शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

शुक्रबार, ३० साउन २०८२, २२ : ३८
शुक्रबार, ३० साउन २०८२

सारांश

  • नेवार समुदायमा विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ, जसमा बागलुङ बजारमा तीन सय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ।
  • जोगी नाचमा जोगीको भेषमा सजिएर मृदङ्ग र झ्यालीको तालमा नाचिने प्रचलन छ, र यसले सामाजिक एकता र सद्भावको सन्देश दिन्छ।
  • युवा पुस्तालाई नाच सिकाएर परम्परागत नाचको संरक्षण गर्ने प्रयास भइरहेको छ, जसमा शाक्य कल्याण समाज र मंकाः खलःको भूमिका महत्त्वपूर्ण छ।

गण्डकी । नेवार समुदायमा यति बेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ । पोखरा, बागलुङलगायत नेवार बस्तीमा दैनिक जसो परम्परागत नाच प्रदर्शन भइरहेका छन् । 

घण्टाकर्ण पर्वदेखि नेवार समुदायमा सांस्कृतिक गतिविधि सुरु हुन्छन् । ठुला चाडबाड आउनुअघि चल्ने यस्ता जात्रा र नाचले पर्वमय माहौलको छनक दिन्छन् । शुक्रबार बागलुङ बजारमा करिब तीन सय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ । जोगीको भेष धारण गरेर कलाकारले आफ्नै मौलिक नाच देखाएका हुन् । 

शाक्य कल्याण समाजको अगुवाइमा नाच निकालिएको थियो । समाजका सल्लाहकार मुकुन्द शाक्यले नेवार जाति काठमाडौँ उपत्यकाबाट बसाइँसराइ गरेर आउँदा उक्त नाच पनि सँगै लिएर आएका बताए ।

“हाम्रा पूर्वजहरूले नाच्दै आएका जोगी नाचलाई निरन्तरता दिँदै आएका छौँ, सांस्कृतिक धरोहरका रूपमा यो जीवित छ”, उनले भने, “झण्डै तीन सय वर्षदेखि यो नाच बागलुङमा अस्तित्वमा छ, अन्यत्र जोगी नाच खासै नाचिएको पाइँदैन । जोगी नाचमा ताण्डव र हिँडाउने गरी दुई तालमा कलाकारलाई नचाउने गरिएको छ ।”

पहिले जोगी नाचमा चार ताल रहे पनि दुई ताल हराइसकेका सल्लाहकार शाक्यले जानकारी दिए । उनका अनुसार यस नाचमा जोगीको भेषमा सजिएर मृदङ्ग र झ्यालीको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ । 

यसपालि अधिकांश युवा पुस्ताका कलाकारलाई नाचमा समेटिएको समाजका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिए। उनका अनुसार पुस्तान्तरण नहुँदा परम्परागत नाच लोप हुने खतरा बढेपछि नयाँ पुस्तालाई नाच सिकाउन सुरु गरिएको हो । 

अध्यक्ष शाक्यका अनुसार मनोरञ्जनसँगै सामाजिक एकता र सद्भावको सन्देशका रूपमा जोगी नाच नचाउने गरिएको छ । जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नास हुने र सहकाल आउने विश्वास गरिन्छ ।

बागलुङका नेवारहरूले जोगीसँगै अन्य परम्परागत नाचलाई पनि संरक्षण गर्दै आएका छन् । बर्सेनि भदौरे जात्रामा ती नाचहरू प्रदर्शन गर्ने गरिएको छ । 

जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष जयराज भारीले बताए । शाक्य कल्याण समाज र मंकाः खलःले संयुक्त रूपमा यस वर्ष जात्राको आयोजना गरेको उनको भनाइ छ । भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन गर्ने गरिएको उनले जानकारी दिए। 

गाईजात्रा पर्वको अवसर पारेर वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिन्छ । यस वर्ष तीजसम्म लाखे नाच देखाइने खलःका अध्यक्ष भारीले उल्लेख गरे । “लाखे र जोगी नाच शाक्य कल्याण समाजले निकाल्दै आएका छन् । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् । नेवार युवाहरूको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप