शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संस्कृति

भगवती जात्राको २०६ वर्षे यात्रा

मङ्गलबार, ०३ भदौ २०८२, १७ : ०५
मङ्गलबार, ०३ भदौ २०८२

तानसेनको साँघुरो सडक, पुरानो घरको झ्यालबाट झुल्किने उत्सुक अनुहार, ढोल, नगारा र पञ्चैबाजा बजाउँदै अगाडि बढिरहेको भीड । काँधमा उचालिएको सुशोभित खटमा स्थापित भगवतीको मूर्ति । यी सबै दृश्य कुनै धार्मिक उत्सवको भाग मात्र नभई, पाल्पाको आत्मा र नेपाली इतिहासको गौरवपूर्ण अध्याय हो ।

यो जात्रा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनमा भव्य रूपमा मनाइन्छ । यस जात्राले २०६ वर्षअघि आक्रमणकारी अंग्रेज सेनामाथि नेपाली वीरहरूले हासिल गरेको ऐतिहासिक विजय देखाउँछ ।

सन् १८१४–१८१६ को अङ्ग्रेज–नेपाल युद्धको समयमा तानसेनका शासक तथा गोर्खाली वीर कर्णेल उजीरसिंह थापाले जितगढी किल्लाबाट युद्ध नेतृत्व गर्दा पाल्पाको देवी महिषासुरमर्दिनी भगवतीलाई प्रार्थना गर्दै वाचा गरेका थिए-

‘यदि विजय प्राप्त भए म तपाईंको मन्दिर निर्माण गर्नेछु र वार्षिक महोत्सवको सुरुवात गर्नेछु ।‘

विजय प्राप्त भयो । अंग्रेज सेनालाई जितगढीको डाँडाबाट पराजित गरियो । उजीरसिंह थापाले आफ्नो वाचा पूरा गर्दै राण उजेश्वरी भगवती मन्दिर निर्माण गराए, जसको सुनौलो गजुर र अष्टधातुको अठार हात भएको मूर्तिले आज पनि वीरता र श्रद्धाको कथा बोलिरहेको छ ।

भगवती जात्रा पाल्पाका लागि पर्यटनको खानी हो । हरेक वर्ष हजारौं भक्तजन र पर्यटक तानसेन आउने गर्छन् । स्थानीय होटल, पसल, यातायातदेखि हस्तकला सबैको व्यापार बढ्छ । यस जात्राले नयाँ पुस्तामा इतिहासप्रति गर्व जगाउँछ, वीरता र स्वाभिमानको पाठ दिन्छ र एकता तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँछ । 

सन् १८२० (वि.सं. १८७७) बाट सुरु भएको खट जात्रा अर्थात् आजको भगवती जात्रा एक दिनको मात्र कार्यक्रम मात्र नभई पुर्खाको बहादुरीको इतिहासको प्रमाण हो ।

तानसेनको भगवती जात्रा काठमाडौंको रथयात्रा जस्तो तर त्यसभन्दा भिन्न छ । यहाँ रथ तानिँदैन, बरु कुमाल समुदायका बलिया काँधहरूमा खट उचालिन्छ ।

लुम्बिनी प्रदेश सरकारले यस दिनलाई जिल्लास्तरीय सार्वजनिक बिदा घोषणा गर्ने परम्परा बसाइसकेको छ । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सरकारी अधिकारीहरू मन्दिर पुगेर पूजा अर्चना गर्छन् । सेनापतिले ऐतिहासिक युद्धमा प्रयोग भएको भनिने खड्ग देवीको खटमा राख्छन् ।

खट अगाडि बढ्दै जाँदा, बाटोभरि भैंसी र बोका बलिदान दिइन्छ, पञ्चैबाजाको ताल, भजन–कीर्तन, लोकनृत्य, लहरे र लाखे नाचले वातावरण उल्लासमय हुन्छ । भीडले सडकभरि रङ्गीन अबीर उडाउँछ, यसकारण यसलाई सिन्दूर जात्रा पनि भनिन्छ ।

खटको यात्रा राणउजेश्वरी भगवती मन्दिरबाट सुरु भई पाल्पा दरबार, शीतलपाटी, बसन्तपुर, दी क्याम्पस महेन्द्र दल गण हुँदै फेरि मन्दिरमै फर्किन्छ । तानसेन बजारका पुराना नेवारी घरका झ्याल/झ्यालबाट टोलका वृद्धवृद्धा, टोलमा खेलिरहेका बालबालिका र टाढाबाट आएका पर्यटकहरु सबैले देवीको दर्शन गर्छन् ।

यद्यपि मन्दिर हिन्दु परम्परामा आधारित छ, यसको पूजा/संरक्षण बज्रयान बौद्ध गुंभाजु परिवारले गर्ने परम्परा छ । यसले पाल्पाको धार्मिक सहिष्णुता र सहअस्तित्वको सन्देश दिन्छ ।

यो जात्रामा ब्राह्मणदेखि नेवार, गुरुङ, मगर, मुस्लिम व्यापारीदेखि बाहिरबाट आएका पर्यटकसम्म सबैको मुहारमा उत्साह देखिन्छ । जसले यसलाई सांस्कृतिक ऐक्यताको मञ्च बनाएको छ ।

भगवती जात्रा पाल्पाका लागि पर्यटनको खानी हो । हरेक वर्ष हजारौं भक्तजन र पर्यटक तानसेन आउने गर्छन् । स्थानीय होटल, पसल, यातायातदेखि हस्तकला सबैको व्यापार बढ्छ । यस जात्राले नयाँ पुस्तामा इतिहासप्रति गर्व जगाउँछ, वीरता र स्वाभिमानको पाठ दिन्छ र एकता तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँछ । 

आजको आधुनिक युगमा जहाँ कतिपय परम्परा हराउँदै गएका छन्, तानसेनको भगवती जात्रा अझै पनि त्यही जोश, त्यही श्रद्धा र त्यही वीरताको भाव बोकेर बाँचिरहेको छ । जब काँधमा उचालिएको खट तानसेनका गल्लीमा अगाडि बढ्छ, तब लाग्छ इतिहास फेरि फर्केर आएको छ । 

(राना स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी कोषाध्यक्ष समेत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिस्मा राना
मिस्मा राना
लेखकबाट थप