शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक

क्वालालम्पुरमा रामदयाल राकेश बहकिएपछि...

शनिबार, ३१ साउन २०८२, १८ : ४२
शनिबार, ३१ साउन २०८२

सारांश

  • लेखकले डा. रामदयाल राकेशको पुस्तक विमोचन कार्यक्रममा भाग लिए, जसमा उनले पुस्तकका विभिन्न शीर्षकहरू पढे।
  • क्वालालम्पुरको एक अंश पढेपछि लेखकको रुचि बढ्यो, र उनले विदेशमा यौनकर्मीहरूको बारेमा लेखेको पाए।
  • पुस्तकमा डा. राकेशले विभिन्न ठाउँहरूको अनुभव समेटेका छन्, तर कतिपय लेख हतारमा लेखिएका जस्तो देखिन्छन्।

एमएडमा नेपाली साहित्य पढेको हुँ, तर अल्छीले थेसिस लेख्न नसकेर त्यो त्यत्तिकै खेर गयो । मास्टर लेभलमा नेपाली साहित्य निकै गहिरो ढङ्गले अध्ययन गर्नुपर्छ र त्यो स्तरका लागि स्वाभाविक पनि थियो, तर मलाई साहित्यमा खासै रुचि लागेन । अहिले पनि छैन ।

काठमाडौँमा दिनहुँजसो भइरहने अनेक साहित्यिक कार्यक्रमका लागि निमन्त्रणाहरू आइरहेका हुन्छन् । रुचि नभएका कारण बेवास्ता गरिरहेको हुन्छु, तर साउन ८ गतेलाई बेवास्ता गर्न सकिएन ।

८१ वर्षीय डा. रामदयाल राकेशले फोन गरेर भन्नुभयो, ‘मेरो पुस्तकको विमोचन छ, आउनुहोला । अवश्य आउनुहोला ।’ यति भनेपछि मैले नाइँ भन्न सकिनँ ।

जान्छु भनेर मैले आफ्नो दैनिकीमा टिपोट गरेँ ।

थापागाउँ, बानेश्वरमा ठिक २ बजे पुगेँ । त्यहाँ पुग्दा थाहा पाएँ कि डा. राकेशको जन्मदिन रहेछ र त्यही उपलक्ष्यमा पुस्तक पनि प्रकाशित गर्नुभएको रहेछ ।

त्यहाँको अवस्था हेर्दा कार्यक्रम ढिलो होलाजस्तो लागिरहेको थियो । १५–२० जना मानिस थिए । त्यसमध्ये म डा. राकेशलाई मात्र चिन्थेँ ।

ramdyal rakesh

जन्मदिनको सजावट भइसकेको थियो तर कार्यक्रममा ढिलाइ भइरहेको थियो । मलाई उकुसमुकुस हुन थाल्यो । मनमनै सोचेँ, डा. राकेशलाई गएर भनौँ, ‘तपाईंले बोलाउनुभएर म आएँ, धन्यवाद ! मलाई अफिस जान हतार भइरहेको छ ।’

त्यो कुरा मनमै रह्यो, उहाँलाई गएर भन्ने हिम्मत भएन । एकपटक नजर जुधेपछि इसारामै ‘ढिलो भइरहेको छ’ भने ँ। उहाँले ‘अब सुरु हुन्छ’ भन्नुभयो ।

केही छिनमा कार्यक्रम सुरु भयो । छोटो कार्यक्रम थियो ।

घनश्यामराज कर्णिकार प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा साहित्यकारहरू मोहन चापागाईं, कृष्णप्रसाद दाहाल र विमल भौकाजीले डा. राकेशलाई जन्मदिनको शुभकामना दिनुभयो ।

कार्यक्रम चलिरहेकै बेला डा. रामदयाल राकेशले लेख्नुभएको नियात्रा ‘देश–विदेशका सम्झना’ मेरो हातमा पर्‍यो । किताब हेर्दा नै मलाई अल्छी लाग्यो, तैपनि पल्टाएँ ।

‘बहुरङ्गी वीरगन्ज’, ‘वीरगन्ज उर्फ गुलमोहरगन्ज’, ‘वीरगन्ज अर्थात् विवाहगन्ज’, ‘लुम्बिनी दर्शन’, ‘पाल्पाको पीर’, ‘जनकपुर धाम’ जस्ता शीर्षक हेरेँ । शीर्षक हेर्दै पाना पल्टाउँदै गएँ ।

एक्कासि मेरो नजर ‘क्वालालम्पुरको त्यो रङ्गीन साँझ’ शीर्षकमा पुग्यो । के हो रङ्गीन साँझ ? यसो एक–दुई लाइन पढौँ न त ! पढ्न थालेँ ।

आफ्नो श्रीमान्बाट यौनसन्तुष्टि पाउन वञ्चित प्रौढ आइमाईहरूको प्रसङ्गमा उहाँले एउटी क्यानेडियन महिलाको वर्णन गर्नुभएको छ, जो आफ्नो श्रीमान्का साथ त्यहाँ आएकी थिइन् तर उनलाई छाडेर अर्को पुरुषसँग अपार्टमेन्टमा गइन् ।

त्यो पाठको बिचबाट एउटा अनुच्छेद पढ्न सुरु गरेँ :

‘अहिले गोराहरू पनि कालो वर्णका केटीहरूलाई मन पराउन थालेका छन्, काली केटीहरूमा कामाग्नि धेरै हुन्छ रे । लोग्नेमानिसहरू ‘टेस्ट चेन्ज’ गर्नका लागि पनि काली केटीहरूलाई मन पराउन थालेका छन् । यो रुचि परिवर्तन रुचिकर र रोचक, रङ्गीन मिजासका मानिसमा बढी देखिन्छ ।’

यति पढिसकेपछि मलाई त्यो पाठ पढ्नमा रुचि बढ्यो । मैले सुरुबाटै त्यसलाई पढ्न थालेँ । ६ पृष्ठको त्यो पाठ एक सासमै पढेँजस्तो लाग्छ, एकछिन त म पनि क्वालालम्पुर नै पुगेको छु जस्तो लाग्यो । जसरी डा. रामदयाल राकेशले त्यहाँका सुन्दरीको भिडमा आफूलाई उभ्याएर वर्णन गर्नुभएको थियो, त्यहाँ मैले पनि आफूलाई पाएको जस्तो अनुभव गरेँ ।

क्वालालम्पुरका युवती वा आइमाई साँच्चै यस्तै हुन्छन् त ? कि उनीहरूको त्यो पेसा हो वा बाध्यता ? त्यो कुरा उहाँले खुलाउनुभएको छैन ।

उहाँले लेख्नुभएको कुराबाट त्यो ‘रेडलाइट एरिया’ हो भनेर थोरै बुझ्न सकिन्छ ।

त्यहाँ यौनप्यास मेटाउनका लागि आउने यौनपिपासुहरूका बारेमा डा. रामदयाल राकेशले खुलेर लेख्नुभएको छ । वैदेशिक रोजगारमा गएकाहरू कसरी ‘रेडलाइट एरिया’ खोज्दै पुग्छन्, ती कुराको पनि उहाँले छोटो वर्णन गर्नुभएको छ ।

त्यहाँका कामुक दृश्य हेरेर डा. रामदयाल राकेश आफैँ बहकिनुभएको प्रतीत हुन्छ, तर उहाँले पटकपटक आफूलाई सम्हाल्नुभएको छ ।

डा. रामदयाल राकेशले एक ठाउँमा नाटककार रामवृक्ष बेनीपुरीको भनाइ उद्धृत गर्नुभएको छ, ‘बुढा भोग नही सकता तो छोड भी नही सकता ।’

आफ्नो श्रीमान्बाट यौनसन्तुष्टि पाउन वञ्चित प्रौढ आइमाईहरूको प्रसङ्गमा उहाँले एउटी क्यानेडियन महिलाको वर्णन गर्नुभएको छ, जो आफ्नो श्रीमान्का साथ त्यहाँ आएकी थिइन् तर उनलाई छाडेर अर्को पुरुषसँग अपार्टमेन्टमा गइन् ।

म यो पढिरहँदा पटक–पटक डा. रामदयाल राकेशलाई सम्झिरहेको थिएँ । सोझा, सिधा, अनुशासित र शालीन व्यक्तिले कसरी यति निर्धक्क तरिकाले लेख्न सक्नुभएको होला, कसरी उहाँले यस्तो आँट गर्नुभयो !

त्यो पाठ पढिसकेपछि कार्यक्रमबाट मेरो पूरै ध्यान हट्यो ।

तुरुन्तै अर्को पाठमा प्रवेश गरेँ, ‘फूलैफूलको देश ः जापान’ ।

मैले कल्पना गरेको जापान प्रविधिमा धनी देश हो तर डा. रामदयाल राकेशले लेख्नुभएको यो पाठ पढ्दा जापान फूलले पनि धनी देश हो भन्ने बुझेँ ।

जापानीहरूले उपहारस्वरूप प्रदान गरेको साकुरा फूलबाट अमेरिकाको राजधानी वासिङ्टन मात्र होइन, अन्य नगरहरू पनि सुगन्धित भएका कुरा उल्लेख छ ।

साकुरा जापानीहरूको अत्यन्त प्रिय फूल हो । भनिन्छ, जापानी साहित्य साकुराको प्रतीकले भरिएको छ । जापानी काव्य–साहित्यमा मात्र होइन, बरु अन्य विधामा पनि साकुराको सौन्दर्य वर्णन पाइन्छ ।

डा. राकेशले लेख्नुभएको छ, ‘जापानी काव्य–साहित्यमा साकुराको विशेष स्थान छ । यसको नामकरण जापानी राजकुमारी ‘साकुया’बाट भएको हो र यसमा राजकुमारीको आत्मा निवास गर्दछ भन्ने मान्यता छ ।’

मैले त्यो पूरै पाठ सरर्र पढेँ । साकुरा फूल मैले देखेको त छैन, तर मनमा कल्पना गरेँ, राम्रै होला । त्यसैले त जापानजस्तो देशलाई सुन्दर बनाएको छ र यो कुरा मैले डा. रामदयाल राकेशको नियात्राबाट अनुभव गरेँ ।

अब त हरेक पाठ पढुँ–पढुँजस्तो लाग्न थाल्यो ।

‘नेपाली राजदूतको निवासमा रात्रिभोज’ पढ्न थालेँ । त्यो पाठले मलाई खासै तान्न सकेन । विदेश मामिलामा रुचि राख्ने भएकाले मैले नेपाली राजदूतको निवासमा भएको रात्रिभोजको प्रसंग खोज्न थालेँ ।

पूरै पाठ पढेँ, तर त्यो रात्रिभोजको कहीँकतै उल्लेख छैन । नेपाली राजदूतको चर्चा समेत छैन । ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’को चुनावको कुरा मात्र छ, जसले मेरो समय मात्र बर्बाद गर्‍यो ।

कार्यक्रम सकिन लागेको थियो । मैले पुस्तक पढ्न छाडेँ । डा. रामदयाल राकेशको जन्मदिनको उपलक्ष्यमा केक काटियो । म त्यसमा सहभागी भएँ । मलाई हतार थियो, त्यसैले पुस्तकमा उहाँको हस्ताक्षर लिएर बिदा लिन खोजेँ । उहाँले ‘होइन, कहाँ जान पाइन्छ ! खाजा खाएर जानुस्’ भन्नुभयो ।

मलाई पनि भोक लागेको थियो, खाजा खाएर अफिस पुगेँ ।

आफ्नो काम सकाएर पुनः डा. रामदयाल राकेशको किताब पल्टाउन थालेँ । क्वालालम्पुरको जस्तै कुनै चोटिलो कुरा पाइन्छ कि भनी पाना पल्टाउन थालेँ ।

‘बर्लिनका सडकहरूमा बोस्नियाका सुन्दरीहरू’ पढ्न थालेँ । बाहिरी सडकमा त्यहाँका सुन्दरीहरूले कसरी बच्चा बोकेर मागिरहेका छन् भन्ने रुचिपूर्वक पढेँ । मैले पढेको बर्लिन सम्पन्न सहर हो, तर डा. राकेशको नियात्रा पढेपछि मेरो सोच बदलियो । त्यहाँका महिला तथा पुरुषले आफ्नो गुजाराका लागि कसरी सङ्घर्ष गरिरहेका छन् भन्ने कुरा छोटो पाठमा राम्ररी प्रस्तुत गर्नुभएको छ, जुन पढ्नका लागि रुचि जगाउने खालको छ ।

हेर्दा एकदम गोरी मात्र होइन, सुन्दरी पनि । म त छक्क परेँ । एकपटक बाटो नै छेकेर माग्ने सुन्दरीको अनुनय–विनय सुनेपछि आश्चर्यचकित भएको थिएँ । बर्लिन सहरको फुटपाथमा ठाउँ–ठाउँमा यस्तै दृश्य हेर्नुपर्ने रहेछ ।

म पत्रकारिताको मान्छे, शीर्षक रोचक भएपछि त्यसलाई पढ्न बाध्य भइन्छ । यही बुझाइ अनुसार उहाँले लेख्नुभएको ‘जर्मनीको जुत्ता’ पनि पढेँ ।

जर्मनी जानका लागि डा. रामदयाल राकेशले गर्नुभएको सङ्घर्ष, दोहा एयरपोर्टको प्रशंसा पढ्दै गएँ । तर जर्मनीको जुत्ता भेटिरहेको थिइनँ, पढ्दै गएँ । अन्त्यमा, उहाँले जर्मनीको सबैभन्दा सस्तो जुत्ता किन्नुभएछ, जुन त्यहाँ लगाउन उहाँलाई लाज लाग्यो । ‘जर्मनीको जुत्ता किनेँ’ भनी मख्ख परेर नेपाल फर्केर हेर्दा त त्यो चिनियाँ जुत्ता परेको रमाइलो प्रसङ्ग उहाँले उल्लेख गर्नुभएको छ ।

‘बर्लिनको बसाइ र जलवायु परिवर्तन’ पाठमा पो राजदूत रामेश खानको निवासमा भएको रात्रिभोजको चर्चा उहाँले गर्नुभएको रहेछ ।

जलवायु परिवर्तनकै सन्दर्भमा त्यो पाठ लेखिएको छ । जलवायु परिवर्तनको प्रभाव विश्वभरि नै परिरहेको छ । प्रदूषणको समस्याले विश्व नै प्रताडीत भइरहेको भयङ्कर स्थितिको वर्णन पनि उहाँले गर्नुभएको छ ।

‘जनकपुरधाम’ पाठमा उहाँले त्यहाँको बेथिति उल्लेख गर्नुभएको छ । सायद अहिलेको जनकपुर होइन, त्यतिबेलाको जनकपुरको बारेमा उहाँले लेख्नुभएको छ, तर जे लेख्नुभएको छ, त्यो रोचक र यथार्थपरक छ ।

स्वर्गीय थाई राजाको सदिच्छा के थियो भने बैंकक, काठमाडौँ, लुम्बिनी र जनकपुरलाई समेटेर एउटा पर्यटन प्याकेज तयार गर्ने । तर दुर्भाग्यवश, जनकपुरमा पूर्वाधारको कमीले त्यो सम्भव नभएको सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभएको छ, जुन कुराले त्यहाँको राजनीतिक अवस्था र सोचलाई उजागर गर्छ ।

एकपटक मिथिला महोत्सव समारोहमा थाई महिला राजदूत आमन्त्रित गरिएकी थिइन् । उनी मञ्चासीन रहेका बेला त्यहाँका नामुद नेताहरूले मञ्चमै कुटाकुट गरे । बिचरी महिला राजदूत थर्थर काम्दै त्यहाँबाट निस्किएर काठमाडौँ फर्किन बाध्य भएको सन्दर्भ उल्लेख गर्दै डा. रामदयाल राकेशले त्यसपछि ‘अ जर्नी टु जनकपुर’ वृत्तचित्र तयार भए पनि हालसम्म त्यो सार्वजनिक नभएको उल्लेख गर्नुभएको छ ।

‘पाल्पाको पीर’मा उहाँले पाल्पा, तानसेनस्थित रानीमहलमा माओवादीले गरेको आक्रमणको वर्णन गर्नुभएको छ । मानव अधिकार आयोगको सदस्य भएका बेला उहाँ अनुगमनका लागि त्यहाँ पुग्नुभएको थियो र आफ्नै आँखाले त्यो हृदयविदारक दृश्य देख्नुभएको थियो, जसलाई उहाँले वर्णन गर्नुभएको छ । पढ्दा रोचक लाग्छ, लाग्छ कि आफू पनि त्यहीँ उभिएको छु ।

वीरगन्जको बारेमा उहाँले ‘प्रेमा शाहको प्रेमिल सहरमा पाँच दिन’, ‘बहुरङ्गी वीरगन्ज’, ‘वीरगन्ज उर्फ गुलमोहरगन्ज’ र ‘वीरगन्ज अर्थात् विवाहगन्ज’ गरी चारवटा पाठ उल्लेख गर्नुभएको छ ।

जसमा उहाँले त्यति बेलाको वीरगन्जलाई चिनाउने प्रयास गर्नुभएको छ ।

अर्थात् ९६ पृष्ठको त्यो सानो पुस्तकमा उहाँले पाठकलाई हिमाल, पहाड, तराईसम्म घुमाउनुका साथै विश्वका विभिन्न देशको यात्रा गराउनुभएको छ ।

जन्मदिनकै दिन प्रकाशन गर्नुपर्ने भएकाले हतार–हतारमा लेखिएजस्तो लाग्छ । लेख्ने क्रममा उहाँलाई जे–जे सम्झना आयो, ती सबै उल्लेख गर्दै जानुभएको छ ।

सिमल बुक पब्लिकेसनले जन्मदिनकै दिन प्रकाशन गरौँ भनेका कारण डा. राकेशले एक किसिमको दबाबमै यो पुस्तक लेख्नुभएको अनुभूति गर्न सकिन्छ । तर जेहोस्, प्रत्येक जन्मदिनमा एउटा पुस्तक प्रकाशन गर्ने जुन निधो उहाँले यो उमेरमा लिनुभएको छ, त्यो सराहनीय र लोभलाग्दो छ ।

अन्त्यमा नियात्राकार रामदयाल राकेशका लागि पनि यो भनाइ लागु हुन्छ, ‘बुढा भोग नही सकता तो छोड भी नही सकता ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेशकुमार यादव
सुरेशकुमार यादव

यादव पत्रकार हुन् ।

लेखकबाट थप