शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

‘पोखरा विमानस्थलमा ६० अर्बको सम्पत्ति छ, २२ अर्ब लागतमा भ्रष्टाचार भनेर रिपोर्ट लेखियो’

मङ्गलबार, ०३ भदौ २०८२, २१ : २०
मङ्गलबार, ०३ भदौ २०८२

पोखरा । साढे २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भएको आरोप सहित प्रतिनिधि सभाको छानबिन समितिले प्रतिवेदन बुझायो ।

समितिले विमानस्थल निर्माणको क्रममा लागत अस्वाभाविक रूपमा बढेको, ठेक्का प्रक्रियामा अनियमितता भएको र गुणस्तरमा समेत प्रश्न उठाएको छ । 

थप छानबिन र संलग्नलाई कारबाहीको माग सहित अख्तियारलाई निर्देशन दिइएको छ । विमानस्थल निर्माणमा २२ अर्ब खर्च भएको छ । उक्त लगानी अध्ययन विना बढाइएको आरोप समितिको छ । 

त्यसमा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित पदाधिकारीहरूको नाम नै किटान गरेर कारबाहीको सिफारिस गरिएको हो । समितिको उक्त प्रतिवेदन हावादारी, प्रमाणहीन र षड्यन्त्रपूर्वक तयार गरिएको महानिर्देशक अधिकारीको प्रत्यारोप छ ।

विमानस्थलको लागत १५ करोड अमेरिकी डलरबाट बढेर २१.६ करोड डलर पुर्‍याइएको थियो । संसदीय समिति यसलाई अनियमितताको सङ्केत गर्छ ।विमानस्थल निर्माण प्रक्रियाका तथ्य र प्रमाणहरू सार्वजनिक गर्दै अधिकारीले आरोप पुष्टि गर्न समितिलाई चेतावनी दिएका छन् । 

उनले लागत वृद्धि स्वाभाविक र पारदर्शी हिसाबले गरिएको दाबी गरे । ‘सुरुमा अनुमान गरिएको लागतमा सामान्य कालोपत्रे धावनमार्ग थियो, तर पोखराको भौगोलिक अवस्था र मौसमलाई ध्यानमा राखेर ३४ सेन्टिमिटर बाक्लो सिमेन्ट–कङ्क्रिटको धावनमार्ग बनाइयो,’ उनले भने, ‘अब सय वर्षसम्म यसको मर्मत गर्नुपर्दैन ।’ सुरुको डिजाइनमा नभएका दुई वटा बोर्डिङ ब्रिज थपिएको र पाँच वर्षको मुद्रास्फीतिलाई समेत हिसाब गरेर एकमुष्ट लागत तय गरिएकाले २२ अर्ब पुगेको उनको दाबी छ ।

‘यो २२ अर्ब बराबरको काम भएको छ कि छैन, तीन जना इन्जिनियर ल्याएर नाप जाँच गरियोस्,’ उनले चेतावनी दिए, ‘यो काम अहिलेको बजार भाउमा गर्न ६० अर्ब लाग्छ ।’ समितिले प्रतिवेदनमा उल्लेख गरेको कुनै पनि बुँदा विधिसंगत नभएको र तथ्यमा नटेकेको आरोप अधिकारीको छ । 

‘जग्गाधनीहरूले सहर्ष रूपमा जग्गा उपलब्ध गराएर हामीले रातारात काम गरेर विमानस्थल सञ्चालन योग्य बनाएका हौँ,’ अघि भने, ‘डाँडा कटानको काम चिनियाँ ठेकेदारको कार्यक्षेत्रमा कहिल्यै थिएन । त्यही कुरा उचालेर अर्बौँ भ्रष्टाचार भयो भनिएको छ ।’ 

उनले विमानस्थलको पूर्वपट्टि ९ मिटरसम्म पुरेर रनवे उचालेको दाबी गरे । छानबिन समितिले पूर्वसम्झौता बमोजिम रनवे नपुरिएको र उल्टै तोकेको भन्दा बढी कटान गरेर पृथ्वी राजमार्गभन्दा निकै तल विमानस्थल निर्माण गरिएको आरोप लगाएको छ ।

जहाज चढ्नुस्, ऋण क्यानले तिर्छ

पोखरा विमानस्थल सेतो हात्ती बनाइएको आरोप अहिले चौतर्फी छ । देशलाई ऋणको भार थपिएको तर विमानस्थल सञ्चालन ठिक ढङ्गले हुन नसकेको आरोप लागिरहेका बेला महानिर्देशक अधिकारी विमानस्थलको ऋण तिर्न क्यान सक्षम रहेको बताएका छन् । 

‘विमानस्थल निर्माणको ऋण कुनै पनि नेपाली नागरिकको करबाट तिरिने होइन । यो ऋण क्यानले आफ्नो आम्दानीबाट तिर्छ,’ अघि भने, ‘क्यानले विमानस्थल प्रयोग गरेबापत यात्रु र वायुसेवा कम्पनीबाट उठाएको सेवा शुल्कबाट यो ऋण तिर्ने हो र हामीले दुई किस्ता तिरिसकेका छौँ । क्यान यो ऋण तिर्न पूर्ण रूपमा सक्षम छ ।’

अहिलेसम्म २ किस्ता ऋण तिरिसकेको र अझै १३ वर्ष अवधि ऋण तिर्नका लागि रहेको उनले जानकारी दिए ।अधिकारीका अनुसार प्रत्येक वर्ष २ किस्तामा ऋण तिर्नुपर्ने सम्झौता छ । समितिले विमानस्थलको बिजनेस प्लान खोजी गरेको थियो । तर क्यानले कुनै योजना दिन सकेको छैन ।

तथापि, नयाँ विमानस्थलअघि पोखराबाट वार्षिक ४ लाख यात्रु मात्रै ओहोरदोहोर गर्ने गरेकोमा अहिले ११ लाख पुगिसकेको विमानस्थलले जनाएको छ । अपेक्षाकृत रूपमा विमानस्थल चल्न नसकेकोमा अधिकारी पनि स्वीकार गर्छन् । अध्ययन समितिले सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ नै नगरी एकपक्षीय प्रतिवेदन बनाएको आरोप अधिकारीको छ । 

‘जे जे कुरामा उहाँहरूले आरोप लगाउनुभएको छ, यो विषयमा के हो भनेर मलाई कसैले सोधेन । हुँदै नभएको कुरा लेखेर बदनाम गरिएको छ,’ उनी भन्छन्, ‘आफ्नो भनाइ राख्ने मौका दिइएन । यो कस्तो न्याय हो ?’ 

उनले आफू समितिमा उपस्थित हुँदा सदस्यहरूले कुनै प्रश्न नै नसोधेको बताउँदै प्रतिवेदन पहिल्यै तयार पारिसकिएको गम्भीर आरोप सहितको आशङ्का गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप