निद्रा पुगेको छैन भने शरीरले दिन्छ यस्ता सङ्केत
सारांश
- व्यस्त जीवनशैलीका कारण धेरैलाई राम्रो निद्रा पाउन गाह्रो भइरहेको छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ।
- निद्राको कमीका कारण दिनभर थकान, मुड स्विङ, रोग प्रतिरोधात्मक क्षमतामा कमी, स्मरणशक्ति कमजोर हुने जस्ता समस्या आउँछन्।
- पर्याप्त निद्राका लागि ध्यान, व्यायाम, सुत्नुअघि मोबाइलको प्रयोग बन्द गर्ने जस्ता उपायहरू अपनाउन सकिन्छ।
काठमाडौँ । अहिलेको व्यस्त र भागदौडपूर्ण जीवनमा राम्रो निद्रा पाउनु धेरैका लागि चुनौतीपूर्ण बनेको छ । कामको चाप, राती अबेरसम्म मोबाइल वा ल्यापटपको प्रयोग र अस्वस्थ दिनचर्याका कारण हाम्रो निद्राको समय र गुणस्तर दुवै प्रभावित भइरहेका छन् । निद्रा आराम गर्ने माध्यम मात्र होइन, यो शरीर र दिमाग दुवैको लागि धेरै महत्त्वपूर्ण छ ।
राम्रो निद्राले हाम्रो मुड, ऊर्जा र सोच्ने अनि बुझ्ने क्षमतामा सुधार ल्याउँछ । तर निद्राको कमीले बिस्तारै हाम्रो स्वास्थ्यलाई नराम्रो असर गर्न थाल्छ । निद्रा पूरा भएन भने थकान महसुस भइरहन्छ । यसबाहेक हाम्रो शरीरले धेरै तरिकाले उचित आराम नपाएको सङ्केत दिइरहेका हुन्छन् । तर हामी प्रायः यी सङ्केतहरूलाई बेवास्ता गर्छौ । भविष्यमा ठूला समस्याहरूबाट बच्ने हो भने यस्ता सङ्केतलाई बेवास्ता गर्नु हुन्न ।
राम्रो निद्राले शरीरलाई ऊर्जा दिनुको साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र मानसिक सन्तुलन कायम राख्न पनि मद्दत गर्छ । आजको यस लेखमा हामी पर्याप्त निद्रा नपुग्दा के कस्ता सङ्केतहरू देखिन्छन् भनेर बताउनेछौँ ।
राम्रोसँग ननिदाउँदा शरीरमा देखिने संकेतहरूः
- दिनभरि थाकेको जस्तो महसुस हुन्छ, आलस्य भइरहन्छ र कुनै पनि काम गर्न मन लाग्दैन भने, यो निद्राको कमीको सङ्केत हुन सक्छ ।
- पर्याप्त निदाउन सकिएन भने मुड स्विङको समस्या हुन्छ । सधैँ चिडचिड वा बेचैन महसुस भइरहन्छ ।
- निद्राको कमी भएर शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यस्तो अवस्थामा, बारम्बार बिरामी परिन्छ । छिटै नै चिसो लाग्ने, खोकीले समाइहाल्ने, फ्लू र ज्वरो आउने हुन सक्छ । तपाईँलाई पनि यस्तो भइरहेको छ भने, बुझ्नुस् तपाईँलाई पर्याप्त निद्राको खाँचो छ ।
- निद्राको कमीले मस्तिष्कमा नकारात्मक असर पार्छ । स्मरणशक्ति कमजोर हुन सक्छ । ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ । तपाईँले स–साना कुराहरू बिर्स थाल्नुभयो भने यो निद्राको कमीको सङ्केत पनि हुन सक्छ ।
- निद्राको कमीले भोकलाई पनि असर गर्छ । या त बारम्बार भोक लाग्छ कि खाने इच्छा नै हराएर जानेछ ।
यी उपायहरू अपनाएर राम्रो निद्रा लिन सक्नु हुन्छ:
- ध्यान गर्नुहोस् ।
- कसरत गर्नुहोस् ।
- राति सुत्दा कोठाको बत्ती मधुरो राख्नुहोस् ।
- सुत्नुअघि चिया वा कफी पिउन बन्द गर्नुहोस् ।
- सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि नै मोबाइल वा उपकरणको प्रयोग बन्द गर्नुहोस् ।
अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण