शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकारलाई प्रभु साहको प्रश्न : हुलाकी राजमार्गलाई किन विभेद गरियो ?

बिहीबार, ०५ भदौ २०८२, १७ : ५८
बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर नलिनको सरकारसमक्ष माग गरेका छन् ।

सरकारले हुलाकी राजमार्ग निर्माणको लागि ढिलासुस्ती गरेको भन्दै साहले यस्तो आक्रोश पोखेका हुन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै साहले १८ वर्षअघि सुरु भएको हुलाकी राजमार्ग अलपत्र पारिएको भनेर सरकारसँग असन्तोष प्रकट गरे ।

उनले भने,‘सम्माननीय सभामुख महोदय, हुलाकी सडकअन्तर्गत पर्ने बागमती खोलाको पुल कमला खोलाको पुल, कन्काई खोलाको पुलहरू वर्षौँसम्म अलपत्र छन् । 

तीन वर्षमा बनाउनुपर्ने पुल, आज १५ वर्ष पुग्दा पनि किन नबनाएको भनेर सरकारसँग सोध्न चाहन्छु । हुलाकी सडक राष्ट्रिय गौरवको आयोजना हो । यो सडकमा झन्डै करोडौं मान्छे जोडिएका छन्, ठुलो जनसङ्ख्यालाई लाभ दिने यो महत्त्वपूर्ण सडकमा किन विभेद गरियो ?’

साहले यस सडकअन्तर्गत कयौँ पुलहरूमा अझै ठेक्का नभएको आरोप लगाए । उनले थपे,‘ठेक्का भएका पुलहरू १५ वर्षसम्म, बाग्मती नदीको पुल त आजभन्दा १६ वर्षअघि शिलान्यास भएको हो । तर, अहिलेसम्म अलपत्र छ । कमला नदीको पुल पनि झन्डै १४ वर्ष भयो, कन्काई नदीको पुल झन्डै १२ वर्ष भयो। तीन वर्षको लागि ठेक्का सम्झौता भएका पुल किन बनेनन् ? ठेकेदारलाई किन कारबाही भएन ? नेताजीहरूको यसमा कुनै स्वार्थ छैन, मन्त्रीहरूको यसमा लेनदेन छैन भने ती ठेकेदारलाई किन कारबाही भएन ? ठेकेदारले समयमा काम नगर्दा उसको धरौटी किन तानिएन ? किन उसलाई सरकारले िदण्डित गर्न सकेन भन्ने प्रश्न उठ्छ ।’ 

राष्ट्रिय गौरवका आयोजनाका सवालमा ठेकेदारसँगको मिलेमतो अन्त्य गर्न पनि सरकारलाई साहले  सुझाव दिए । समयमा ठेकेदारले काम नगरेपछि उसलाई पेनाल्टी लिनुपर्नेमा उल्टै ती निर्माण कम्पनीले बिना शर्त म्याद थप पाएको पनि साहको आरोप छ । उनले जनताले अहिले भोगिरहेको सास्तीलाई अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए । 

उनले हुलाकी राजमार्गको निर्माणको सवालमा खुलेआम विभेद गरिएको उनको आरोप छ । उनले भने,‘अरू राजमार्गहरूमा जसरी बहुवर्षीयको ठेक्का हुन्छ, हुलाकी सडकले बहुवर्षीयाको किन ठेक्का अनुमति पाउँदैन? अरू राजमार्गसँगै हुलाकीको पनि अर्थ मन्त्रालयमा फाइल जान्छ, तर हुलाकीको फिर्ता आउँछ । योभन्दा अर्को विभेद के हुन्छ? यदि हुलाकी सडक बनाउनु छैन भने प्रस्ट भनिदिनुहोस्–हुलाकी सडक  हामी बनाउँदैनौँ भनिदिनुहोस्, प्रस्ट भनिदिनुभयो भने जनता पनि आश मार्छन् । हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर लिने अधिकार सरकारसँग नभएको उनको भनाई छ ।

साहले नारायणी नहरको पनि उस्तै हालत रहेको भन्दै चलाउन नचाहेको हो भने बन्द गर्न सुझाव दिएका छन् । रौतहटको लालबकैयाको मर्टेवा पुल, झाँझ नदीको पुल पिपरिया र जुगलियामा वर्षौँदेखि अलपत्र परेको साहको गुनासो छ । 

यी पुलको बारेमा के कस्तो प्रगति भएको छ भनेर सम्बन्धित मन्त्रीलाई सदनमा जानकारी गराउन पनि साहले सभामुखको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप