मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

अघिल्लो भ्रमणको तीतो अनुभवपछि ट्रम्पलाई रिझाउने जेलेन्स्कीको प्रयास

छ पटकसम्म धन्यवाद भने, सैन्य पोसाक छाडेर सुट लगाए
मङ्गलबार, ०३ भदौ २०८२, १० : १४
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प, युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूबीच ह्वाइट हाउसमा वार्ता सम्पन्न भयो।
  • जेलेन्स्कीले अमेरिकी नेताहरूलाई प्रभावित पार्न र पारिवारिक सम्बन्ध बनाउन प्रयास गरे, जसमा धन्यवाद व्यक्त गरे र पत्र दिए।
  • युरोपेली नेताहरूले ट्रम्पको प्रशंसा गरे तापनि भविष्यमा रुसी आक्रमणको खतराप्रति चिन्ता व्यक्त गरे।

वासिङ्टन डिसी । रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र  युरोपेली नेताहरूबिच सोमबार ह्वाइट हाउस वार्ता सम्पन्न भएको छ ।

गत फेब्रुअरीमा ओभल अफिसमा आफ्नो अन्तिम भ्रमणको तीतो अनुभवलाई ध्यानमा राख्दै, यस पटक युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सौहार्दपूर्ण हुन र आफ्ना अमेरिकी नेताहरूलाई प्रभावित पार्न ठुलो प्रयास गरेको देखिन्थ्यो। यसमा बैठक हुनुभन्दा केही मिनेट अघि उनले ६ पटकसम्म ‘धन्यवाद’ भनेका थिए ।

पछिल्लोपटक जेलेन्स्की ह्वाइट हाउसमा हुँदा, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्धको समयमा युक्रेनलाई अमेरिकी सहयोगप्रति कृतज्ञता नदेखाएकोमा उनलाई गाली गरेका थिए।

फेब्रुअरीको बैठकमा विवादको अर्को बिन्दु जेलेन्स्कीको पहिरन थियो। पछिल्लो पटक ओभल अफिसमा सुट नलगाएकोमा अमेरकी नेताहरुको उनको आलोचना गरेका थिए । यस पटक, जेलेन्स्कीले आफ्नो परम्परागत सैन्य पोशाकको सट्टा गाढा रङको सुट लगाएका थिए। जब पत्रकारहरुले उनको पहिरनको बारेमा सोधे, जेलेन्स्की मजाक गर्न तयार देखिन्थे।

रिपोर्टरले उनलाई ‘राम्रो’ देखिएको बताए, जेलेन्स्कीले पत्रकारले अघिल्लो पटक जस्तै ‘उही सुट’ लगाएको जवाफ दिए। जेलेन्स्कीको यो कुरा सुनेर रिपोर्टर, ट्रम्प र कोठामा उपस्थित अन्य अधिकारीहरू हाँसे। जेलेन्स्कीले भने, ‘तपाईँले देख्न सक्नुहुन्छ, म परिवर्तन भएको छु।’

भेटघाटको क्रममा जेलेन्स्कीले पारिवारिक सम्बन्ध निर्माण गर्ने प्रयास पनि गरे। उनले आफ्नी युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्काले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई लेखेको पत्र पनि दिए। उनले ट्रम्पलाई भने, ‘यो तपाईँको लागि होइन - यो तपाईँको श्रीमतीको लागि हो।’

त्यस्तै, अन्य युरोपेली नेताहरूले पनि बहुपक्षीय बैठकअघि ट्रम्पको प्रशंसा गरे। ट्रम्पलाई सम्बोधन गर्दै नेटो प्रमुख मार्क रुटले भने, ‘म तपाईँको नेतृत्वको लागि साँच्चै धन्यवाद दिन चाहन्छु।’

इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनीले ट्रम्पका कारण केही परिवर्तन भएको बताइन्। वातावरण न्यानो भए पनि, युरोपेली नेताहरूले भविष्यमा हुने रुसी आक्रमणको खतराको बारेमा उनीहरू पनि असुरक्षित महसुस गर्छन् भन्ने कुरा स्पष्ट पार्ने प्रयास गरे।

‘जब हामी सुरक्षा ग्यारेन्टीको बारेमा कुरा गर्छौँ, हामी युरोपेली महादेशको सुरक्षाको बारेमा पनि कुरा गरिरहेका हुन्छौँ,’ फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले गम्भीर स्वरमा अन्य नेताहरूलाई भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप