बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समानान्तर कमिटी घोषणा

नेकपा एसको युवा सङ्गठनमा पनि बन्यो समानान्तर कमिटी

राईको संयोजकत्वमा २२१ सदस्यीय कमिटी घोषणा
आइतबार, ०१ भदौ २०८२, १९ : ०५
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको युवा सङ्गठनमा पनि समानान्तर कमिटी बनेको छ । सञ्जीव राईको संयोजकत्वमा २२१ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको हो । 

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौँ महाधिवेशन आयोजक कमिटीका पदाधिकारी र सदस्यलाई शपथ गराएकै दिन आइतबार झलनाथ खनाल पक्षका युवाले समानान्तर कमिटी घोषणा गरेका हुन् । घोषित समानान्तर कमिटीको नेतृत्व सञ्जीव राईले गरेका छन् ।

नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै खनाल पक्षले आज सञ्जीव राईको नेतृत्वमा समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको हो ।

पार्टी र सङ्गठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएपछि समानान्तर कमिटी गठन गर्न बाध्य भएको उक्त पक्षकी नेतृ रेखा लोप्चनले बताइन् । काठमाडौँमा आइतबार आयोजित एक भेलाबाट समानान्तर कमिटी गठन भएको हो ।

साउन १७ मा घोषणा गरिएको नेपालपक्षीय रोशन थापा नेतृत्वको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षका युवा नेताले अस्वीकार गर्दै आएका थिए ।

राईको नाम उक्त कमिटीको सहसंयोजकको रूपमा दोस्रो नम्बरमा उल्लेख थियो । उनले तत्कालै सामाजिक सञ्जालबाट उक्त जिम्मेवारी अस्वीकार गरेका थिए । फेसबुकमा लेखेका थिए, ‘युवा सङ्घको नाममा जारी भएको कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न सङ्घ सम्बद्ध सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

राई संयोजकत्वको उक्त कमिटीमा झलनाथका छोरा निर्भिक खनाल चित्रकारसहित काभ्रेका भेषकुमार शाह, कालिकोटका अनिल बोगटी, गोरखाकी रेखा तामाङ लोप्चन, इलामका कुनाल राई, कैलालीका बाबुराजा श्रेष्ठ, जुम्लाका मनोज खत्रीसहित छन् ।

युवा सङ्घको यो कमिटीको पक्षमा पार्टी पोलिटब्युरो सदस्य तथा सङ्घका पूर्वअध्यक्ष नरेश शाही, पार्टी केन्द्रीय सदस्य सुशील भट्टराई, बाँके जिल्लाका पार्टी अध्यक्ष दीपक जिएमले समर्थन गरेका छन् ।

यस अघि एकीकृत समाजवादी पार्टीको विद्यार्थी सङ्गठनमा पनि समानान्तर कमिटी गठन गरिएको थियो । 

विवाद के हो ?

खनालले एमाले विभाजनको औचित्य पुष्टि नभएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि नेपाल–खनाल विवाद सतहमा आए पनि २०८० को प्रारम्भमै युवा र विद्यार्थी सङ्गठनको विषयमा उनीहरूबिच विवादको बीजारोपण भएको थियो । 

युवा सङ्घका तत्कालीन अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मन्त्रीसमेत भएपछि जिम्मेवारीबाट अलग भएका थिए । अनेरास्ववियूका तत्कालीन अध्यक्ष सुदेश पराजुलीले पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि अध्यक्षको जिम्मेवारी छोडेका थिए ।

२०८० भदौ १० गते पार्टी सचिवालय बैठकको बहुमतका आधारमा युवा सङ्घ अध्यक्षमा कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूकी अध्यक्षमा आरती लामा चयन भएकी थिइन् । त्यसबेला सचिवालयमा झलनाथ पक्षको बहुमत थियो ।

२०८१ असारमा सम्पन्न पार्टी महाधिवेशनपछि बनेको पार्टीका केन्द्रीय कमिटी र निकायमा झलनाथ पक्षलाई अल्पमतमा पार्दै पार्टीमा माधव पक्ष एकल हाबी भएपछि विश्वकर्मा र लामाको जिम्मेवारी खोसिएको थियो ।

त्यसका लागि माघ १४ गते अपानि जारी गर्दै ‘पार्टीको केन्द्रीय सदस्य रहेको हुँदा दोहोरी जिम्मेवारीका कारण...’ भन्दै उनीहरूको जिम्मेवारी खोसिएको थियो । 

त्यसपछि युवा सङ्घमा थापा र अनेरास्ववियूमा महेश श्रेष्ठलाई संयोजक तोकिएको थियो । अनेरास्ववियूका झलनाथपक्षीय कार्यकर्ताले नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरिसकेका छन् ।

1

23456789

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप