मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण कोरिया कहिल्यै कूटनीतिक साझेदार हुँदैन : किम यो जोङ

बुधबार, ०४ भदौ २०८२, ११ : ३८
बुधबार, ०४ भदौ २०८२

सारांश

  • उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियालाई कूटनीतिक साझेदार नमान्ने बताइन्।
  • किम यो जोङले दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासलाई आक्रमणको तयारीको रूपमा वर्णन गरिन्।
  • उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने सियोलको प्रयास कहिल्यै सफल नहुने बताइन्।

प्योङयाङ । उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशले दक्षिण कोरियालाई कहिल्यै पनि कूटनीतिक साझेदार नमान्ने बताएकी छिन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले बुधबार यो बयान जारी गरेको हो । 

जोङ उत्तर कोरियाली शासनमा एक शीर्ष विदेश नीति सल्लाहकार पनि हुन् । उनले दक्षिण कोरिया र अमेरिकाबिच चलिरहेको सैन्य अभ्यासलाई लापरवाह आक्रमणको तयारीको रूपमा वर्णन गरिन् । शान्तिको लागि सियोलको अपील पछाडि खतरनाक मनसाय लुकेको आरोप उनले लगाएकी छिन् ।

किम यो जोङको टिप्पणी मंगलबार आयोजित बैठकको क्रममा आएको थियो, जसमा किम जोङ उनको कूटनीतिक रणनीति र बदलिँदो विश्वव्यापी परिस्थितिबारे छलफल गरिएको थियो । किम जोङ उनले सोमबार दक्षिण कोरिया–अमेरिका सैन्य अभ्यासको निन्दा गर्दै आणविक हतियारको द्रुत विस्तारबारे कुरा गरेका थिए । उनले आफ्नो देशको सबैभन्दा उन्नत युद्धपोतको निरीक्षण पनि गरेका थिए । 

किम यो जोङले दक्षिण कोरियालाई अमेरिकाप्रति वफादार बताइन् । उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने सियोलको प्रयास कहिल्यै सफल नहुने उनले बताइन् । दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले हालैका दिनहरूमा तनाव कम गर्न प्रयास गरिरहेको समयमा जोङको यो अभिव्यक्ति आएको हो । आपसी तनाव कम गर्न दक्षिण कोरियाले सीमामा जडान गरिएका लाउड स्पिकरहरू हटाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप