अलैँचीको भाउ सात वर्ष यताकै उच्च
सारांश
- अलैँचीको सुरुवाती सिजनमै उच्च मूल्य, प्रतिमन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
- गत वर्षको सोही समयमा अलैँचीको मूल्य प्रतिमन ४० हजार रुपैयाँ थियो।
- उत्पादक किसानहरू उच्च मूल्यबाट लाभान्वित हुने र आगामी दिनमा मूल्य अझै बढ्ने सम्भावना रहेको छ।
झापा। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती ‘सिजन’मा नै उच्च भाउ पाएको छ ।
अलैँचीको खरिद बिक्री हुने नेपालकै ठुलो बजार बिर्तामोडमा साेमबार प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन रु ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ ।
विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य रु एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन रु एक लाख सात हजार पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची रु एक लाख २० हजारसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन ।
भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत भएको उनको भनाइ छ । अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन् । किसानबाट यति बेला किनेको अलैँची भण्डारण गरेर व्यापारीहरूले मङ्सिर–पुसतिर भाउ आकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।
“एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम रु २० हजारसम्म लगानी गरेका हुन्छन्,” महासङ्घका कार्यकारी निर्देशक ढुङ्गाना भन्छन्, “आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।”
नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर रु सात अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण