बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सञ्चालक समितिबाट प्राधिकरणको बजेट पारित भएपनि माइन्युटमा हस्ताक्षर हुन बाँकी

शुक्रबार, ०६ भदौ २०८२, १४ : ४३
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष ०८२/८३ को बजेट पारित गरेको छ।
  • सञ्चालक समितिले २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको बताइएको छ।
  • बजेट पारित भए पनि माइन्युटमा हस्ताक्षर हुन बाँकी रहेको छ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सञ्चालक समितिबाट पारित भएको छ । 

गत शुक्रबार (३० साउन) बसेको सञ्चालक समितिको बैठकले चालू आवको बजेट पारित गरेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता राजन ढकालले सञ्चालक समितिबाट बजेट पारित भएको जानकारी आएको बताए । उनका अनुसार पारित बजेटको माइन्युटमा हस्ताक्षर हुन बाँकी नै रहेको छ ।

उनले भने,‘सञ्चालक समितिले चालू आवको बजेट पारित गरेको जानकारी आएको छ । माइन्युटमा हस्ताक्षर हुन बाँकी छ । हस्ताक्षर भएपछि विस्तृत जानकारी आउँछ । अहिले सबै जानकारी आएको छैन ।’

चालु आर्थिक वर्षको लागि प्राधिकरणले दुई खर्ब ४७ अर्ब रुपैयाँ आकार बराबरको बजेट पारित भएको स्रोतले जानकारी दियो । 

स्रोतका अनुसार प्राधिकरणको चालु आवको बजेटमा विभिन्न कार्यक्रमहरू थप गरी मन्त्रालयले बनाएको मस्यौदा अनुसार बजेट सञ्चालक समितिले पारित गरेको हो ।

‘ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का र सचिव सुरेश आचार्यले ३ अर्ब बढी रकमको बजेट प्रस्ताव गर्नु भएको थियो । त्यही अनुसार सञ्चालक समितिले २ खर्ब ४७ अर्ब बराबरको बजेट पारित गरेको छ । सञ्चालक सदस्य ऊर्जा मन्त्रालयका सचिव नेपाल बाहिर भएकाले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ,’ स्रोतले भन्यो । 

विद्युत् प्राधिकरण आर्थिक प्रशासन विनियमावली–२०६८’ ले नयाँ आर्थिक वर्षका लागि असार मसान्तभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । तर प्राधिकरणमा सञ्चालक समितिले असार मसान्तभित्र बजेट पारित गर्न सकेको थिएन । 

विनियमावलीले तोकेको समय भन्दा १ महिना ढिला गरेर बजेट पास गरेको छ । विनियमावलीअनुसार असार १५ गतेभित्र बजेट स्वीकृतिका लागि सञ्चालक समितिमा पेस गर्नु पर्ने प्रावधान छ । स्रोतका अनुसार सञ्चालक समितिमा असार १८ गते मात्रै बजेट पेस भएको थियो ।

बजेट तर्जुमा गर्न प्राधिकरणले सञ्चालक रोहित पौडेलको संयोजकत्वमा उपसमिति बनाएको थियो । उक्त उपसमितिले गत असार १८ गते नै सञ्चालक समितिमा बजेट पेस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप