्रियताको आधारमा पार्टीको बैठक बसेर छनोट गरिन्छ । ती बाहेक निर्वाचनको बेला अन्य पार्टीबाट आएका उम्मेदवार जित्न सक्ने अवस्थामा पनि उम्मेदवार बनाइएको उदाहरण प्रशस्त छन् । तर रास्वपाले जसरी एउटा निश्चित विधि नै बनाएर प्राइमरी निर्वाचन गरेको भेटिँदैन । त्यसैले रास्वपाको उम्मेदवार छनोट विधि निकै चासोपूर्वक हेरिएको छ । रास्वपाको विधानको भाग १९ अन्तर्गत रहेको लिडरसिप एकेडेमी र उम्मेदवार क्लब तथा भाग २० बमोजिम प्रारम्भिक निर्वाचन(उम्मेदवार छनोट) र निर्वाचित जनप्रतिनिधि सम्बन्धी खण्डको मूल मर्म आत्मसात् गर्दै पार्टीले राज्यका विभिन्न तहका निर्वाचन उम्मेदवार छनोट उद्देश्यले विधि तयार पारेको छ ।

राज्य सञ्चालनका लागि आवश्यक सबै तहका निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, वैज्ञानिक,  पारदर्शी, समयसापेक्ष तथा वस्तुनिष्ठ हुनुपर्छ भन्ने मान्यताअनुरूप पार्टीले यो विधि अङ्गीकार गरेको प्रवक्ता झाको दाबी छ । उनका अनुसार यस्तो विधिबाट मात्र देश र जनताप्रति प्रतिबद्ध, योग्य र सक्षम उम्मेदवार चयन हुन सक्ने विश्वास लिएको छ ।  

यस उम्मेदवार छनोट विधिको मूल उद्देश्य पार्टीका मूल्य–मान्यता, सिद्धान्त र आदर्शलाई केन्द्रमा राखी सम्बन्धित निर्वाचन क्षेत्रको जनअपेक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने नेतृत्वदायी क्षमता भएका  उम्मेदवारहरूको पहिचान, छनोट र सिफारिस गर्ने सहमहामन्त्री तथा रुपन्देहीका इन्चार्ज विपिनकुमार आचार्यले जिकिर गरे ।

‘पार्टीमा लाग्नेले पनि गतिविधिको योगदान पाओस् । नलाग्नेले पनि समाजमा गज्जबको योगदान होला, त्यसले पनि भ्यालु पाओस् । कसैले पनि लेफ्ट आउट फिल(बाहिर परेको महसुस) नगरोस् भन्ने उद्देश्य हो । यो पार्टीको झोलासँग सम्बन्धित छैन’, उनले भनेका छन् ।

  • उम्मेदवारको योग्यता

पार्टी विधानको भाग २० को खण्ड ६४ ले उम्मेदवारको योग्यताबारे स्पष्ट व्यवस्था गरेको छ । पार्टी विधान अनुसार योग्यता पुगेका पार्टी सदस्यहरू मात्र पार्टीले बनाएको उम्मेदवार छनोट विधिमार्फत राज्यका कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन योग्य हुने पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 १. प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योग्य भएको  ।

 २. पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको  ।

 ३. प्रहरी रिपोर्ट पेस गरेको  ।

 ४. भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार(पसार, लागूऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको  । अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको  ।

 ५. पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध  ।

 ६. अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेका

  • उम्मेदवार छनोट विधि

पार्टीले बनाएको मापदण्ड अनुसार उम्मेदवारको अन्तिम छनोट कारक मूल्याङ्कन विधि(फ्याक्टर रेटिङ मेथड)अनुसार विभिन्न पक्षहरूको वस्तुनिष्ठ मूल्याङ्कनलाई आधार मानेर गरिनेछ । केन्द्रीय समितिले अनुमोदन गरेको विशेष परिस्थिति बाहेक उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमीमा उम्मेदवारको वस्तुगत र सफल सहभागिता अनिवार्य हुनेछ ।

  • कारक मूल्याङ्कन विधि, मुख्य पक्ष र अङ्कभार

१. लिडरसिप एकेडेमीको नतिजा

रास्वपाले कारक मूल्याङ्कन विधि अन्तर्गत पहिलो नम्बरमा लिडरसिप एकेडेमीको नतिजालाई प्राथमिकता दिएको छ । २५ प्रतिशत अङ्कभार दिएको यस विधिमा १०० पूर्णाङ्कमध्ये राजनीतिक चेत र विचार २० प्रतिशत, सदाचार र नैतिकता १० प्रतिशत, शिक्षा तथा पेसागत अनुभव २० प्रतिशत, नेतृत्वदायी अनुभव २० प्रतिशत र भविष्य–दृष्टि(भिजन)मा ३० प्रतिशत दिएको छ ।

२. पोलिटिकल प्रोक्सिमिटी(निकटता)

दोस्रो छनोट विधिमा पोलिटिकल प्रोक्सिमिटी(राजनीतिक निकटता) २० प्रतिशत रहेको छ । यस विधिमा तीनवटा सूचकाङ्क दिएको छ । राजनीतिक निकटतालाई सबैभन्दा बढी ५० प्रतिशत दिएको छ । सामाजिक  डेमोग्राफिक प्रोक्सिमिटी २५ प्रतिशत र लोकतान्त्रिक प्रोक्सिमिटी २५ प्रतिशत रहेको छ । २० प्रतिशतको १०० पूर्णाङ्कमा जसले बढी अङ्क पाउनेछ त्यो उम्मेदवारलाई प्राथमिकतामा राखिने छ ।

३. समावेशिता

रास्वपाले समावेशी अन्तर्गत जम्मा ५ प्रतिशत अङ्कभार राखेको छ । महिला, दलित, आदिवासी/जनजाति, थारु, मुस्लिम, मधेसी, पिछडिएका क्षेत्र, अपाङ्गता भएका व्यक्तिहरू उम्मेदवार भएमा यो विधिबाट अङ्कभार पाउनेछ ।

४. प्रारम्भिक नतिजा

सबैभन्दा बढी प्राथमिकता रास्वपाले प्रारम्भिक नतिजालाई दिएको छ । यो छनोट विधिअन्तर्गत उसले ५० प्रतिशत अङ्कभार राखेको छ । प्राइमरी निर्वाचनबाट सबैभन्दा बढी मत पाउने व्यक्ति उम्मेदवार छनोट हुनेछन् । तीनवटा सूचकाङ्क रहेकोमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यहरूको मतदान ८० प्रतिशत, निर्वाचन क्षेत्रभित्र मतदाता रहेका  पार्टीका तहगत सदस्यहरूको मतदान १० प्रतिशत र केन्द्रीय समिति सदस्यहरूको मतदान १० प्रतिशत रहेको  छ । माथिका यी चारवटा विधिबाट सबैभन्दा बढी मत पाउने व्यक्ति पार्टीका आधिकारिक उम्मेदवार बन्न सक्नेछन् ।

पार्टी प्रोक्सिमिटी(निकटता) नभएको व्यक्ति उम्मेदवार छनोट हुने सम्भावना छ कि छैन भन्ने प्रश्नमा १०० अङ्क अन्तर्गत २० प्रतिशत मात्र राजनीतिक निकटता रहेकाले अन्य सूचकाङ्कबाट अङ्कभार बढाउन सकिने प्रवक्ता झाले जिकिर गरेका छन् ।  

‘पार्टीसँग आबद्धताको मामलामा कमजोर भए पनि व्यक्तित्वको मामिलामा सक्षम हुनसक्छ । वर्षौँसम्म पार्टीसँग आबद्धताभन्दा सामाजिक छवि, व्यक्तिगत प्रस्तुति बलियो छ भने अन्यतिर सन्तुलन गर्न सकिन्छ । पोलिटीकल एकेडेमीमा व्यक्तित्वका कारण धेरै मत पाउन सकिन्छ । लोकप्रिय भएमा प्राइमरी निर्वाचनमा धेरै अङ्क पाउन सकिन्छ’, उनी भन्छन् ।

  • नौवटै उम्मेदवार रिजेक्ट(अस्वीकृत) हुन सक्ने

रास्वपाले उम्मेदवार छनोट चारवटा विधि बाहेक प्रारम्भिक निर्वाचनमा नाटा अर्थात् नन् अफ दि एभव विकल्प पनि राखेको छ । मतदातालाई कुनै पनि उम्मेदवार मन नपरेको अवस्थामा कसैलाई पनि मतदान नगर्ने अधिकार सुनिश्चित गरिनेछ । यदि नाटा विकल्पले सबैभन्दा बढी मत पायो भने, अन्य सबै उम्मेदवारहरूको उम्मेदवारी स्वतः उम्मेदवारी खारेज हुनेछ । र, त्यस क्षेत्रका लागि नयाँ उम्मेदवार छनोट गरी पुनः मतदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप