सुदूरपश्चिमका गाउँ–गाउँमा भलिबलप्रति बढ्दो ‘क्रेज’, रुखमा चढेर दर्शकले दिन्छन् खेलाडीलाई साथ
धनगढी । सुदूरपश्चिममा ठुला चाडपर्वको रौनक सुरु भएसँगै गाउँ–गाउँमा भलिबलको उत्साह पनि बढ्छ । कैलाली, कञ्चनपुर, बझाङ, अछाम, डोटी, डडेल्धुरा लगायतका जिल्लामा विभिन्न मेला र पर्वको अवसर पारेर स्थानीय क्लब तथा पालिकाहरूको सहयोगमा भलिबल प्रतियोगिता आयोजना गरिन्छ ।
यस्ता प्रतियोगिता स्थानीय संस्कृतिको अभिन्न हिस्सा बनिसकेका छन् । प्रदेशका विभिन्न जिल्लाका गाउँघरमा आयोजना हुने भलिबलले खेलाडीको प्रतिभा प्रस्फुटनमात्र होइन, दर्शकलाई पनि खुसी दिएको छ ।
यद्यपि, भलिबल खेलका लागि गाउँतिर राम्रा कोर्ट छैनन् । खेलाडीले व्यवस्थित कोर्टमा खेल्न नपाउनेमात्र होइन, दर्शकले प्याराफिटमा बसेर खेल हेर्न पनि पाउँदैनन् । संरचना अभावमा पनि अन्तर्राष्ट्रियस्तरको खेलको झल्को यी पहाडमा कुनाकाप्चामा देखिने गरेको छ ।
_JBWA3rJBFG.jpg)
भलिबल खेल हेर्नकै लागि गाउँ–गाउँमा दर्शक रुखमा चढ्छन् र खेलाडीलाई साथ दिन्छन् । दर्शकहरू दिनभरिको थकान र आफ्नो दुःख–कष्ट क्षणिक रूपमा भए पनि भलिबल खेल हेरेर बिर्सन्छन् ।
साउनमै बझाङको विकट पालिका सुर्मामा ‘सुर्मादेवी बिरीजात मेला’ को अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना भयो । सुर्मा सरोवर युवा समाज क्लबको पहलमा आयोजना भएको यो प्रतियोगितामा देशभरका चर्चित खेलाडी सहभागी भए ।
पाँच दिनसम्म चलेको खेल हेर्न बालबालिकादेखि वृद्धवृद्धासम्मको ठुलो भिड जम्मा भएको थियो । गाउँको कुना–काप्चामा भलिबल कति लोकप्रिय छ भन्ने त्यो भिडले दर्साइरहेको थियो ।
सुर्माका ६३ वर्षीय बिर्खे धामीलाई मोबाइल चलाउन आउँदैन । उनलाई अन्य खेलबारे खासै जानकारी पनि छैन, तर भलिबल भन्ने बित्तिकै उनी हुरुक्कै हुन्छन् ।
_1cqSHZ47GE.jpg)
खेती–किसानी गरेर जीविकोपार्जन गर्ने धामी स्कुल पढ्दा भलिबल खेल्थे । घरको आर्थिक अवस्थाका कारण पढाइ र खेल दुवै छाड्नु परे पनि भलिबलप्रतिको माया उनमा कहिल्यै घटेन ।
धामीले भने, ‘आज यी खेलाडी मैदानमा उफ्रिएको देख्दा मलाई आफ्नै पुराना दिनको याद आयो ।’ गाउँमा हुने यस्ता प्रतियोगिताले आफूजस्ता धेरैलाई खुसी दिएको उनी बताउँछन् ।
छविसपाथीभेरा गाउँपालिकाकी ७० वर्षीय हासुलीदेवी बोहरालाई भलिबलका नियमबारे धेरै थाहा छैन, तर जब खेलाडीले जोडले स्पाइक हान्छन्, उनी रमाएर ताली बजाउँछिन् ।
खेलाडीहरूले लडेर बल बचाएको देख्दा उनी मन्त्रमुग्ध हुन्छिन् । उनका लागि सुर्मादेवी मेला र सिलदेवी मेलाजस्ता अवसर भलिबल हेर्ने दुर्लभ मौका हुन् । यी दर्शकको उत्साहले खेलाडीहरूलाई थप ऊर्जा दिन्छ ।
_GSjefLBaLK.jpg)
साउन २७ देखि ३१ सम्म अछामको मेल्लेखमा पनि गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप अन्तरपालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता भयो । उक्त प्रतियोगितामा खेलाडीहरू मैदानमा पसिना बगाइरहँदा दर्शकहरू भने रुखका हाँगा, घरका छत र पर्खालमा बसेर खेलको आनन्द लिइरहेका थिए । मेल्लेखको विन्दवासीनी क्षेत्रमा दर्शकको थामीनसक्नु भिड थियो ।
मेल्लेख गाउँपालिका–४ की माया साउँद भलिबल खेल हेर्न घरको सबै काम सकेर दिउँसो मैदानमा पुगेकी थिइन् । उनीसँगै दर्जनौँ महिला पनि प्रतियोगितास्थल पुगेका थिए । भलिबल भनेपछि साउँद पनि निकै खुसी हुन्छिन् । ‘भलिबल हेर्दा दिनभरिको थकाई, आफ्ना दुःख, कष्ट बिर्सिन्छौँ,’ उनले हाँस्दै भनिन् ।
गाउँघरमा आयोजना हुने यस्ता प्रतियोगिता राष्ट्रियस्तरका खेलाडीका लागि पनि महत्त्वपूर्ण प्लेटफर्म बनेका छन् । विभागीय टिम एपीएफबाट खेल्ने चर्चित खेलाडी सुरेन्द्र केसी सुदूरपश्चिममा पटक–पटक खेल्न आउँछन् । उनका अनुसार यस्ता प्रतियोगिताले खेल्ने मौकामात्र नभइ आर्थिक रूपमा पनि ठुलो सहयोग पुर्याएको छ ।
नेपाली राष्ट्रिय टिमका खेलाडी सफल विश्वकर्मा, धनबहादुर भट्टदेखि लिएर विभिन्न प्रदेशबाट खेल्ने राष्ट्रियस्तरका खेलाडीहरू यी प्रतियोगितामा सहभागी हुन्छन् । कर्णालीका खेलाडी अञ्जन विष्टले भने, ‘नेपालमा भलिबलका ठुला प्रतियोगिता कमै हुन्छन् । यदि गाउँ–गाउँमा यस्ता प्रतियोगिता नहुने हो भने हामीले खेल्ने अवसर नै पाउँदैनथ्यौँ ।’
यी प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो खेल कौशल तिखार्न र खेलमै लागिरहन प्रेरित गरेको छ । यति धेरै लोकप्रियताका बाबजुद सुदूरपश्चिममा भलिबलले धेरै चुनौतीको सामना गरिरहेको छ । सबैभन्दा ठुलो समस्या पूर्वाधारको अभाव हो ।
_90VDs5ZS8e.jpg)
सुदूरपश्चिमका नौवटै जिल्लामा एउटा पनि व्यवस्थित भलिबल कोर्ट छैन । खेलाडीहरूले धुलाम्मे मैदानमा खेल्नुपर्ने बाध्यता छ ।
अर्कोतर्फ खेलाडीहरूले खेलेरै आफ्नो जीवन धान्न सक्ने अवस्था छैन । धेरै प्रतिभावान खेलाडी आर्थिक अभावका कारण खेलबाटै पलायन हुन बाध्य छन्, तर यी चुनौतीका बिच पनि आशाका किरण देखिएका छन् । अछामको मेल्लेख गाउँपालिकाले १० लाखको लगानीमा ‘अध्यक्ष कप’ आयोजना गर्नुले स्थानीय तहको सकारात्मक पहललाई देखाउँछ ।
चुनौती धेरै भए पनि प्रदेशका गाउँघरमा आयोजना हुने यी प्रतियोगितालाई आफ्नो क्षमता देखाउने एउटा मञ्चका रूपमा खेलाडीले लिएका छन् ।
_EzHYPR8UXR.jpg)
लामो समयदेखि भलिबल खेलिरहेका खेलाडी विकास रावलले भने, ‘हाम्रोलागि गाउँघरमा आयोजना हुने प्रतियोगिता नै ठुलो मञ्च हुन् ।’ यस्ता प्रतियोगिता बेलाबखत चलिरहन्छन् । यी प्रतियोगिता सञ्चालनका लागि स्थानीय तह र क्लब, परदेशमा रहेका दाताहरूले सहयोग गर्ने गर्छन् ।
यी प्रतियोगितामा टिम बनाएर खेल्न पनि खेलाडीलाई धेरै गाह्रो छ । खेल्ने चाहना भए पनि टिम बनाएर जानसक्ने नहुँदा खेलाडीले प्रतियोगिता आयोजना भए स्पोन्सर खोज्नुपर्छ ।
सुदूरपश्चिम प्रदेश भलिबल टिमका लिव्रो विशाल भण्डारीले भने, ‘हामीले प्रतियोगिता खेल्न जान सहयोग माग्दै हिँड्नुपर्छ । सहयोग पाए टिम बनाएर खेल्न सकिन्छ, नपाए खेल्न सकिँदैन । आयोजना हुने प्रतियोगिताले खेलाडीलाई खेल्ने मौका दिए पनि टिम बनाउन गाह्रो भएको छ ।’
_HhS0Z5Jiwu.jpg)
धनगढीमा सुदूरपश्चिम खेलकुद परिषद्का प्रशिक्षक लालबहादुर बटाला र महेन्द्रनगरमा नृप विकजस्ता प्रशिक्षकहरूले नयाँ पुस्तालाई प्रशिक्षण दिइरहेका छन् । अछामको साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिकाले त प्रशिक्षक नै नियुक्त गरेर खेलाडी उत्पादनमा लगानी गरेका छन् ।
डोटीको आदर्श गाउँपालिकामा पनि प्रशिक्षकका रूपमा जनक खड्का छन् । उनी आफू पनि खेल्ने र अरुलाई सिकाउने काम गर्दै आएका छन् । कतिपय स्थानीय तहले प्रशिक्षक राखेर खेलकुदमा लगानी गरिरहे पनि त्यो पर्याप्त र प्रभावकारी हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाका अनुसार गाउँघरमा हुने प्रतियोगिताले खेलाडी पलायनलाई रोक्न ठुलो मद्दत गरेको छ । तर, खेलाडीहरूलाई देशमै राख्न र भलिबललाई व्यावसायिक बनाउन राज्यको ठोस लगानी आवश्यक रहेको उनको भनाइ छ ।
_bOVfTlIwnt.jpg)
सुदूरपश्चिमका पारस सिंहजस्ता युवा खेलाडी राष्ट्रिय टिमबाट खेल्ने सपना देख्छन् र उनीहरू आफ्ना अग्रजहरूजस्तै विदेश पलायन हुन नपरोस् भन्ने चाहन्छन् ।
‘सुदूरपश्चिमको माटोमा भलिबलप्रतिको जुन लगाव र ऊर्जा छ, त्यसलाई सही दिशा दिनसके यहाँबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुन सक्छन् । खेलका माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिन्छ, राज्यका तर्फबाट पनि सोही अनुसार लगानी हुनपर्छ,’ थापाले भने ।
यदि गाउँघरमा यस्ता प्रतियोगिता हुँदैनन् भने धेरै खेलाडी पलायन हुने खेलीप्रेमीहरूको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण